त्यत्तिकै एड्स निको भयो

त्यत्तिकै एड्स निको भयो

अर्जेन्टिनाकी एक महिलाको बिना कुनै औषधिउपचार एचआईभी एड्स निको भएको छ । यो विश्वकै दोस्रो दुर्लभ घटना भएको बताइन्छ । डाक्टरहरुका अनुसार ती महिलाको रोग प्रतिरोधात्मक क्षमताले उक्त भाइरसलाई परास्त गरेको हो ।

त्यसपछि उनका एक अर्बभन्दा बढी कोषिकाहरुमा गरिएको परीक्षणपछि उनमा एचआईभी संक्रमणको कुनै संकेत देखा नपरेको ‘आर्काइभ्स अफ इन्टरनल मेडिसिन’ को रिपोर्टमा उल्लेख छ ।

यसबाट रोग प्रतिरोधात्मक क्षमताको प्रक्रिया पत्ता लाग्ने हो भने वास्तवमा एचआईभी एड्सलाई प्रभावकारी रुपमा निको बनाउन सकिने विश्वास र सम्भावना बढेको बताइएको छ । यसबाट एचआईभीलाई परास्त गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण ती महिला भएको समाचारमा उल्लेख छ ।

‘एचआईभी हट्न सक्छ ?’

यो खोजले अर्को के प्रमाणित गरेको छ भने केही मानिसमा एचआईभीलाई सहज तवरले हटाउने प्राकृतिक क्षमता रहेको र कतिपयको बंशाणुगत गुणले नै संक्रमणबाट जोगाएको भन्न थालिएको छ ।

अहिलेसम्म एचआईभीबाट संक्रमित अधिकांश बिरामीलाई जीवनभर ‘एन्टिरेट्रोभाइरल थेरापी’ को आवश्यकता पर्ने गरेको छ । यसमा उनीहरुले औषधि खान छाड्ने बितिक्कै भाइरस फेरि जागृत हुने गरेको अध्ययन र अनुसन्धानबाट पुष्टि भएको छ ।

पछिल्ला केही वर्षमा त्यस्ता बिरामी पनि फेला परिरहेका छन् जसले मेडिकल सहायता लिएका छन् । तर एचआईभीको औषधि नखाई भाइरसलाई काबुमा राख्न सकिरहेका पनि छन् । लण्डनका एडम केस्टिलेजोले ‘डोनर स्टेम–सेल’ को उपचार प्राप्त गरेपछि एचआईभी औषधिको सेवन छाडेका हुन् ।

उता सानफ्रान्सिस्कोकी लोरीन बिलेनबर्ग पनि आफ्नै प्रतिरोधात्मक बलमा बलमा एचआईभी मुक्त भएकी थिइन् । यस्ता घटनाहरुले अन्य बिरामीमा समेत आशाको दियो बालेको छ ।

पछिल्लो अध्ययनका मुख्य खोजकर्ता डाक्टर छु युका अनुसार आफैँ भाइरसबाट मुक्त हुन असक्षम मानिसहरुका लागि यसले नयाँ बाटो खुलाइ दिनेछ । तर एचआईभीबारे धेरै तथ्यको अध्ययन गर्न निकै बाँकी रहेको एकथरी विज्ञहरुले बताएका छन् ।

टिप्पणीहरू