हिसाब निकाल्ने कमरेडहरुको हैरानी

हिसाब निकाल्ने कमरेडहरुको हैरानी

केपी ओलीले एमालेलाई विरोधीशून्य पार्टी बनाउन चाहेकोमा दुई मत छैन । तर, त्यसका लागि पनि कर्मकाण्ड नमिलाई हुँदैन । त्यसैले आसन्न दशौँ महाधिवेशनले उक्त पार्टीको वरिष्ठ उपाध्यक्षमा कसलाई ल्याउला ? निकै चासोसाथ हेरिएको विषय हो यो ।

जस्तो कि, घनश्याम भुसालपछि भीम रावलले पनि अध्यक्षमा दावेदारी पेश गरेका छन् । तर, यो समूहले कुल महाधिवेशन प्रतिनिधिको पाँचदेखि सात प्रतिशतको हिस्सा मात्रै ओगटेको छ । उनीहरूलाई भोट हाल्ने ठूलो जमात माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा छ । त्यसैले उनीहरूले दिने भनिएको उम्मेदवारी जित्नका लागि नभएर बार्गेनिङका लागि मात्रै हुन्छ भन्ने कुरामा कुनै द्विविधा छैन ।

घनश्यामले त चुपचाप बसेर केपीका चर्तिकला हेरिरहेका छन् । भीम रावलचाहिँ उम्मेदवारी नै घोषणा गरेर अगाडि बढेको स्थिति हो । पार्टी नफुट्दा सुदूरपश्चिम सर्लक्कै भीम रावलको भन्ने हिसाब गरिन्थ्यो । पार्टी फुट्यो । उनले माधव नेपाललाई छाडिदिए । अनुमान गरियो कि, अब माधव नेपाल सुदूरपश्चिममा शून्य हुने भए । तर, परिस्थिति ठीक उल्टो भयो । भीम रावलसँग संघीय संसद्बाट झपट रावल मात्रै भइदिए । प्रदेशमा पनि एक जना भए ।

बाँकी भीम रावलमार्फत माधव नेपाल पक्षीय भनिएका सबै माधवसँगै रहे, भीमसँग गएनन् । केपी ओली यतिबेला माधव नेपाललाई छाडेर आएका मान्छेका दुई विषयको हिसाब निकाल्दै छन् । एउटा हो, आएकामध्ये कोसँग कति मान्छे छन् ? अर्को हो, त्यो मान्छे आफूसँग कतिञ्जेल टिक्ला ? यी दुबै हिसाबमा भीम रावल फेल भइसकेका छन् । उनीसँग भएका भनिएका मान्छेजति सबै माधव नेपालको पार्टीमा छन् । पाइलापिच्छे विवादमा सामेल भएर ओलीसँग नटिक्ने छाँट देखाइसकेका छन् ।

अध्यक्षको उम्मेदवार हुन्छु भन्ने घुर्की लगाएपछि वरिष्ठ उपाध्यक्ष सुनिश्चित हुन्छ भन्ने उनको बुझाइ हो । केपी ओली भएर हेर्दा त्यो घुर्की त्यति कामलाग्दो छैन । किनभने, केपीका निम्ति सुदूरपश्चिममा भीम रावलभन्दा लेखराज भट्ट नै भरपर्दा हुन् । किनभने, लेखराजसँग भीमका भन्दा बढी मान्छे छन् । टिक्ने सन्दर्भमा उनीसँग माओवादी फर्किने बाटो बन्द भइसक्यो । माधव नेपालकहाँ जाँदैनन् । त्यसैले अहिले लेखराजलाई सचिव बनाएर पार्टीमा टिकाउने र वरिष्ठ उपाध्यक्ष बादललाई बनाइदिने । त्यसो गर्दा माओवादीबाट आएका मान्छे संरक्षित हुन्छन् र आफू बलियो हुन्छु भन्ने केपीको बुझाइ छ ।

