भिआइपीको सवारी पुग्नासाथ भागाभाग !

लोभीको लर्को कति डरलाग्दो छ भने, नीति, नियम आफैँ बनाउँछन् । फेरि आफैँले त्यसलाई उल्लंघन गर्दै मनगन्तेझैँ कहिले तेल कहिले गाडी मागेर हैरान खेलाउँछन् । 

प्रहरीको कल्याणकारी पेट्रोलपम्पमा काम गर्ने कर्मचारी एउटा गाडी देख्नासाथ दायाँबायाँ लाग्छन् । किनभने, त्यो गाडी आयो कि, तेल हालिदिनुपर्छ । पैसा पाइन्न । जसले हालिदियो, उसैको तलबबाट काटिन्छ या हिसाव मिलान गर्नुपर्ने हुन्छ । यसरी प्रहरीकहाँ तेल गाडी पठाउने भिआइपी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुन् । विशिष्ट व्यक्तिको सुरक्षा (व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन– २०७० को परिच्छेद ४ को विविध अन्तर्गत १३ नं. मा भनिएको छ, ‘सुरक्षाकर्मी खटाउँदा लाग्ने तोकिएबमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।’ तर, उनकै नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा सांसदको हैसियतले उनको समेत उपस्थितिमा तत्कालिन व्यवस्थापिका संसदबाट पारित यही ऐनको खिलाफमा छन्, देउवा । प्रहरी कल्याणकोष भनेको गरिव प्रहरीहरुले गाँस काटेर खडा गरेको गैरसरकारी निकाय हो । पेट्रोल पम्प पनि त्यही कोषबाट चलेको छ । तर, क्रान्तिकारी भन्नेले नै गरिबको गाँसमा आँखा लगाएपछि ! अनि पुलिसको भागाभाग नहोस् पनि कसरी ? भिआइपीका अगुवा, पछुवा गाडीमा तेल दिइन्छ, किनभने त्यसमा प्रहरी नै सवार हुन्छन् । तर, पदमा नहुँदा पनि भत्ता आइरहने भिभिआइपी चढ्ने गाडीका लागि तेल मागिन थालेपछि प्रहरीको भागाभाग छ ।
 
प्रहरीले सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशलाई पनि सुरक्षाकर्मी दिएको छ । दिनुपर्नेलाई दिए त केही थिएन, दिनुपर्ने कुनै तर्क र कारण नै नभएकाले पनि भटाभट सुरक्षाकर्मी लिइरहेका छन् । जस्तो कि, विमलेन्द्र निधी गृहमन्त्री हुँदैको बेला उनको दबाबमा रामदेववाला पतञ्जली योगपीठका शालिग्राम सिंहसम्मले सुरक्षाकर्मी पाए । उनैले कार्यक्रममा जाँदा आफ्नो सुरक्षार्थ खटिएका प्रहरीलाई दुःख दिन, दुव्र्यवहार गर्न बाँकी राखेनन् । हतियार र सञ्चारसेटसहित गएका ती प्रहरीलाई एकजना भारतीयमूलका व्यक्तिले यति निकृष्ट शैलीमा गाली गर्थे कि, त्यो देखेर पूर्वप्रहरी हाकिमहरु पनि छक्क परे । अहिले उनीबाट सुरक्षाकर्मी तानिसकिएको छ ।  

प्रहरीले एकातिर सातै प्रदेशअन्तर्गत प्रहरी इकाई नपुगेका ठाउँमा चौकी खडा गर्ने भनी ३१ सय १ दरबन्दी पाएको छ, भने अर्कातिर भएका कर्मचारीलाई नेताको लहडमा बाँड्ने काम पनि भएको छ । सरकारले पारित गरेको कार्यविधिको ठाडो उल्लंघन सरकारी अधिकारीबाटै भइरहेको छ । कसरी भने, पूर्वराष्ट्रप्रमुखले पाउने सुरक्षाकर्मीको संख्या हो, १० । तर, ज्ञानेन्द्र शाहले एक सय १० जना लिएका छन् । पूर्ववर्ती सरकारका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पाउनुपर्ने ९ जना, तर अहिले त्यहाँ डिएसपी कोमल शाहको कमाण्डमा ४८ सुरक्षाकर्मी तैनाथ छन् । देउवाकै सरकारका मन्त्री कमल थापाले १५ जना पाएका छन् भने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भूपू गृहमन्त्रीको हैसियतमा १६ जना लिएका छन् । पूर्वगृहमन्त्रीकै हैसियतमा नेकपाका नेता जनार्दन शर्माले पाउनुपर्ने २ जना हो । तर, उनीसँग अहिले पनि २० जना सुरक्षाकर्मी छन् । मन्त्री पनि भइसकेका म्यानपावर व्यवासयी टेकबहादुर गुरुङसँग एक जना हतियारधारी प्रहरी छन् । दाङका कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरीसँग दुई, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग एघारजना प्रहरी छन् । भूपू गृहमन्त्रीकै हैसियतमा पूर्णबहादुर खड्काले १४ जना सुरक्षाकर्मी लिएका छन् । प्रकाशमान सिंहले भूपू उपप्रधानमन्त्रीको हैसियतले दुई जनासम्म पाउनुपर्नेमा उनीसँग १३ जना अंगरक्षक छन् । भूपू मन्त्रीको हैसियतमा प्रकाशशरण महतले १० जना, बालकृष्ण खाँणले दुईजना, बुद्धिमान तामाङले एक जना लिएका छन् ।

