एकपटक फेरि माधव नेपालका नाममा « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

एकपटक फेरि माधव नेपालका नाममा

प्रकाशित मिति :  ३ मंसिर २०७८, शुक्रबार १७:००


केपी शर्मा ओलीले पोहोर पुस ५ मा संसद् विघटन गरेपछि संविधान जोगाउन भनेर हामीले ६७ दिन आन्दोलन ग-यौं । त्यसका दुःखहरू अलिकति बेसाऔं ।

गाउँमा मान्छे भेला पारेर, गाडी–घोडा खोज्दै ८२ किमि टाढा काठमाडौं पुग्नुपथ्र्यो । ल्याएका जतिलाई भरपेट खुवाउनै पथ्र्यो । राजमार्गका होटलमा चिकेन भए २ सय ५०, मटन भए ३ सयले खाना पाइन्छ । आन्दोलन गर्न ल्याइएका मान्छेलाई मासुभन्दा मुन्तिर अर्थोक खुवाउन पनि भएन । आलु र साग खाएर आन्दोलन चल्ने जमाना अहिले होइन । त्यसमाथि आदिवासी, जनजाति समुदायका साथीले ‘टुच्च लाऔँ’ भन्दिए बाहुन–क्षेत्रीलाई सजिलो ! किनभने, बढी चाहिने त बाहुनहरूलाई नै हो !

महँगो भात किनेर खानुभन्दा थानकोटको त्रिभुवन पार्कमा ढुंगाको चुलो बनायौँ । १० किलो चिकेन भुटेर त्यसैमा झोल हाल्यौँँ । अर्को चुलोमा भात पाक्यो । हिसाब निकाल्दा सय जनाले ७५ रूपैयाँको दरले मासु–भात खाइएछ, होटललाई २ सय ५० तिर्नुपरेन । भात पो सक्थ्यौँ र पकाएर खायौँ । गाडी न हाम्रा बाबु, बाजेले कमाइदिएका थिए, न भात पकाएजस्तो गाडी बनाउनै सक्थ्यौँ । त्यसैले भाडामा गाडी ल्यायौँ ।

आइसकेपछि काठमाडौंमा एक रात बास बस्नै प-यो । साहुका घरमा भाडा लाग्छ, प्रतिकोठा हजारले । अनि, रातभरिका लागि पार्टी प्यालेस बुक ग-यो, हलभित्र बोरा बिच्छाएर ओछ्यान बनायो, सुत्यो । महिलालाई अर्को हलतिर पठायो । यति गर्दा पनि पाँच–सात वटा लाखका ऋण मजस्तो मामुली लेखिखाने मान्छेको थाप्लोमा छ । बस भाडाहरू तिर्नै बाँकी छ । पार्टी प्यालेसका उधारो बाँकी नै छन् ।

आन्दोलन गर्दागर्दै अदालतले हामीलाई एमालेमै, माओवादीलाई त्यतै जाऊ भनिदियो । मजस्ताका लागि देश, राजनीतिभन्दा ठूलो चिन्ता ऋणकै भयो । आधा–आधा तिर्ने भनेर माओवादीसँग सल्लाह गरेर हेटौंडाबाट हिँडेको, फर्किंदा आधी बाटोमै पार्टी अलग–अलग भइदियो । गाडीको साहु घरी मसँग पैसा माग्छ, घरी माओवादीसँग । म भन्छु, ‘त्यसले दिन्छ †’ ऊ भन्छ, ‘मैले बुक ग-या कि उसले ?’ ती साहु आजसम्म ‘ट्वाँ’ को ‘ट्वा’ नै छन् !

त्यही आन्दोलनमा उद्घोषण, अध्यक्षता, स्वागत भाषण गर्नेहरू आज हामीसँग छैनन् । उनीहरू केपी ओलीको देवत्वकरणमा वक्तृत्वकला गरिरहेका छन् । अरु त अरु, योगेश भट्टराई, विष्णु रिजालहरूले गुरु भट्टराईलाई माथ खुवाएको देखेर निरु पाल, नविना लामा, सुनिता बरालसम्मले अचम्म मान्दै छन् ।

