प्रधानमन्त्रीविरुद्ध गृहजिल्लाका काँग्रेस सभापतिको अनसन (भिडियो सहित )

प्रधानमन्त्रीविरुद्ध गृहजिल्लाका काँग्रेस सभापतिको अनसन (भिडियो सहित )

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रारम्भिक प्रक्रिया भइरहेको छ । पटक–पटक सर्दै आएको पार्टीको महाधिवेशन शुरु भए पनि क्रियाशील सदस्यता छानबिनलगायतका विवाद पार्टीभित्र अझै ज्युँको त्युँ कायम छ । काँग्रेसले केही दिन अगाडि मात्र क्रियाशील सदस्यता छानबिन विवाद टुंगो लागेको बताए पनि चार महिनादेखि पार्टी कार्यालयमा रौतहटका काँगे्रसीले गर्दै आएको धर्ना भने कायम छ ।

काँग्रेसले सदस्यता छानबिन विवाद टुंगो लागेको बताएको भोलिपल्टै अधिवेशन नै अवैधानिक रहेको बताउँदै विभिन्न जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी, धर्ना, अनसनलगायतका बिरोध शुरु भएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको लाचारीपनका कारण आफूहरुले दुःख पाउँदै आएको बताएका काँग्रेस कार्यकर्ताहरुले बाध्य भएर केन्द्रसम्म धाउनुपरेको गुनासा सुनाएका छन् ।

सभापति देउवाको गृहजिल्लामा सम्पन्न भएका अधिवेशन पनि अबैध भएको बताउँदै काँग्रेसको डडेलधुरा जिल्ला कार्यसमिति समेत बिरोधमा उत्रिएको छ । देउवाले जिल्लाका ४ सय ६० जनाको क्रियाशील सदस्यता कटौती गरेको र ३ सय १२ जनाको वडाको सिफारिसबिना सोझै केन्द्रबाट सदस्यता वितरण गरेको भन्दै काँग्रेस डढेलधुराले बिरोध गर्दै आएको छ ।

जिल्लामा केही समयअघि भएका र हुँदै गरेका अधिवेशनहरु समेत एक्लौटी रुपमा सम्पन्न भएको आरोप लागेको छ । सभापति तथा प्रधानमन्त्री पक्षले अधिवेशनमा प्रहरी हस्तक्षेपसमेत गराएको भन्दै सिङ्गो काँग्रेस डडेलधुराले जिल्लामा पुनः अधिवेशनको माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोदेखि अनसनका कार्यक्रमहरु थालेको छ ।

पहिले दवाबस्वरुप जिल्लामै अनसन गरेको तर त्यसतर्फ पार्टीको ध्यान नगएकाले आफूहरु केन्द्रीय कार्यालयसम्म आउन बाध्य भएको डढेलधुराका काँग्रेसी कार्यकर्ताहरुले बताएका छन् । सभापति देउवालाई १० औं महाधिवेशनबाट हालसम्म आइपुग्दा सँधै सहयोग गरेको बताउँदै काँग्रेस डढेलधुराका सभापति कर्णबहादुर मल्लले देउवाले जनविश्वासको कदर नगरेको बताएका छन् ।

उनले देउवाले आफ्ना नातागोतालाई केन्द्रबाटै सदस्यता वितरण गरेको र निरन्तररुपमा खटिएका पुराना कार्यकर्ताहरुको सदस्यता रद्द गरेको गम्भीर आरोप लगाएका छन् । देउवाका कारणले समग्र काँग्रेसले दुःख पाएको बताएका मल्लले पार्टीका अन्य नेता कार्यकर्ताहरुले समेत आश्वासन मात्र दिएको दुःखेसो पोखेका छन् ।

काँग्रेसमा जारी सदस्यता विवाद करिब चार महिनादेखि जस्ताको तस्तै रहेको छ । मल्लले पार्टी केन्द्रीय कार्यालयभित्र अन्य जिल्लाको धर्ना जारी रहनु र आफूहरुले समेत केन्द्रसम्म धाउनुमा देउवा नै दोषी रहेको आरोप लगाएका छन् ।

यस्तै, अनसनमा उपस्थितहरुले केन्द्रबाट वितरित ३ सय १२ सदस्यता खारेजी, जिल्लामा खारेज भएका ४ सय ६० जना सदस्यको पुनर्बहाली, एकलौटीरुपमा भएको अधिवेशन पुनः गर्नुपर्ने माग राखेका छन् । उनीहरुले माग पूरा नहुन्जेलसम्म पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा अनसनका कार्यक्रम गर्ने बताएका छन् । ‘माग पूरा नभए महाधिवेशनको अन्त्यसम्म भए पनि आफूहरुले अनसन गरेरै छाड्ने बताएका छन्,’ उनीहरुले अनसनको रोडम्याप उल्लेख गर्दै भने ।

टिप्पणीहरू