ईश्वर पोखरेलको स्थिति पनि त्यही हो । छनलाई आजका भीम रावलभन्दा ईश्वर नै बलिया छन् । तर, ईश्वरलाई ‘वरिष्ठ’ बनाएर राख्नु भनेको एउटा तरबार आफ्नो घाँटीमुनि झुण्ड्याउनुझैँ हो, केपीका निम्ति । किनभने, फागुनमा केपी ७० वर्ष लागेको भोलिपल्टदेखि विधान झिक्दै अध्यक्ष माग्न थाल्ने खतरा रहन्छ । त्यसमाथि राष्ट्रपतिको कार्यकाल पूरा गरेर फर्किएपछि विद्या भण्डारीलाई पार्टी बुझाउने कुरामा झमेला आउन सक्छ । उनी माधव नेपालझैँ विद्रोहमा गइदिए भने अर्को समस्या ।

उपाध्यक्षमा १० बुँदे पक्षधरका तर्फबाट कि अष्टलक्ष्मी शाक्य कि युवराज ज्ञवाली लगिन्छन् भन्ने अनुमान गरिएको छ । पदाधिकारीमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसम्मलाई कतै–कतै समेटियो भने त्यसलाई धेरै ठूलो उपलब्धि मान्नुपर्ने अवस्था हुन्छ । नत्र, केपीले त्यति पनि दिँदैनन् ।

त्यस्तै, महासचिव हुने विष्णु पौडेल नै हुन् । गर्न त शंकर पोखरेलले महासचिवमा प्रचार थालिसकेका छन् । शंकरको यो प्रचारलाई ‘मार्केट ट्रायल’ का रूपमा अगाडि लगेको भनिँदै छ । प्रचारमा जाने र त्यसको रेस्पोन्स हेर्ने, अनि त्यसबाट नेतृत्वलाई दबाब सिर्जना गर्ने नियत लुकेको एक नेताले बताएका छन् ।

त्यसैले शंकर हुने भनेको उपमहासचिव र ‘वेटिङ महासचिव’ नै हो । वा, विद्या भण्डारीको राष्ट्रपतिको कार्यकाल सकिएर फर्किएपछि उनलाई पार्टी अध्यक्ष बनाइँदा विष्णु पौडेललाई विधान संशोधन गर्दै उपाध्यक्षमा लगेर शंकर पोखरेललाई महासचिव बनाइन सकिन्छ । उपमहासचिवमा सुरेन्द्र पाण्डे, योगेश, गोकर्ण टाइपका मान्छेलाई लैजानुभन्दा केपीका निम्ति लेखराज भट्ट बनाउनु फाइदा छ । गोकर्ण आफ्नै जिल्ला गुल्मीबाट तीन प्रतिनिधिसहितका नेता मात्रै हुन् । योगेशसँग देशभरिबाट ५० जना प्रतिनिधि जाँदै छन् । सुरेन्द्र पाण्डेलाई चितवनेले नै साथ दिन्छन् कि दिँदैनन् भन्ने द्विविधा छ ।

अर्को बेहाल छ, केन्द्रीय सदस्यमा । अहिलेसम्म पाँच सयभन्दा बढी आकांक्षी छन् । खुलातर्फ केन्द्रीय सदस्य हुने अवसर ६५–६६ जनासँग मात्रै छ । महिला, आदिवासी–जनजाति, मुस्लिम, थारु, मधेसी, अल्पसंख्यक, पिछडिएको क्षेत्रबाट थप त्यति नै केन्द्रीय सदस्य हुनुपर्ने वैधानिक व्यवस्था छ ।

त्यसैले १० बुँदे पक्षधर विष्णु रिजाल टाइपका मान्छेहरूमा अहिले देखिएको केपीभक्तिको कारण हो, उनलाई गाली गरेर सय–डेढ सय भोटमा खुम्चिनुभन्दा उनको भक्ति गाए झण्डैझण्डै चुनावै जितिन्छ † उनीहरू आफू बन्ने भएपछि सुनिता बराल भए पनि मान्ने, कोमल वली बनाए पनि मान्ने स्थितिमा छन् । अर्थात्, हिजो पुस ५ पछि जमजमाएर प्रतिगमनविरुद्धको आन्दोलन रन्काएका हिरोहरू आज भिजेको बिरालोझैँ लगलग काम्दै एमालेमा बसेका छन्, निरीहताको हद त्यहाँसम्म पुगेको छ ।

टिप्पणीहरू