हामीले उठाएको वर्गीय मुद्दा कहाँ पुग्यो ? नेकपाकालीन दुई अध्यक्षको कुर्सी देखेर वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुहुन्थ्यो, ‘म भए प्रचण्डजीजसरी सहेर बस्दिनथेँ ।’ हो, माक्र्स, लेनिन, मदनका तस्बिर हटाएर आज पानीका बोतलमा अध्यक्षको तस्बिर र पुत्लासँग सेल्फी लिनु नै जबज हो भनेर पुष्टि गरिएको छ । भएको सत्ता खरानी पारेर एक्लै बहुमतको सपनामा सुकला हुँदै भित्रभित्रचाहिँ माधव प्रचण्डलाई गठबन्धनबाट हटाउन निवेदन दिने काम भइरहेको छ । कम्युनिष्ट फुटेर बहुमतमा पुग्ने योजनाको कांग्रेस एमालेसँग मिलेर माधव–प्रचण्ड हराउन लाग्लान् भन्ने कस्तो अल्पबुद्धि जबजमा हुर्काइएको छ ?

नेकपा एमालेको नवौँ महाधिवेशनमा माधव नेपाल र उहाँको पक्षधरलाई जुन हुर्मत लिइएको थियो, ८ वर्षपछि सुरेन्द्र पाण्डे त्यो समूहमा वरीयता खोज्दै ओलीबाहेक अरु पदमा चुनाव हुने बताउनु हुन्छ । अष्टलक्ष्मीले ७२ दिन मुख्यमन्त्री खाएर ओलीजस्तो ‘खासै म पदको भोको होइन’ भनेर विगतका गाली खण्डन गरिसक्नुभयो । योगेश भट्टराई राष्ट्रपिताकै लाइनमा महेश बस्नेतसँग स्वर मिसाइरहनुभएको छ । युवराज ज्ञवाली कृपामा पाइए कतै सुरक्षित हुन इच्छुक हुनुहुन्छ । गोकर्ण विष्ट गुल्मीबाट २ प्रतिनिधिसहित महाधिवेशनमा होमिनुभएको छ ।

भीम रावल र घनश्याम भुसाल अध्यक्ष उठेर एमालेमा नरहरि आचार्य हुने कि नहुने भन्नेमा हुनुहुन्छ । अनि ओली पक्षधरचाहिँ मकवानपुरमा पनि २ प्रतिनिधि गुल्मीमा गोकर्ण विष्टलाई दिए झैँ टोपबहादुर रायमाझीहरूलाई दिएर खुशी पार्दै छन् । लाग्छ, कुनै एउटा नेतालाई टपक्क टिपेर ओलीले बाँकी ९ जनालाई निरीह पारिदिन्छन् । जसरी अष्टलक्ष्मी शाक्य बोलाएर राजेन्द्र पाण्डे तपाईंलाई मुख्यमन्त्री दिन मानेनन् भनिन्थ्यो अनि पाण्डेलाई बोलाएर अष्टले हुन्न भन्नुभयो भनेर उचालपछारको बौछारमा रमाउने काम हुन्थ्यो । नेताहरू ओली खराब भन्दाभन्दै ओलीले कहिले बोलाउलान् र माधव नेपालले थाहा नपाउने गरी जाउँलाझैँ हुन्थे ।

नेकपा (एकीकृत समाजवादी) गठन भएपछि सत्ता उलटपुलट भए । केपी ओलीले कारबाही गरेका एमालेका १३ सांसदका सहारामा आज माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी, उपेन्द्र यादवलाई एउटै घरमा मिलाइदिए । प्रचण्डसँग कुम जोडेर माधव नेपाललाई सिध्याउने नाममा वडादेखि राष्ट्रिय सभासम्म मटियामेट पार्ने काममा ओलीले लगाएको ७ वर्ष नेपालले ७ हप्तामै विफल पारिदिए ।

अझ झलनाथ खनाल उपचार क्रममा नेपालबाहिर रहनुभयो । भीम रावल, अष्टलक्ष्मी, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईहरू पनि पार्टी प्यालेसको उधारो माधव नेपालको नाममा पारेर हिँडे । घनश्यामजतिको नेताले भन्नुभयो, ‘माधवजीलाई लागुऔषध खुवाएर लठ्याएका थिएनौँ ।’

