पैसा भएपछि कान्छी पत्नी

पुरुषप्रधान समाजमा महिलाको अवस्था त्यसै पनि कमजोर हुन्छ । त्यसमाथि प्रतिष्ठित पुरुषले नै घरमा पञ्चेबाजा बजाएर भिœयाएकी श्रीमती हुँदाहुँदै बाहिर मनलाग्दी अरू स्त्रीलाई फसाएर छाड्दै गर्दा महिला थप पीडामा पर्ने नै भए । प्रसंग वैदेशिक रोजगार महासंघको अध्यक्ष भइसकेका र आफूलाई भलिबलको पूर्व राष्ट्रिय खेलाडी बताउने हंसराज वाग्लेको हो । घरपरिवारको सल्लाह र आयोजनामा पहिलो बिहे गरेका उनका जेठीतर्फ दुई छोरा छन् । एक छोरा पढाइको क्रममा विदेशमा छन् । तर, वैदेशिक रोजगार व्यवसायबाट अर्बजति सम्पत्ति जोडेका उनमा कमाइको मात्रा अकासिँदै जाँदा युवतीप्रति बढी नै रम्ने बानी पनि बस्दै गयो । यसै क्रममा केही वर्षदेखि विनिसा शर्मा (नाम परिवर्तन) लाई भेटे । गोरो, बाटुलो मुहार, अत्यन्त सुन्दर रूप र हँसिलो स्वभावकी विनिसालाई भेटेदेखि नै हंसराजले प्रभाव पार्न अनेक हरकत गरे । जत्ति पनि पैसा खर्च गर्नसक्ने र युवतीको मामलामा अति कमजोर मानिने उनले खुशी तुल्याएरै छाडे । दुईको खुशी भेटघाट र खाजामै टुंगिएन ।

हंसराजले रानी बनाएर राख्छु भनी अनेक कसम खाए । शुरुमा त कसमलाई व्यवहारमा पनि देखाए । ललितपुरमा करोडौं पर्ने सुन्दर घर किनेर राखे । प्रायः उनैसँग रम्न थाले । तर, समय क्रमसँगै मन फेरिँदै गयो । ४ वर्षजति बेनिसासँग निकै रमाइला पल बिताएका उनले त्यसपछि भने नराम्रो व्यवहार गर्न थाले । एउटी छोरीको आमासमेत रहेकी बेनिसालाई अन्त्यमा घर न घाटको बनाइछाडे । शुरुमा बिहे दर्ता गर्छु, जीवनभरको साथी बनाउँछु भन्दै घर किनेर राखेका उनले बिहे दर्ता त गरिदिएनन्, वर्ष बित्दै गएपछि दुव्र्यवहार, मनलाग्दी गरे । र, केही महिनापछि आमाछोरी बस्ने घर बेचिदिए । आफू बसेको घरमा यो मेरो हो भन्दै अरू नै कोही लालपुर्जासहित आएपछि एक महिलाको के लाग्थ्यो र ? उनले हंसराजसमक्ष रोइकराइ गरिन् । केहीसीप नलागेपछि सिक्किमे नेपालीमूलकी उनी अहिले नेपालमा छैनन् । उनले रुँदै नेपाल छाडेको हंसराज वैदेशिक रोजगार व्यवसायी महासंघमा अध्यक्ष भएका बेला उनकै कमिटीमा रहेका एक व्यवसायीले बताए । शुरुमा उनले विनिसालाई चिनाउँदै भलिबल खेल्दाकी साथी हुन् भनेका थिए । भलिबल खेल्दाकी साथी भनेर चिनाउँदै घर नै किनेर दोस्री श्रीमती बनाई राखेको व्यवसायीले पछि थाहा पाएका थिए । हंसराज ओखलढुंगा कांग्रेस जिल्ला सदस्य पनि हुन् । 

टिप्पणीहरू