बागलुङका सिडियोलाई ठेकेदारले जिल्याइदिए

बागलुङका सिडियोलाई ठेकेदारले जिल्याइदिए

राजेशचन्द्र राजभण्डारी

मध्यपहाडी राजमार्गका प्रमुख नारायणदत्त भण्डारीले बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई जिल्याएका छन् । जिल्लामा रहेको मध्यपहाडी लोकमार्गको कार्य निर्धारित समयम सम्पन्न गर्न आयोजना कार्यालयले सम्बन्धित ठेकेदारलाई सिडियो कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउने भन्दै हरेक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक प्रशासन कार्यालयमा डाक्ने गरिन्छ । निर्णय पुस्तिकाका पाना भरिन्छन् तर कार्य प्रगति भने वरको सिन्को पर सारिँदैन । यसले नेता, सांसद, मन्त्रीभन्दा पनि ठेकेदार सबैभन्दा शक्तिशाली हुन्छन् भन्ने कुरा बागलुङमा एकपटक प्रमाणित भएको छ ।

जिल्ला प्रशासनले पुनः आयोजना र निर्माण कम्पनीलाई ताकेताको प्रयास गरेको हो । बिहीबार सरोकारवाला सबैलाई राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिएको बताइन्छ । तर आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झुठो बोलेर बैठक भाँडेको एक जना सहभागीले बताए । निर्माण कम्पनीका मालिक उपस्थित हुन्छन् भनेर डाकिएको बैठकमा आयोजनाको कुश्मास्थित कार्यालयका प्रमुख नारायणदत्त भण्डारी नै निर्धारित समयभन्दा ४५ मिनेट ढिलो उपस्थित भएका थिए । भण्डारीले बैठकमा सहभागी सबैलाई दुई घण्टासम्म निर्माण व्यवसायी आउँदै छन् भनेर सबैलाई ऊल्लु बनाएका थिए ।

१० बज्न लाग्दा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै बैठकमा उपस्थित भए । उक्त खण्डमा काम गरिरहेका दुई निर्माण कम्पनीका साइट इञ्चार्ज सौरभ घिमिरे बैठकमा उपस्थित भएका थिए । त्यत्तिकैमा सिडियो शिवकुमार कार्कीले भने, ‘मसँग हजुरले ठेकेदार आफैँ आउँछन् भनेर किन झुठो बोल्नु भो ? यहाँ त अर्कै भाइ आए । उनीसँग त के छलफल गर्नु ! सँधै भेट भइरहने साइट इञ्चार्ज हुन नी,’ कार्कीले आयोजना प्रमुखलाई सोधे, ‘किन झुठो बोल्नु भो ? किन आएनन् व्यवसायी ?’

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेकपा एमालेका उपाध्यक्ष कृष्ण पाठक, नेपाली काँग्रेसका सभापति दिपेन्द्र थापा, नेकपा माओवादी केन्द्रका संयोजक ज्ञामनाथ गैरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष शैलेन्द्र श्रेष्ठलगायत केही जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अन्य सरोकारवाला बैठकमा थिए । तर निर्माण व्यवसायी नै नआएपछि आयोजनाबारे छलफल गर्नुको कुनै औचित्य नरहेको भन्दै सबैजना त्यहाँबाट हिँडेका थिए ।

‘सर्कुवामा अनुगमनको कार्यक्रम थियो, उहाँ पुग्ने बेलासम्म यहाँ कुरेर बसियो, ठेकेदार आउलान् भनेको उनका दूतमात्रै आए,’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘यो आयोजनाको अपमान र काम नगर्ने प्रवृत्तिको संकेत हो ।’ समयमा काम नगर्न कै लागि आयोजनाले निर्माण व्यवसायीलाई उपस्थित नगराएको आरोप ढुंगानाले लगाए ।

निर्माण कम्पनीको लापरवाहीका कारण ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा समेत कालोपत्रेको काम रोकिएको सरोकारवालाको आरोप छ । काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने नेताहरुले समेत माग गर्न थालेका छन् ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालयमा लगातार तीन जना प्रमुखको सरूवा भइसकेको छ । तर पनि कार्य प्रगति शुन्य नै देखिन्छ । कार्यालय प्रमुख आशिष थापासँग जिल्लामा कसैको कुरा नमिलेपछि उनलाई सरूवा गरेर मेघराज मरासिनीलाई ल्याइएको हो । उनी आएपछि पनि राजमार्गको सडक कालोपत्रे हुन सकेन । अहिले फेरि नारायणदत्त भण्डारी आएका छन् ती पनि आफ्नो असली रूप देखाएर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत जिल्लाराम बनाउन थालेपछि आयोजनाको काम सहजै सकिएला भन्न गाह्रो भएको सरकारी अधिकारीहरु बताउँछन् ।

टिप्पणीहरू