कहिलेसम्म आगो बालिरहने श्रीमान् ! « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

कहिलेसम्म आगो बालिरहने श्रीमान् !

प्रकाशित मिति :  ९ श्रावण २०७५, बुधबार १५:१२


  • तीर्थ सिग्देल

गिरिजाप्रसाद कोइराला प्रायः ग्य्राण्ड डिजाइनको कुरा गर्थे । जतिबेला नेपालका राजनीतिक दल राजाको ‘कू’ विरुद्ध सडकमा थिए, त्यतिबेला उनले निकालेको ग्य्राण्ड डिजाइन शब्दले मुलुक तताएको थियो । बित्ने बेलासम्म त्यो डिजाइन के हो ? र, कस्तो थियो भनेर खोल्न भ्याएनन् । तर, धेरैले मुलुकविरुद्ध कसैले गरिरहेको षड्यन्त्र हो भन्नेचाहिँ बुझेका थिए । 

अहिले मुलुकमा धेरै परिवर्तन आएको छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्मको अभ्यास गरिरहँदा आज पनि हामी कुनै न कुनै खाले संकट व्यहोरिरहेका छौं । आन्दोलन र कुनै न कुनै मागका नाममा खेलोमेलोको आभाष पाइरहेका छौं । 

प्रश्न गोविन्द केसीको पक्षमा उर्लेको आन्दोलनको मात्र होइन, हामी नेपालीको सोचको पनि हो । मूलतः आज हामीमा कायम रहेको विद्रोह भाव र शरीरमा फैलिएको संघर्षको चेत मूल कुरा हो । जस्तो शरीरमा निकोटिनको मात्रा बढेपछि त्यो तत्कालै कम हुँदैन, यो चेत पनि तुरुन्तै हट्दैन । हिजो हामीले विद्रोह रोप्यौं, विग्रह फलायौं, द्वन्द्वलाई प्रश्रय दियौं, हिंसालाई बढावा दियौं, अनि आज ‘शान्ति, शान्ति !’ भनेर कराउँदैछौं । यो कसरी सम्भव छ ?

जनता आफ्नो पक्षमा छन् भनेर देखाउन गरिने बेलाबेलाका टेस्ट जनतामा त्यही आन्दोलनको निकोटिन भर्ने काम मात्र भएको छ । नत्र एउटा टेलिभिजन प्रस्तोताले तीन करोड जनता मेरो पक्षमा छन् भनेर किन त्यत्रो आँट गर्थे र अहिले गोविन्द केसीका समर्थकले पनि ३ करोड नै जनता हाम्रा पक्षमा छन् भनेर नारा लगाउँथे ? 

यतिबेला नेपालीमा जबरजस्त हुर्काइएको विद्रोहको रापलाई फेरि उपयोग गर्न थालिएको छ । सशस्त्र द्वन्द्वमा रोपिएको विद्रोहबाट मात्र परिवर्तन हुन्छ र क्रान्तिबाट नै परिणाम प्राप्त हुन्छ भन्ने कुराको बीउलाई बेलाबेला उमारिँदै छ यहाँ । चाहे त्यो सत्ताविरोधी भावका रूपमा होस् या पपुलिस्ट नाराको पक्षमा । अचानक उदाउने र फुत्त चर्चित बन्ने प्रवृत्तिले घर गरिरहुञ्जेल यस्तै हो । आज नेपालीलाई व्याप्त निराशा र पलायनको डरले बढी मात्रामा विद्रोही मात्र बनाएको छैन, चर्को स्वरमा नकारात्मक कुरा गर्नेहरू नै ठीक हुन् भन्ने भावना पलाएको छ । त्यो व्यक्ति कुनै दिन के थियो र विगत के हो बुझ्नेभन्दा पनि वर्तमानमा रमाउने र क्षणिक विषयमा सडक तताउने कुराले घर गरिरहेको छ ।

मुलुकको समग्र पक्षमा सुधारको खाँचो छ । पुनःसंरचना आवश्यक छ । त्यसका लागि बलियो सरकार चाहिन्छ । सरकार मात्र बलियो भएर पुग्दैन, जनता पनि जिम्मेवार र प्रतिबद्ध हुनु जरुरी छ । चुनावी परिणामले देखाएको संकेतले स्थायी सरकारको परिकल्पना ग¥यो तर हामीमा हुर्केको समयचेतलाई सही काममा लगाउन सकिएन । विगतमा अरूकै भर परेर आसै आसमा जिन्दगी बिताउने र पछि परिणाम अरू नै प्राप्त भएपछि हिस्स पर्ने नेपालीपनलाई पनि नजिकबाटै देखिएको हो । आफूनिकट दल र त्यसका नेताले जे गर्दा पनि सही लाग्ने र अरूले सही कुरा गर्दासमेत बैरी देख्ने आमप्रचलनले मुलुक बन्दैन । 

