देश विकास र कर्मचारीतन्त्र : के हो मूल मन्त्र ?

देश विकास र कर्मचारीतन्त्र : के हो मूल मन्त्र ?

– समाजवादी केटो

कर्मचारीतन्त्र जुनसुकै देशमा पनि सरकारको मुख्य मेरुदण्ड हो । राज्यले अख्तियार गरेको नीति र रणनीतिलाई कार्यान्वयन गर्न यो प्रत्यक्ष रूपमा जोडिन्छ । जुनसुकै अवस्था र व्यवस्थामा कर्मचारीतन्त्र अपरिहार्य रहन्छ । यसर्थ मानव सभ्यताको आरम्भसँगै विकास भएको कर्मचारीतन्त्र आजपर्यन्त निर्विकल्पजस्तै छ । भलै प्रवृत्तिगत रूपमा हेर्दा यसमा थुप्रै कमजोरी होलान् तर पद्धतिगत रूपमा यो नै राज्यको उपस्थिति देखाउने सर्वस्वीकार्य यथार्थ हो ।

अठारौं शताब्दीको अन्त्यतिर फ्रान्सका अर्थशास्त्री भिन्सिन्ट डी गोर्नीले पहिलोपटक प्रयोग गरेको कर्मचारीतन्त्र शब्दलाई कर्मचारीको शासनका रूपमा प्रस्तुत गरियो । दार्शनिक कार्ल माक्र्सले त कर्मचारीतन्त्रलाई पुँजीपति वर्गले मजदुर वर्गलाई नियन्त्रण गर्ने माध्यमको रूपमा व्याख्या गरे । उनले कठोर पदसोपान, शक्तिपूजा, जिम्मेवारीप्रतिको डर र आत्मोन्नतिको चाहना, अक्षम, इच्छाशक्ति तथा कल्पनाशक्तिको अभाव जस्ता कुराबाट ग्रसित अधिकारीहरूको समूहका रूपमा यसलाई अथ्र्याए ।

छिमेकी भारतमा सन् १९४७ र चीनमा सन् १९४९ मा उदाएको व्यवस्थामै टेकेर उनीहरूले विश्व सर्वशक्तिमान् राष्ट्रको पहिचान बनाइरहेको कुरा हाम्रानिम्ति सरोकारको विषय बनेन । बरु यो व्यवस्था ल्याए ठीक होला कि ऊ, यसो गरे ठीक होला कि उसो गरे जस्ता कुराहरूमै अल्झेर हामीले नेपाललाई निरन्तर प्रयोगशाला बनाइह्यौं । शासन र शासक फेर्दै फेर्दै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । र, कतिपयले भन्न थालिसकेका छन्– अब यो व्यवस्थालाई पनि फेरौं । हामीले लोकतन्त्रदेखि गणतन्त्र ल्यायौं । स्थिरताका नाममा निर्दल चाहियोे । ३० वर्षीय पञ्चायत ल्यायौं । प्रतिष्पर्धाका नाममा बहुदल ल्यायौं । पञ्चदेखि राजा, कांग्रेसदेखि सबै हे¥यौं, भोग्यौं । यसो गर्दै जाँदा संसारमा प्रयोगमा रहेका सबैजसो शासन प्रणालीको स्वाद चाखिसक्यौं । तर पनि नेपाल किन बन्न सकेन ?

अहिलेको भूमण्डलीकृत संसारमा राजनीतिक रूपमा स्थिरता मात्रै सबै थोक होइन । स्थिरता आवश्यक छ नै, तर त्यो मात्रै विकास एवं समृद्धिका लागि सर्वोपरी होइन भन्ने तथ्य हामीले भोगेर, देखेर, पढेर थाहा पाइसक्यौं । यदि स्थिरता नै विकास र समृद्धिको मूल कारण हुँदो हो त झण्डै साढे चार दशक (४४ वर्ष) पौल बियाले शासन गरेको क्यामरुन, लामो समयसम्म हुनसेनलगायतले शासन गरेको कम्बोडिया, अलि खोमेनीले शासन गरेको इरान, मुसोलिनीले रजगज गरेको युगाण्डा, इदरिस डेबीले शासन गरेको चाड र अरु थुप्रै देश आज विकासमा उदाहरणीय बन्थे होलान् । नेपालमै पनि स्थिरताकै लागि भनेर ल्याइएको पञ्चायत भोग्यौं ।

