क्याबिनेट बैठक चल्दा हमला गर्ने को ?

कसले भन्छ नेपाल संसदीय र प्रशासनिक अभ्यासमा इङ्ल्याण्ड, अमेरिका, भारतभन्दा कम छ ? बिल्कुलै छैन, तर ‘दुश्मन’ हरुको घेराबन्दी यति चर्को कि, पत्याउनै नसकिने ! अहिले नेपाल सरकार यस्तै ‘दुश्मन’ हरुको घेराबन्दीमा पर्दा थालिएको अत्याधुनिक कार्यसम्पादन विधि जोखिमपूर्ण अवस्थामा छ ।

‘पेपरलेस’, अर्थात् कागजविहीन प्रशासनिक कार्यसम्पादनको प्रारम्भस्वरुप साउन १० गते, बिहीबार मन्त्रिपरिषद्को बैठक चलिरहँदा पहिलोचोटि प्रत्येक मन्त्रीको हातमा म्याकबुक पुग्यो । बैठकमात्र हैन, पूरै कार्यालयलाई अटोमेसन सिष्टममा चलाउने योजनाको शुरुवात थियो त्यो । दुःखको कुरा त के भने, नेपालको मन्त्रिपरिषद् बैठकमा म्याकबुकबाट प्रस्ताव हेर्दै छलफल चलिरहँदा संसारभरिका ह्याकरहरुको ध्यान पनि त्यहीँ खिचियो । बैठक शुरु भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कम्प्युटर प्राविधिकहरु सर्भरमा समस्या आउला भनी चनाखो थिए । तर, त्यही बेला ४०–४५ जना ह्याकरको घेराबन्दी शुरु भयो । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यस्तो प्रविधिबाट बैठक शुरु भएको भनी ट्वीट गरेपछि हल्ला त हुने नै भयो । हल्लाले गर्दा धुन्धुकारीहरु यति सल्बलाए कि, कतिपय ह्याकर त झण्डैझण्डै सफल हुन लागेका थिए । त्यतिबेलै त ती कहाँबाट सल्बलाए थाहा हुँदैन । पछि प्राविधिकहरुले अनुसन्धान गर्दा बढीजसो युरोपतिरबाट सक्रिय भएका रहेछन् । केही ह्याकर काठमाडौंभित्रै र सिंहदरबारसँगको छोटो दूरीमै थिए । बैठक सकियो । मन्त्रीहरुले म्याकबुक चलाएको भनी सबैतिर समाचार आयो । त्यसपछि त बिगार्न खोज्नेको संख्या यसरी बढ्यो कि, एउटामात्र ह्याकर सफल भयो भने देशका महŒवपूर्ण, गोप्य र संवेदनशील सूचना छिनभरमै चुहावट हुने खतरा । तर, सल्लाहकार रिमालले प्राविधिकहरुलाई भनिसकेका छन्, ‘तपाईंहरु चनाखो हुनुभयो भने हामी जोगिन्छौँ, नत्र खत्तम हुन्छ । ख्याल गर्नुहोला ।’

वास्तविकता के हो भने, यस्तो पेपरलेस क्याबिनेट अमेरिका, बेलायत (इङ्ल्याण्ड), चीन र भारतमा पनि छैन । नसकेर त नभनौँ, तर नेपालले यस्तो अभ्यास थालेपछि विशेषतः तिनै देशका लागि सुराकी गर्नेहरुलाई समस्या परेको छ । त्यसै पनि नेपालका संवेदनशील सूचनाको बेचबिखन सिंहदरबारभित्रैबाट हुने हल्ला छ । त्यसमाथि म्याकबुकको प्रयोग हुने भएपछि मन्त्रिपरिषद्का सूचना विदेशी एजेन्सीलाई अग्रीम बुझाउने, त्यो बुझेर रिपोर्ट पेश गर्नेहरुको रुवाबासी चल्ने नै भयो । म्याकबुकको प्रयोगबाट अहिले सबभन्दा बढी धुवाँ भएका छन्, मुख्यसचिव लोकदर्शन रेग्मी ।

प्रधानमन्त्री आफैँले सरकारी प्राविधिकलाई बोलाएर म्याकबुकको व्यवस्था गर्न र क्याबिनेट बैठक पहिलोचोटि पेपरलेस गर्न अह्राउँदै भनेका थिए ‘बाँकी कुरा विष्णु सरले भन्नुहुन्छ, तपाईंहरुले उहाँले भनेबमोजिम गर्ने ।’ अर्थात्, मुख्यसचिवसँग यस्तो निर्देशन दिने क्रममा कुनै सरोकार राखिएन । तर, कर्मचारीहरुको धर्म हो, मुख्यसचिवको स्वीकृति लिने । उनीहरुले भने, ‘सर, यस्तो कुरा भा’छ…†’ त्यसपछि मुख्यसचिवले जवाफ दिए, ‘ल, ल !’

