नेपालभित्र मधेश थिएन, छैन !

  • डा. प्रेमसिंह बस्न्यात (अप्रा सहायक रथी, नेपाली सेना)

केही दिनअघि नेपाल आएका पाकिस्तानी सेनाप्रमुख जनरल महमुद हायतसँगको अन्तरक्रिया कार्यक्रममा पाकिस्तान र अफगानिस्तानबीच ‘रोटी बेटीको सम्बन्ध’ बारे भनेका थिए, ‘सामाजिक र साँस्कृतिक सम्बन्धको बहावमा लाग्दा राष्ट्रिय सुरक्षामा ठूलो क्षति व्यहोर्नुप¥यो । आजको जमानामा खुला सीमा राखेर रोटीबेटीको मात्र कुरा गर्नुहुने रहेनछ । तसर्थ २००० किमिभन्दा लामो पाकिस्तान र अफगानिस्तान सीमामा बलियो काँढे पर्खाल लगाइरहेका छौं । जसबाट देशमा सुरक्षाको अनुभूति बढेको छ ।

यो सुनेपछि नेपाल–भारत–चीनबीच खुला सिमाना, रोटीबेटीको सम्बन्ध, एक मधेस–एक प्रदेश, स्वतन्त्र मधेस र हालै २ नम्बर प्रदेशले ‘मधेस प्रदेश’ नामकरण गर्न लागेको घटना–परिघटनाले चसक्क पा¥यो । यो परिवेशमा दक्षिणी छिमेकका प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य पदाधिकारीबाट समकक्षीलाई तेल घसेर कृष्ण भगवान् बनाउँदै गर्दा २ नम्बर प्रदेशको हरेक मागलाई स्वीकृति दिइनेछ कि भन्ने लागेको छ । 

‘सब से बडा रूपैया ।’ हो, पैसा पाएपछि हामी आफ्नै चेलीबेटी, धर्मकर्म पनि बेच्छौं । यसका प्रशस्त उदाहरण छन् । नेपालभित्रका भूभाग टुक्र्याउनुपर्छ भन्नेलाई राज्यले कारबाही गर्दा अन्याय भयो भनेर विखण्डनकारीको पक्षमा जन्ती जानेहरू यहीं छन् । ‘स्वाभिमान’ राष्ट्रिय मासिक पत्रिकाको वर्ष १, अंक ८, जेठ २०७३ को अभिलेखअनुसार ती जन्तीमा डा. बाबुराम भट्टराई, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सिकेलाल, खगेन्द्र संग्रौला, हरि रोका, श्याम श्रेष्ठ, कृष्ण हाछेथु, मल्ल के सुन्दर, खगेन्द्र संग्रौला, युग पाठक, राजेन्द्र महर्जनलगायत बुद्धिमान–विद्वान् छन् । नेपालको आमसञ्चार जगत्मा बलियो पकड जमाएका यी विद्वानको र केका लागि स्वतन्त्र मधेसको मागमा जन्ती गएका थिए सोचनीय छ । हामी पढे÷लेखेका र जान्ने–सुन्नेहरूले यस्ता घाती काम गर्नेलाई तेल लगाउँछौं भने सोझा जनता त त्यसै बहकिने भए ! यो नेपाल टुक्र्याउने रणनीतिक चाल कंग्रेस, माओवादी, एमालेलगायत सबै राजनीतिक दलले बुझेर पनि बुझ पचाएका छन् अनि छिमेकीकै इसारामा (केही दल र नेताबाहेक) विखण्डनकारी कार्यप्रति मौन समर्थन गरेका छन् । सबैभन्दा संगीन कुरा त नेपालका सेना–प्रहरी–राष्ट्रिय अनुसन्धान विभागलसमेत राष्ट्रियतामा खतरा बढेको छ भनेर वक्तव्य निकाल्ने, भाषण गर्ने तर कारबाहीचाहिँ नगर्ने भएका छन् ।

हामी नेपालीको एकता भाँड्न पहिला शिक्षा, त्यसपछि धर्म, अनि जातजाति, नेता, त्यसपछि संविधान, अनि कर्मचारी र प्राज्ञविद् भनौंदाहरूमा विशेष गरी युरोपबाट पठाइएका पैसाको बिटो छिराइयो । अमेरिका, कोरिया, छिमेकी मुलुकसमेत यस मामलामा धेरै नजिक छन् । अनि हामी बिकेका विद्वान् र नेताले नै हिमाली, पहाडी र तराईलाई दुश्मन क्षेत्र बनायौं । ती नेता, प्राज्ञ, विज्ञ, पंक्तिकारलगायतको आर्थिक हैसियत आनका तान बढेको छ । तर, नेपाल पुनः द्वन्द्वमा जाँदै छ, त्यसमा पनि स्वतन्त्र मधेसलाई मलजल गरिँदै छ । अर्को पक्ष भनेको नेपालमा रहेका आइएनजिओ जातीय नरसंहार बढाउन उद्यत रहेको प्रमाण भेटिएका छन् । तिनैका पैसामा राजनीतिक दल र नेतासमेत चलेकाले आइएनजिओको गैरकानुनी काम रोक्न सरकार सक्दैन ।

