अनावश्यक बल प्रयोग नगरियोस् : मानवअधिकार आयोग

अनावश्यक बल प्रयोग नगरियोस् : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतमा आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न भनेको छ । आयोगले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न विज्ञप्तिमार्फत् अनुरोध गरेको हो ।

‘कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको,’ उल्लेख गर्दै आयोगले विज्ञप्तिमा लेखेको छ, ‘शान्तिपूर्ण आन्दोनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोग सरकारलाई आग्रह गर्दछ ।’संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सुनिश्चितता गरेकोतर्फ पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ ।

बार एसोसिएसनको नेतृत्वमा भएको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको बताउदै आज भएको घटनाको स्थलगत अनुगमन गरिएको जनाएको छ । उसले भनेको छ, ‘घाइते वकिलहरूको अवस्था समेत बुझ्न आयोग अन्नपूर्ण न्यूरो अस्पताल पुग्यो ।’

टिप्पणीहरू