तर, हामीले के बिस्र्यौं भने नेपालमा २५–३० वर्ष राजतन्त्रको जगजगी रहेकै बेला उदाएका आधुनिक सिंगापुरका निर्माता लि क्वान युले कसरी शासन गरे र सिंगापुरलाई कहाँदेखि कहाँ पु¥याए । नेपालमा प्रजातन्त्र बहाली भएको समयको वरिपरी (खासगरी सन् १९६० तिर) हाम्रोभन्दा केही गुणामात्रै बढी प्रतिव्यक्ति आय भएका कोरिया, सिंगापुरलगायत देशको प्रतिव्यक्ति आयको अन्तर दुई तीन दशकमै दशौं गुणा हुन पुग्यो ।

कहीँ स्थिर सरकार भनिएका देशको अवस्था पनि दयनीय बन्यो । कहीँ सरकार अस्थिर हुँदाहुँदै पनि विकासले छलाङ हान्यो । हाम्रोभन्दा पनि अस्थिर सरकार हुने जापान, इटाली, इजरायललगायत देशले विकासमा तरक्की गरे । यसले के देखाउँछ भने देश बन्ने र नबन्नेमा स्थिरता वा व्यवस्था प्राविधिक पक्ष मात्रै हो, सबैभन्दा महत्वपूर्ण कुरा त देशको नीति र विधि हो । महत्वपूर्ण पक्ष त्यो नीति र विधिलाई कार्यान्वयन गर्ने नेतृत्वको क्षमता र संस्कार हो ।

नेपालमा माओवादीको शान्तियात्रा प्रारम्भ हुँदा नेपाललाई सिंगापुर बनाउँछौं भन्ने कुरा निकै चर्चामा रह्यो । त्यही माओवादी सत्ताको किंगमेकर बनिसक्दा पनि सिंगापुर कसरी बन्यो र नेपाल के बन्दै छ भन्ने कुराको छेउटुप्पो पनि हामीले भोग्न पाएनौं ।

अध्ययन गर्दै जाँदा थाहा हुन्छ कि लि क्वान युले तीन सिद्धान्तलाई आत्मसात् गरी शासन गरेका थिए । तीमध्ये पहिलो थियो– हाम्रा होइन, राम्रा अर्थात आफूप्रति बफादार नभई योग्य र प्रतिभावानलाई स्थान दिने । दोस्रो–आफ्नो दृष्टिकोण वा भिजन कार्यान्वयन गर्न सक्षम र समर्पित टिम बनाउने र तेस्रो, मेरिटोक्रेसी (अब्बलता वा श्रेष्ठता) का साथै सच्चरित्रतालाई हरेक क्षेत्रको मूल मन्त्र बनाउने । यी सिद्धान्तकै जगमा उनले देशका मुख्य मेरुदण्ड अर्थतन्त्र, श्रमबजार, सुरक्षा र शिक्षामा आमूल परिवर्तनका लागि त्यसैअनुसार गर्नसक्ने मन्त्री छनोट गरे र काम गर्न दिए ।

भ्रष्टाचार निवारणका लागि नेपालको जस्तै अख्तियार बनाई प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नसक्ने विधि र पद्धति निर्माण गरे । देशहितलाई नै आफ्नो अभीष्ट बनाए । थिति बसाल्ने काम गरे । देशमा थिति बसिसकेपछि सबै कुरा त्यसैले गाइड गर्छ । तर, त्यो थिति कसरी बसाउने त ? त्यसका लागि मिसन, भिजन र क्षमता भएको जबर्जस्त तर उदार नेतृत्वको जन्म हुनै पर्छ भन्ने मानक स्थापित गरे ।

जुनजुन देशको कर्मचारीतन्त्र महत्वाकांक्षी, अक्षम राजनीतिक नेतृत्वको सहारामा आफूले सबै सुख, अवसर र शक्ति भोग गर्ने अभिलाषा पालेर बस्छ, अनावश्यक राजनीतिमा आबद्ध हुन्छ, भ्रष्टाचारमा रमाउँछ, स्वार्थका लागि काम गर्छ र परिवर्तनलाई आत्मसात् गर्न सक्दैन त्यहाँ समस्या भइरहन्छ । हामीकहाँ न राजनीतिक नेतृत्व न त प्रशासनिक नेतृत्वले सार्वजनिकहित रक्षाका लागि आफूलाई समर्पण गर्न सकेका छन् । बरु लोकतान्त्रिक हुननसकेको नेतृत्वलाई खुशी पार्न हाम्रो कर्मचारीतन्त्र पनि त्यसैत्यसै हुँदै गएको आरोप छ । हाम्रो कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वको गलत प्रवृत्तिलाई रोक्ने हिम्मत गर्दैन । चुनावमा करोडौं खर्चेर स्थापित नेतृत्वले राज्यशक्तिको दोहन गर्ने हरेक कर्ममा कर्मचारीतन्त्र पनि सहयोगी बन्ने गरेको आरोप खण्डन गर्ने नैतिक तागत हाम्रो कर्मचारीतन्त्रको नेतृत्वले पनि गुमाउँदै गएको छ ।