हामी प्रस्ट हुनु जरुरी छ । नेपालभित्र मधेस थिएन र छैन । प्रमाण र अभिलेखमा टेकेर प्राज्ञ, विज्ञ, पत्रकार, नेताले बोल्नुपर्छ– लेख्नुपर्छ । विदेशी पैसा झार्न सुरुमा दर्ता गरिएको ‘मधेसी जनअधिकार फोरम’ नामक एनजिओ र मात चढेका बेला गिरिजाप्रसाद कोइरालाको हुकुम प्रमांगीबाट बक्स भएको ‘मधेस प्रदेश’ नामले आजको समस्या जन्मेको हो । नभएको मधेसलाई उचालेर लेख्ने केही पत्रकार र छिमेकीको दूतावासमा दल गठन गरेर छाडिएका अंगीकृतहरूले तराईमा गैरनेपाली चरित्र देखाइरहेका छन् । दुःखलाग्दो कुरा त २ नम्बर प्रदेशका मुख्यमन्त्रीले आफूलाई छिमेकीकै चाटुकार प्रमाणित गरेका छन्, देशविरोधी भाषण गरेर । पश्चिमको प्रिय मान्छे मुख्य न्यायाधिवक्ता हुनु यो प्रदेशको अर्को दुर्भाग्य हो । त्यति मात्र होइन, २ नम्बर प्रदेशका भोजपुरी, मैथिलीलगायत भाषालाई लात मारेर छिमेकीकै नुनको सोझो गरी हिन्दी भाषालाई प्रदेशको मुख्य भाषा बनाइयो । अब प्रदेशको नामै ‘मधेस प्रदेश’ बनाइँँदै छ । पुराना तराईवासी नेपालीलाई नयाँ बन्ने नेपालीले विस्थापित गर्नेछन् । रोक्न खोजिएमा नेपालका प्रधानमन्त्री र मन्त्रीका कुर्सी खोसिनेछ भने सुरक्षा अंगका ठूलाबडाका फुली फुत्किनेछन् । मधेस प्रदेश भएपछि त्यहाँ भर्ना गरिने बन्दुकधारी सुरक्षाकर्मीको दुरुपयोग हुने सम्भावना प्रशस्तै छ ।

इतिहासमा प्रमाण छन्, नेपाल टुक्रिने र एकीकृत राजनीतिक हुने साइकलभित्र देखिन्छ । यो क्रम अगाडि बढेको छ । नेपाली संस्कृति, संस्कार, इतिहास, धर्म र शक्तिलाई क्षतविक्षत पारिदिनेहरूलाई पाप लाग्नेछ । समाजले मानेको र मिलेर बसेको हिन्दु धर्मलाई फालिनु, बौद्ध धर्म नासिँदै जानु, राजतन्त्र हटाइनु, काँक्रोको चिरोजत्रो नेपाललाई संघीयतामा लग्नु, भ्रष्टाचारको पैसामा नेता, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र सुरक्षा अंगसमेत चल्नु, सेना र न्यायालयलाई भ्रष्टाचार गर्न छुट दिने गरी नियम कानुन बनाइनु, भिटो पावर पि–५ मुलुकले नेपाललाई २ कौडीको रूपमा पनि नलिनु, देशमा असल नागरिक होइन राजनीतिक झोले नागरिक बनाइनुजस्ता क्रम नेपाल विखण्डन हुन सक्ने सूचक हुन् । देशलाई नियन्त्रण गर्ने शक्ति अब नेपालमा रहेन । पैसाको लोभले हाम्रो परिवार फुटेको छ, धर्म फुटेको छ, नेता फुटेका छन्, जनता भाँडिएका छन् अनि कोलम्बियाका माफियाले देश चलाएझैं नेपालका राज्यसंयन्त्र चलेको प्रस्ट छ । दौराभन्दा खल्ती ठूलो भनेझंै राजनीतिक कार्यकर्तालाई जागिर दिन केन्द्र, प्रदेश र स्थानीय तहमा राज्यले नमागेका तर नेतालाई चाहिएका कर्मचारी थोपरिएका छन् । कर्मचारी नपुगेर नेपालले विकास नपाएको होइन । अहिले राज्यका हरेक तहमा पैसा–पैसा–पैसा भनेर कोलाहल मच्चिएको छ ।

राज्य कमजोर भएका बेला नेपालमा विदेशीले ठूलै चलखेल गरिरहेका छन् र गर्नेछन् । नेपालभित्र तराई, पहाड र हिमाल छ । यहाँ मधेस छैन । हामी सम्पूर्ण नेपाली एक थियौं र रहनुपर्छ । तसर्थ, समान अधिकारलाई सम्मान गरौं । सबैभन्दा घाती काम त नयाँ संविधानअनुसार प्रदेश बाँडफाँड गर्दा २ नम्बर प्रदेशलाई पहाडबाट छुट्ट्याइयो । भविष्यमा यही प्रदेशलाई बाह्य शक्तिले उचालेर यहीँबाट नेपाल टुक्रिन थाल्नेछ कि त यहाँबाट सुरु गराइने विद्रोहले नेपालको संघीयता मासिनेछ । विखण्डनकारी नारा, नाम र राजनीतिको प्रतिकार गर्नु र सबै नेपालीले देशविरुद्ध हुने बाह्य र आन्तरिक चुनौती सामना गर्नु नितान्त जरुरी छ । नेपाल रहे मात्र हामी नेपाली हुनेछौं ।

 

टिप्पणीहरू