तर, अहिले प्रयोगमा आएको अटोमेसन सिष्टम अपुरो छ । प्रस्तावमात्र हो, मन्त्रीका म्याकबुकमा बैठकअघि पुग्ने । निर्णयचाहिँ अहिले पनि हार्डकपीबाटै जान्छ । पहिलाजस्तो ४० प्रति प्रस्तावको कपी प्रिन्ट गरेर मन्त्रीपिच्छे हातहातमा थमाउनचाहिँ बन्द भयो । निर्णयलाई पनि स्क्यान गरेर राख्ने योजना छ, तर भइसकेको छैन । किनभने, निर्णय मन्त्रीलाई मात्र पठाएर हुँदैन, कार्यान्वयनका लागि सचिव र अरु तालुकदारकहाँ पनि पुग्नुपर्छ । कतिपय निर्णय कार्यान्वयनका लागि ऐन, नियमावली र कार्यविधिका प्राविधिक कुराहरु मिलाउनुपर्छ । कतिपय निर्णय कार्यान्वयन गर्न फरक–फरक मन्त्रालयबीच समन्वय हुनुपर्छ । त्यसैले निर्णयहरु म्याकबुकबाटै कार्यान्वयन हुने दिनचाहिँ केही टाढै रहेको बताइन्छ ।

अटोमेसन सिष्टमको सर्भर गृहमन्त्रालयसँगै रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जिआइडिसी) मा छ । जम्मा २५ वटा म्याकबुक प्रयोगमा छन् । सर्भरबाट कुन आइपी नम्बरको म्याकबुकले के चलायो हेर्न सकिन्छ । ह्याकरबाहेक अरु म्याकबुक प्रयोगकर्ताले सूचना चुहावट गरे थाहा हुन्छ । भिपिएन टेक्नोलोजी प्रयोग भएको छ । ह्याकरले आफ्नो आइडी लुकाएर गर्छन्, त्यसकारण अलिक लामो बाटो अपनायो भनेमात्र ती फेला पर्ने हुन् । यो कामको संयोजन प्रधानमन्त्री कार्यालयका प्राविधिक उपसचिव मुकेश रेग्मी र कम्प्युटर इञ्जिनियर अधिकृत हरिप्रसाद पोखरेलले गरेका छन् । यसको होस्ट क्लाउडमा छ । त्यस कारण छिटो छिटो चल्ने कुरामा समस्या छैन । तीनवटा व्याण्डविथ छ । व्याण्डविथ भनेको ट्राफिकजस्तो हो । जति क्षमता बढी भयो, उति द्रूतगतिमा चल्ने । त्यसका लागि दुईटा व्याण्डविथ जिआइडिसीकै छ । वल्र्डलिंकबाट पनि एउटा लिइएको छ । मन्त्रीहरुको हातमा परेको म्याकबुकको संस्करण २०१८ हो, जसको नेपालमा बजार मूल्य करिव एक लाख २० हजार छ ।

बिहीबारको क्याबिनेटमा म्याकबुक दिइएपछि सबभन्दा राम्रोसँग र छिटो चलाउनेमा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए । प्रधानमन्त्रीको हातमा पहिल्यैदेखि थियो, त्यसैले उनले तरिका जानिसकेका थिए । बादलपछि बनमन्त्री शक्तिबहादुर बस्नेत देखिए, राम्रोसँग चलाउन जानेका । हातमा पर्नासाथ खोलेर फर्रर काम थालिहाले । तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितचाहिँ निक्कै बेर अल्मलिए । प्राविधिक हरिप्रसादलाई बोलाएर सोधे, ‘थिच्ने ठाउँ कहाँ छ ? देखाउनुस् त †’ हरिले भने, ‘यो थिच्नुपर्दैैन मन्त्रीज्यू, औँलाले छोएपछि हुन्छ ।’ त्यसपछि उनले पनि चलाउन थाले । श्रममन्त्री गोकर्ण विष्ट ओल्टेकोल्टे पारेर हेर्दै थिए । केही समस्या पो भयो कि भनेर प्राविधिकहरु नजिक गए । तर, छेउमै बसेका अर्का मन्त्रीले चलाएको हेरेर गोकर्णले चलाए । 

टिप्पणीहरू