न्यायाधीशहरु इजलासमा बस्ने तरखरमा, सबै खाले मुद्दाको पेसी तोकियो

न्यायाधीशहरु इजलासमा बस्ने तरखरमा, सबै खाले मुद्दाको पेसी तोकियो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज सर्वोच्च अदालतमा १० वटा इजलास तोक्नुभएको छ । तर आफ्ना लागि कुनै पनि इजलास तोकिएको छैन । तीन सातादेखि विद्रोहमा उत्रिएका डेढ दर्जन न्यायाधीशहरु पनि आजदेखि नियमित रुपमा इजलासमा फर्कने अवस्था बनेको छ । आज नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको छ ।

हिजो बसेको फुलकोर्ट बैठकले सर्वोच्च अदालत नियमावली र त्यसअनुसारको निर्देशिका संशोधनको प्रस्ताव पारित गरेसँगै न्यायाधीशहरु इजलाशमा फर्कन तयार भएका हुन् ।

हिजो प्रधानन्यायधीश राणासमक्ष र तयसपछि कानुन न्याय तथा संसदीय मन्त्रालय हुँदै राजपत्रमा सूचना प्रकाशित भएलगतै निर्देशिका र नियमावली कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ । उक्त प्रणाली लागू भएपछि पेसी तोक्ने प्रधानन्यायाधीशको हालसम्को विशेषाधिकारको औपचारिक रुपमा अन्त्य हुनेछ ।

सर्वोच्चमा उपलव्ध १८ न्यायाधीशबीच आजबाट आंशिक मात्र मुद्दा हेर्ने तर प्रधानन्यायाधीश जबरासँग इजलासमा नबस्ने हिजो नै समझदारी भएको हो ।

यसअघि बन्दी प्रत्यक्षीकरणको मात्र मुद्दा हेर्दै आएका न्यायाधीशहरुले आज अन्य मुद्दा पनि हेर्ने भएका हुन । जसमध्ये मुद्दा फिर्ता, संशोधन, मिलापत्र, तामेली जस्ता मुद्दाहरूको सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

आजका लागि न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा १४ वटा, मीरा खडका र सुष्मालता माथेमाको इजलासमा पनि १४ वटै मुद्दा पेसीका लागि चढेका छन् ।

सर्वोच्चको पेसी सूचीअनुसार न्यायाधीशहरु हरिकृष्ण कार्की र हरि फुयाँलको संयुक्त इजलासमा १८ वटा, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १७ वटा, आनन्दमोहन भट्टराई र कुमार रेग्मीका इजलासमा १८ वटा मुद्दा पेसीका लागि चढेका छन् ।
यस्तै सर्वोच्चको दैनिक पेसी सूचीअनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासमा १७ वटा मुद्दा पेशीमा रहेका छन् । यस्तै नहकुल सुवेदीको एकल इजलासमा भने ६ वटा मुद्दा पेशीमा चढेका छन् ।

टिप्पणीहरू