जापानमा विदेशी कामदारको हाहाकार, अर्को वर्षदेखि लैजाने

जापानमा विदेशी कामदारको हाहाकार, अर्को वर्षदेखि लैजाने

जापानले निर्माण र कृषि क्षेत्रको निम्ति आवश्यक विदेशी कामदारलाई आगामी वर्षदेखि लैजाने घोषणा गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको जापानी समाजमा अबदेखि त्यहाँ जाने विदेशी कामदार लामो समयसम्म बस्न मिल्ने प्रबन्धसमेत मिलाइएको छ ।

जापानको कानुन मन्त्रालयले उक्त निर्णय हिजो गरेको हो । सन् २०१९ देखि लागू भएको विशेष सीप भएका कामदारमध्ये कृषि, नर्सिङ र सरसफाइ क्षेत्रका पाँच वर्ष मात्र बस्न पाउने प्रावधान थियो । उनीहरुलाई परिवार लैजान समेत अनुमति थिएन ।

जापान सरकारले अन्य क्षेत्रमा गरेका यस्ता खाले कडाइलाई पनि क्रमशः खुकुलो बनाउने संकेत दिएको छ । नयाँ कानून लागु भएपछि नेपाल, चीन, भियतनामसहितका मुलुकका कामदारलाई भिसा नवीकरणसहित परिवारसँग लामो समयसम्म जापान बस्ने सुविधा प्राप्त हुनेछ ।

सरकारका प्रवक्ता हिरोकाजु मातसुनोका अनुसार नयाँ सुविधाको अर्थ त्यहाँको स्थायी बसोबासको अनुमति भने होइन । जापानमा अध्यागमन सम्बन्धी मुद्दा लामो समयदेखि विवादित छ ।

तर, कोरोना महामारीका कारण जापानमा कामदारको अभाव चुलिएको छ । जापान सेन्टर फर इन्टरनेसनल एक्सचेन्ज थिङ्क ट्याङ्कका प्रबन्ध निर्देशक तोसिहिरो मेन्जले भनका छन्, ‘यदि जापानले विदेशी कामदार ल्याउने राम्रो उपाय चाहन्छ भने उनीहरुसँग सम्पर्क बढाउनुपर्छ र जापानमा राम्रो पूर्वाधार र अवस्था रहेको निश्चिन्त तुल्याउनु पर्छ ।’

सन् २०१९ मा लागू भएको कानुनको उद्देश्य पाँच वर्षभित्र ३ लाख ४५ हजार दक्ष कामदार जापानमा भित्र्याउने थियो । तर, सरकारी तथ्याङ्कअनुसार कोरोना महामारीका कारण उक्त योजनामा नराम्रोसँग धक्का लागेको हो ।

सन् २०२० को अन्त्यसम्म जापानले १७ लाख २० हजार विदेशी कामदारलाई भित्र्याएको थियो । जापानको कुल जनसंख्याको साढे २ प्रतिशतले मात्र कृषि र सरसफाइ क्षेत्रमा काम गर्छन् ।

टिप्पणीहरू