पूर्वरक्षा तथा गृहमन्त्रीको हैसियतमा नेकपाका नेता भीम रावलले १८ जना सुरक्षाकर्मी राखेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले दुई जना पाउनुपर्नेमा १८ जनालाई सँगै हिँडाएका छन् । पूर्वअर्थमन्त्री रामशरण महतले सात जना, पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दुई पाउनुपर्नेमा १३ जना, विजय गच्छेदारले १३ जना, विमलेन्द्र निधीले दुई जना पाउनुपर्नेमा १५ जना सुरक्षाकर्मी लिएका छन् । वैद्य समूहबाट सरकारविरुद्ध आन्दोलन चलाइरहेका अध्यक्ष मोहन वैद्यसँग दुई र सीपी गजुरेलसँग एकजना सुरक्षाकर्मी छन् । बहालवाला बनमन्त्री शक्तिबहादुर बस्नेतले ११ जना वरपर राखेका छन् । बाँच्नेका लागि मात्र हैन, सरकारले दिवंगत नेताका नाममा पनि सुरक्षाकर्मी खटाइएको छ । कांग्रेस नेता स्व. खुमबहादुर खड्काका नाममा दुई जना छन् । त्रिशुलीमा बेपत्ता भएको तीन वर्ष बितिसकेका पूर्वगृहमन्त्री माधव घिमिरेको घरमा अझै पनि दुई जना सुरक्षाकर्मी देखिन्छन् ।  

प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाको रेकर्ड,  भिआईपीहरुका निवासको स्थलगत अध्ययन र सशस्त्र प्रहरी बल मुख्यालय, हल्चोकस्थित कार्यालयको अभिलेख रुजुपश्चात निक्लिएको हिसावअनुसार कांग्रेस सांसद अमरेशकुमार सिंहसँग सशस्त्र र नेपाल प्रहरीको गाडीसहित पाँच जना सुरक्षाकर्मी छन् । देशैभरिको बाटो हत्याएर काम नगर्ने ठेकेदार शारदा अधिकारी र आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले एक–एक जना अंगरक्षक राखेका छन् । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले दुई जना, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले एकजना, राजपाका नेता रामेश्वर राय यादवले एक जना लिएका छन् । अख्तियारका आयुक्त राजनारायण पाठकसँग चार जना बडीगार्ड छन् । पूर्वआइजिपी मोतिलाल बोहोरासँग दुई जना, राजपा अध्यक्ष महन्थ ठाकुर र महेन्द्र राय यादवसँग दुई-दुई जना, कांग्रेस नेता मीनेन्द्र रिजाल, कांग्रेसकै मोहम्मद आफ्ताव आलम, राजपाका राजेन्द्र महतो, नेकपा स्थायी कमिटी सदस्य भीम आचार्यहरुसँग एक–एकजना सुरक्षाकर्मी छन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले कार्यविधिको व्यवस्थाअुनसार ९ जना पाउनुपर्नेमा १० जना लिएका छन् । नेकपा सचिवालय नेता झलनाथ खनालले पनि चारजना बढी सुरक्षाकर्मी लिएका छन् । प्रथम राष्ट्रपति रामवरण यादवले १३ पाउनुपर्नेमा दुई बढी छन् । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले पूर्वप्रधानमन्त्रीको हैसियतमा पाँचजना बढी सुरक्षाकर्मी पाएका छन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि १२ जना बढी सुरक्षाकर्मी रहेको अभिलेखमा देखिन्छ । बाबुरामसँग दिइनेजति नै छन् । पूर्वसभामुखको हैसियतले ओनसरी घर्तिले दुई जना पाउनुपर्नेमा १५ राखेकी छन् । आवश्यकताभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरी दरबन्दी थपेर राज्यलाई व्यवभार बढाइरहन खोजिएपछि अर्थ मन्त्रालयले आपत्ति जनाइरहेको छ । तर, आफूलाई सुरक्षा खतरा भएको भन्दै पिएसओ पाउनुपर्ने माग भने दिनानुदिन बढिरहेको छ । 

नेपालमा सिक्किममा जस्तो बडिगार्ड राख्नेले नै तलब दिनुपर्दैन । सरकारी खर्चमा खटिने सुरक्षाकर्मीको दुरुपयोग व्यापा मात्रामा भइरहेको छ ।

टिप्पणीहरू