शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने राजनीतिक दस्तावेज पारित गर्दै परिवार दल

शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने राजनीतिक दस्तावेज पारित गर्दै परिवार दल

नेपाल परिवार दल शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको पक्षमा उभिएको छ । मंसिर ४ र ५ गते काठमाडौँमा हुने पार्टीको तेस्रो महाधिवेशनमा विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनसहितको राजनीतिक दस्तावेज पेश हुने सो पार्टीका अध्यक्ष एकनाथ ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार हालको संसदीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र मिश्रित निर्वाचन प्रणाली फेरेर पूर्णसमानुपातिक प्रणालीमा जानुपर्ने प्रस्तावसहितको राजनीतिक दस्तावेज महाधिवेशनले दस्तावेज पारित गर्ने छ ।

महाधिवेशनको तयारीबारे अध्यक्ष ढकालले संविधान सुधार आयोग गठनलगायतका विषयलाई पनि महाधिवेशनले पारित गर्ने जानकारी दिए । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न, संविधानलाई सर्वस्वीकार्य बनाउन तथा उत्पीडित समुदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक सुधारका लागि एक संविधान सुधार सिफारिस आयोग गठन गर्ने प्रस्ताव महाधिवेशनले पारित गर्न सक्ने ढकालको भनाइ छ ।

ढकालका अनुसार राष्ट्रिय महाधिवेशनमा देशभरबाट चुनिएका १५ सय प्रतिनिधिमध्ये सात सय बढीले भौतिक रुपमा र बाँकीले भर्चुअल सहभागिता जनाउने छन् । त्यस्तै, एक सय जना पर्यवेक्षक, छिमेकी राष्ट्रका ५ जना विशिष्ट अतिथिसमेत गरि बंगलादेश, थाइल्याण्डलगायतका देशबाट पनि अतिथि महाधिवेशनमा आउने छन् ।

त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, दक्षिण अमेरिका, युरोप, अफ्रिका र मध्यपूर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियोमार्फत शुभकामना दिने बताइएको छ । महाधिवेशनमा निर्वाचन आयोगमा दर्ता भएका सम्पूर्ण राजनीतिक दललाई आमन्त्रण गरिएको अध्यक्ष ढकालले बताए ।

जानकारी गराइएअनुसार सफलतापूर्वक महाधिवेशन सम्पन्न गर्न विभिन्न १५ समितिहरु गठन गरिएका छन् । पार्टीको भातृ संगठन पिस फोर्सका दुई सय युवाहरुले स्वयंसेवकका रुपमा काम गर्ने छन् । विभिन्न ४ राष्ट्रिय टेलिभिजनद्वारा लाइभ गरिने छ । उद्घाटन सत्र र बन्दसत्र प्रज्ञा भवन कमलादीमा र घोषणासभा क्राउन प्याजा होटल नक्सालमा हुनेछ ।

महाधिवेशनमा अधिकांश कार्यकर्ता र शुभेच्छुकहरु आ–आफ्नो सांस्कृतिक पहिरनमा आउने पनि जानकारी गराइएको छ । त्यस्तै, प्रतिनिधिको बासको लागि काठमाडौंमा १५ वटा होटल बुकिङ्ग गरिएको छ ।

टिप्पणीहरू