कमरेडहरुद्वारा मुन्तिरैबाट करौँती

कमरेडहरुद्वारा मुन्तिरैबाट करौँती

एमाले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा प्रदेश १ का मुख्य जिल्ला झापा, मोरङ र सुनसरीका भिन्न–भिन्न रमिता छन् । मोरङमा नेताहरूले बल प्रयोग गरेर सबै क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि छनोट गराएका छन् । सुनसरीमा १० बुँदे र ओली समूहको चर्को विवादले गर्दा निर्वाचन गर्नुपर्ने बाध्यता आइपरेको छ ।

झापामा चाहिँ १० बुँदे पक्षका तीन जना मात्र प्रतिनिधि निर्वाचित भएका छन् । मोरङमा महाधिवेशन प्रतिनिधि हुन जम्मा १ सय ७० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर, नेताहरूको दबाबमा जम्मा ५७ जना सर्वसम्मत चयन भए । मोरङमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत गराउन केन्द्रीय नेता लालबाबु पण्डित, जीवन घिमिरे, गुरु बराल र विनोद ढकाल सक्रिय भएर खटिएका थिए ।

उनीहरूले उम्मेदवारी दर्ता गराएकामध्ये १ सय १३ जनाको मनोनयन फिर्ता गराएका थिए । मोरङमा छनोट भएका प्रतिनिधि प्रायः सबै ओली समूहकै छन् । यसबाहेक पहिले माधव समूहमा रहेर पछि ओली समूहमा विलय भएकाहरू प्रदेश सभा सदस्य लिलिबल्लभ अधिकारी, यशोदा अधिकारी चयन भएका छन् । यसैगरी, माधव समूहमा रहेर ओली समूहमा आएका बेलबारी नपाका प्रमुख ज्ञानेन्द्र सुवेदी र पथरी नपाका प्रमुख दिलीप राई अनि केरावारी गाप उपाध्यक्ष शान्ति लिम्बू पनि चयन भएका छन् ।

यसैगरी मीना यादव र पूर्व प्रदेशमन्त्री जीवन घिमिरे पत्नी विमला दाहालले पनि महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाएका छन् । महाधिवेशन प्रतिनिधि चयन गर्दा नेताले ढिटो पावर प्रयोग गरेकाले चुनाव गराउनुपर्छ भन्ने पक्षका कार्यकर्ता कारबाहीमा पर्ने भयले तैँ चुप मै चुप हुन बाध्य थिए ।

उता, दश बुँदे समर्थक र ओली समूहको चर्को टकरावले नयाँ संयोजक बनाएर अधिवेशन गराउने प्रयत्न भए पनि सुनसरीमा महाधिवेशन प्रतिनिधि छनोट गर्दा निर्वाचन हुने पक्का भएको छ । यद्यपि, नयाँ संयोजक खेमराज पोखरेलले सर्वसम्मतबाटै सकेसम्म प्रतिनिधि चयन गर्ने प्रयास हुने बताएका छन् ।

सुनसरीमा चार निर्वाचन क्षेत्रबाट जम्मा ४२ जना महाधिवेशन प्रतिनिधि छनोट हुन्छन् । तर, उम्मेदवारी भने १ सय ८८ जनाले दर्ता गराएका छन् । ओली पक्षका रेवतीरमण भण्डारी र दशबुँदे पक्षका रमेश बस्नेत समूहले सुनसरीमा अलग–अलग समानान्तर समिति चलाएका थिए । यसैले पूर्वअध्यक्ष खेमराज पोखरेललाई अगाडि सारेर जिल्ला अधिवेशन गराउने गरी सम्मेलन आयोजक समिति बनाइएको थियो ।

उता, माधव समूहमा रहेका तर एसमा नगई एमालेमै रहेका इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरी पनि दश बँुदेकै पक्षमा खुलेकोले सर्वसम्मत रूपले प्रतिनिधि छान्न सुनसरीमा निकै सकस पर्ने देखिन्छ । यद्यपि, ओली समूहले सर्वसम्मत नभएमा ढिटो प्रयोग गरेर एकपक्षीय रूपले प्रतिनिधि घोषणा पनि गर्न सक्नेछ ।

यस्तै एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा दश बुँदे पक्षधर तीन जना मात्र महाधिवेशन प्रतिनिधि चयन भएका छन् । दश बुँदे पक्षधर प्रदेश कमिटी सदस्य रोमणि भट्टराई, अर्जुनधारा नपाकी उपमेयर चन्द्रमाया श्रेष्ठ र बिर्तामोड नपाकी उपमेयर पवित्रा महतारा मात्र महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यसबाट दश बुँदे पक्षधर केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रविन कोइराला र केन्द्रीय सदस्य नरेश खरेलको समूह कमजोर रहेको प्रस्ट भएको छ । सर्वसम्मत प्रतिनिधि छनोट गर्ने केन्द्रीय सर्कुलर भए पनि झापाको ३ र ४ नम्बर क्षेत्रमा सहमति हुन नसक्दा निर्वाचन गराउनुपरेको थियो ।

टिप्पणीहरू