राजनीतिकर्मीले पार्टीभित्र होस् या बाहिर सत्ता हुँदा होस् या नहुँदा, मौका पाएमा राम्रोलाई होइन हाम्रो अर्थात् आफूप्रति वफादारलाई स्थान दिने । हाम्रो नेतृत्वले मभन्दा अरू कसैले जानेकै छैन ठान्ने । देशका अंग, अड्डाअदालत कार्यकर्ता सेटलमेन्टको अखडा बनाउने । मेरिटोक्रेसी (अब्बलता वा श्रेष्ठता) र सच्चरित्रता होइन पार्टीप्रति, गुटप्रति, आफूप्रति बफादार र सेटिङमा सिपालुलाई रोज्ने, अवसर दिने, नियुक्ति गर्ने । बिचौलियाको राज चलाउने । अन्ततः यी चिजले परिणाम दिनेभन्दा पनि दुष्परिणाम दिने । जनतालाई डेलिभरी दिन नसक्ने दुष्परिणामले निराशा जन्माउने । निराशाले आक्रोश पैदा गर्ने र आक्रोशले भत्काउने मात्रै । बस्, सब बर्बाद ।

सकेसम्म सपना नै नदेख्ने, देखेका सपना साकार गर्ने दृष्टिकोण र क्षमता नहुने । सबै क्षेत्रमा चरम राजनीतिकरण गर्ने । पार्टी होइन गुट बनाउने, कार्यकर्ता होइन चेतनाशून्य बफादार पक्षपोषक दस्ता निर्माण गर्ने । कर्मचारी पनि त्यसैको हिस्सेदार बन्ने । असल कर्म गर्ने होइन, गलत कर्मको ढाकछोप गर्ने पुलिस, प्रशासन, आयोग, नियोग, समिति, प्रतिष्ठान, निगम, प्राधिकरणमा आफ्नो प्रभाव स्थापित गर्ने । हुँदा हुँदा न्याय दिने ठाउँ (अदालत) लाई पनि गलत राजनीतिक संस्कारको छायाँमा पार्ने । सत्ता, शक्ति, पद मात्रै सबैथोक हो भन्ने मानक स्थापित गर्ने । नेपाल पनि त्यसैको एक उदाहरण होइन र ?

नेपालमा हिजोदेखि आजसम्म जेजति राम्रा कामहरू भएका छन् त्यसमा कर्मचारीतन्त्रको उत्तिकै योगदान छ । र, जेजति नराम्रा काम भएका छन् । विकास र समृद्धिको ग्राफमा हामी जहाँनेर छौं यो निराशातर्फको यात्रामा पनि कर्मचारीतन्त्रको कम योगदान छैन । नेपालको मनोसामाजिक चेतना, अर्थ राजनीतिक अवस्था, यहाँका सम्भावनाको हिसाबले हामी जहाँ पुग्नुपर्ने थियो र पुग्न सकिरहेका छैनौं यसमा कर्मचारीतन्त्रको उत्तिकै हिस्सेदारी छ ।

राज्यको स्थायी सत्ता भनेर सर्वस्वीकार्य कर्मचारीतन्त्रले गलतलाई गलत र सहीलाई सही भन्न नसक्नुको परिणाम हो आजको नेपाल । जहाँ सम्भावना त छ तर सम्भावनालाई वास्तविकतामा परिणत गर्न सक्ने नेतृत्वको अभावमा निराशा, कुशासन, भ्रष्टाचार, बेथिति, अन्यौलता बढ्दै छ । देश बनाउने अन्तिम निर्णायक शक्ति राजनीति नै हो । तर, त्यसका लागि इतिहासले सधैं सबै देशमा लि क्वान यु नजन्माउन सक्छ । त्यस्तो बेला हस्तक्षेप गर्ने भनेको बेस्ट ब्रेनहरूले नै हो । ती ब्रेनहरू राजनीति, समाजमा पनि छन् । त्यसलाई उपयुक्त अवसर दिन केही हस्तक्षेप कर्मचारीतन्त्रले गर्न सक्छ ।

नेपालको कर्मचारीतन्त्रमा ती सम्भावना छन् । नेपालको कर्मचारीतन्त्रले राम्रोका लागि हस्तक्षेप गर्न सक्छ । देश बन्न नदिने प्रवृत्तिलाई एकजुट भएर नंग्याउन सक्छ । यसर्थ अब कर्मचारीतन्त्रले असल कामको पक्षपोषण र गलत कामको निर्ममतापूर्वक भण्डाफोर एवं बहिष्कार गरी देश बनाउने बाटोमा आफूलाई दृढतापूर्वक उभ्याउन सक्नुपर्छ ।

टिप्पणीहरू