कोमल वली छान्दा कचिंगल

कोमल वली छान्दा कचिंगल

गायिका कोमल वलीलाई एमाले महाधिवेशन प्रतिनिधिका रुपमा छानिएको दाङमा उनीजस्ता अरु विवादित पात्र पनि छनोटमा परेका छन् ।

त्यहाँ सर्वसम्मत प्रतिनिधि चयन गर्ने नाममा हत्याको आरोप लागेका, भर्खरै अर्को पार्टीबाट आएका र पार्टी बदलिरहनेहरूलाई पनि छनोट गरिएको भन्दै विवाद बढेको हो । १३ हजार पाँच सय ३४ पार्टी सदस्यको अभिलेख छ । त्यसमा एकीकृत समाजवादीमा गएकाहरुको पनि हिसाब छ । तीमध्ये दलित तीन, महिला सात र अन्य प्रतिनिधि खुलाबाट गरेर २५ जना छनोट गर्नुपर्ने थियो ।

क्षेत्र नम्बर १ बाट पुराना नेता प्रदेश सांसदसमेत रहेका रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र घोराही उपमहानगरपालिका–१ का अध्यक्षसमेत रहेका राममणि पाण्डेलाई छनोट गरियो । क्षेत्र नम्बर १ बाट महिला प्रतिनिधिका रूपमा सांसद गंगा चौधरी र प्रदेश सांसद सरस्वती गौतमलाई छनोट गरियो । थरुहटबाट नयाँ शक्ति हुँदै नेकपा एमालेमा आएकी गंगा चौधरीको पार्टीगत हैसियत प्रदेश कमिटी सदस्य हो । गत निर्वाचनमा एमालेबाट समानुमातिक सांसदका रूपमा गंगा चौधरीको नाम परेको थियो । जिल्लाको राजनीतिमा कहिल्यै कुनै भूमिकामा नरहेकी चौधरी प्रतिनिधिका रूपमा आएपछि विवाद देखिएको छ ।

यता, सबैभन्दा धेरै विवादित क्षेत्र नम्बर २ छ । जुन महासचिवका लागि प्रचारित शंकर पोखरेलको क्षेत्र हो । बलिभद्र राना जो लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापाको हत्याका कारकका रूपमा आरोपित रहँदै आएका छन् । ०६२ साल माघ २६ गतेका दिन कथित स्थानीय निकाय निर्वाचनमा घोराही नगरपालिकाको मेयरका रूपमा उम्मेदवार थिए । त्यही दिन उमेशचन्द्र थापाको हत्या भएको थियो । उमेशचन्द्र थापाको हत्याका कारक भनेर आरोपित राना केही समयअघिसम्म राप्रपामा थिए । त्यसपछि केही समय नेपाली कांग्रेसमा लागे ।

०७४ सालको निर्वाचनअघि नेकपा एमालेमा प्रवेश गरेका थिए । ०७४ सालको निर्वाचनमा शंकर पोखरेललाई सहयोेग गर्ने बचनबद्धता गरेपछि प्रदेशको समानुपातिक सांसदमा पहिलो नम्बरमा उनको नाम थियो । महिला मात्रै समानुपातिकमा परेपछि उनको नाम परेन । त्यतिवेला पार्टीको निकै ठूलो विरोध भएको थियो । नेकपाको गठनपछि उनलाई प्रदेश कमिटीमा लगियो । अहिले महाधिवेशन प्रतिनिधि बनाइएको छ । जिल्लामा विवादित पात्रका रूपमा रहेका राना निर्माण व्यवसायीका रूपमा रहेका छन् । उनको नाम कसरी प¥यो भन्नेमा जिल्लाका सबै त्यागी नेता–कार्यकर्ता अचम्ममा परेका छन् ।

यस्तै, यो क्षेत्रबाट पार्टी अध्यक्ष टीकाराम खड्का, पूर्वअध्यक्ष लक्ष्मण आचार्य र पुराना नेता टोपेन्द्र केसी पनि प्रतिनिधिका रूपमा परेका छन् । ०५४ सालको स्थानीय निर्वाचनमा काभ्रे गाविसको अध्यक्षमा कांग्रेसबाट निर्वाचन जितेका भेषराज खत्रीलाई पनि प्रतिनिधि बनाइएको छ । केही महिनाअघि मात्रै एमालेमा प्रवेश गरेका खत्रीलाई प्रतिनिधि बनाएपछि वर्षौंदेखि पार्टीमा खटिरहेका नेताहरू रुष्ट भएका छन् । यस्तै, यो क्षेत्रबाट नेकपा माले हुँदै परी थापाको पार्टीबाट एमालेमा प्रवेश गरेकी तुलसा केसी र हुमा डिसीलाई प्रतिनिधिका रूपमा छनोट गरिएको छ । यस क्षेत्रबाट घोराहीकी उपप्रमुख सीता सिग्देल न्यौपाने, हीरा पुनलगायतलाई पाखा लगाइएको छ ।

यस्तै, केही वर्षअघिसम्म राप्रपाको केन्द्रीय सदस्यका रूपमा रहेकी कोमल वलीको नाम पनि प्रतिनिधिका रूपमा परेको छ । उनले ०७४ को निर्वाचनमा क्षेत्र नं. ३ को उम्मेदवार बन्न नपाएपछि बागी उम्मेदवारी दिएकी थिइन् । पछि शंकर पोखरेलले सम्झाएपछि पत्रकार सम्मेलन गर्दै बागी फिर्ता गरेकी थिइन् । पछि उनलाई राष्ट्रिय सभामा लगियो । माओवादीसँग एकतापछि एमालेमै रहेका रामजी चौधरीलाई पनि प्रतिनिधि बनाइएको छ ।

टिप्पणीहरू