यसो भनिरहँदा नेकपा (एकीकृत समाजवादी) का केही नेताको काम पनि ओलीजस्तै कुराले च्युरा भिजाउनेमा व्यस्त देखिन्छ । कूटनीतिक, रणनीतिक, क्रियान्वयन र संगठन निर्माण नै नयाँ कार्यभार हो । मेरो कुर्सी हेरे कुर्सी नै भाँचिदिन्छु भन्ने केपी ओली, पदका लोभी माधव नेपाल भनेर गरिएका चर्चा खण्डन गर्दै संघर्ष र संगठन निर्माणमा जोड हो ।

जस्तो डडेलधुराका डा. तारा जोशी शुरुदेखि माधव नेपालको पक्षमा हुनुहुन्थ्यो, घनश्याम र योगेशको जोडबलले केही दिन १० बुँदेको दासप्रथामा अडिनुभयो । फाइदा के भयो भने सिंगो पार्टीसहित समाजवादी यात्रामा जोडिनुभयो । केही समय संघर्ष भयो होला, त्यहाँ कोही छैन भन्दा ठीकै छ । जुन घटनाक्रमका एउटा घटक घनश्याम र योगेश लागुऔषध र अवैध सन्तान भन्दै गुरु भट्टराई हुन थाल्नुभयो, थुप्रै तारा जोशीहरू त्यहाँ रहन हम्मे भयो । कतै ओलीजस्तै छुद्र बोलेँ कि भन्ने महसुस गर्नु पर्नेमा उल्टै घुँडामुनि हानेको टाउको दुखेछ भन्ने योगेश ट्विटले भन्छ, जेलमा केपी ओलीले लगाइदिएको तेलको भारा यही जुनीमा तिर्न उनी आतुर छन् ।

स्यालहुइँयामा अत्यन्त विश्वास राख्ने अराजक जमात यतिखेर सशक्त बनेको छ । बिहान भन्छ, यो गठबन्धन ढालिन्छ, बेलुका भन्छ, भोलि फेरि मिल्नुपर्छ । उही भन्छ, चुनावसम्म यिनीहरूलाई छुट्टा–भिन्न पारिन्छ । हामी मिल्छौँ, जुन पार्टी सत्तामा छ, फुटको फाइदामा पहिलो पार्टी हुने रहरले सिंगारिएर चुनावी काउकुतीले मस्त छ, अनि प्रतिपक्षीका नाममा माधव नेपाल आउने बैठकमा आउँदिनँ भन्छ । अनि त्यही माधव नेपालको साथले यहाँ पुगेको पार्टी के घनश्याम भुसालले भनेजस्तै लागुऔषध खाएर एमालेसँग चुनावमा मिल्न जाला र ?

माधव, प्रचण्ड, देउवा कति इमान्दार छन् भन्ने कुरा कर्णाली, बागमती र प्रदेश १ सरकार काफी छैनन् र ? ओलीले हटाएका १३ सांसदलाई देउवाले दुई प्रदेश प्रमुख, दुई मुख्यमन्त्री, ४ संघीय मन्त्री दिँदा ओलीले यो सात वर्षमा माधव नेपाल पक्षको कसरी हुर्मत लिए ? ज–जसलाई अवसर दिए, ती माधव नेपाल छाडेर लोभीपापी करार भएकै छन् त । कसरी मिल्छ एमाले–कांग्रेस ? फेरि के भनेर मिल्ने पुत्ला पार्टी र समाजवादी । के जनता घनश्याम भुसालले भनेजस्तै सधैँ लागुऔषधमा ‘रिनिनिनी’ भएर बसेका होलान् र ?

आफू कालकुट विष पिएर पनि व्यवस्था टिकाउन, सत्ताको कल्पनै नगरेको कांग्रेसलाई व्यवस्थापन गर्न अनि कागज गर्दा पनि पद नपाएर भाउँतिन परेको प्रचण्डलाई हैसियत फिर्ता गर्ने काममा सफल माधव नेपाललाई पदका लोभीभन्दा लाज हुन्न ? एउटै कक्षा दोहो-याएर पढ्दिनँ भन्ने को ?

यसपटकको महाधिवेशनले दिने जवाफमा यो कुरा समेटिएला ?

 


प्रतिक्रिया दिनुहोस !