चाहे ती मेडिकल माफियाको उपाधि पाएका दुर्गा प्रसाईं हुन्, चाहे आँखा नदेखे पनि संसारै देख्ने रमेश प्रसाईं, चाहे बेला–बेला विवादमा पर्ने दिलनिशानी मगर वा मुुकुन्दे नै किन नहुन्, ती सबैका कुरा कुनै न कुनै रूपमा पपुलिस्ट छन् । 

एउटा हितका लागि जब श्रीमान्हरू सडकमा आउन सक्छन् । गगन थापाहरूको त पेसै राजनीति हो । जसले जे पेशा र व्यवसाय गरेको छ, उसले आफ्नै कामलाई प्यारो ठान्छ । आज राजनीति विकृत भन्ने तर आफंै त्यही राजनीतिको पर्याय बन्ने ? यसखाले अभ्यास लामो भयो । हामी मेडिकल शिक्षाको चिन्ता गरिरहेका छौं, यो त सीमितहरूको मात्र विषय हो । समग्र शिक्षा प्रणाली सुधारका लागि को आन्दोलनमा छ ? यहाँ मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने कुरा पनि उठेको छ तर खोइ वर्षौंदेखि निजी विद्यालयले लिएको महँगो फिसको कुरा उठेको ? हाम्रा सम्पूर्ण उद्योगधन्दा, कलकारखाना निजीकरण गरिए, तिनलाई फर्काउन पहल भएको खोइ ? हजारौं बिघा चिया बगान निजीकरणका नाममा कौडीका भाउमा बेचियो, खोइ त्यसको कुरा गरेको ? 

खोइ त श्रीमान्, यस्ता कुरामा आगो बालेको ? खोइ यस्ता आन्दोलनको आगोमा घ्यू थपेको ? हामीलाई पुरानै रोगले छाडेको छैन । बिपी, जिपी, पुष्पलाल, केपीका सपनाको कुरा गर्छौं । तर, त्यसलाई मूर्तरूप दिन चाहँदैनौं । समग्रमा कुरा गरेर अलमलमा परेका छौं । त्यही विदेशमा पसिना बगाएको ठिटो मुलुक समृद्धिको कुरा गर्छ तर यहाँको समृद्धिको हिस्सा बन्न तयार देखिँदैन । बाहिर बसुञ्जेल सडकमा थुक्न पनि डराउने नेपाली घर फिरेपछि सडकमै आची गर्न पछि पर्दैन ।

राजा फाल्यौं, गणतन्त्र ल्यायौं । चुनाव ग¥यांै । बलियो सरकार बनायौं । तैपनि, सरकारप्रति विश्वास आर्जन गर्न सकेनौं । सरकारले पनि त्यो भावना जगाउन सकेन । सरकार केवल त्यही परिधिमा परिक्रमा गरिहेको छ, जहाँ हिजो अरू थिए । सत्ता मात्र ठूलो कुरा होइन, यो त साधन मात्र हो । त्यसको परिपालन र परिचालन मूल कुरा हो । चाहे त्यो दुईतिहाइ होस् कि सतप्रतिशत केही फरक पर्दैन । तर, गन्तव्य सही भएन भने यात्रा पूरा गर्न सकिन्न । 

समाजवादी मोडलको संविधानले गरेको परिकल्पनाको खाका के हो ? यसको रूप र स्वरूप कस्तो हुन्छ ? यतातिर छलफल छैन । यहाँ अलमल मात्र छ । सीमित घेराका सरकारी मान्छेको गुलाम बन्न बाध्य छन् जनता । स्थानीय तहमा जानुस्, अझै कर्मचारीतन्त्र हाबी छ । उनीहरूमा हामी नै ठूला हौं भन्ने भान परेको छ । हिजो लामो समयसम्म मच्चाएको लुटबाट पाएको छुटप्रति कुनै ग्लानि छैन, बरु अझै पनि त्यसै गर्न नपाएकोमा रिस र आवेग छ । पीडा छ, छट्पटी छ । केन्द्रिकृत विकासको मोडलभन्दा जनस्तरबाट भएका कामले केही प्रगति हासिल गरेका संकेत मिल्न थालेका छन् । कमसेकम एक वर्षभित्र केही काम भएको दृष्टान्त फेला परिरहेका छन् । खोइ, जनताको करमा हालिमुहाली गरेर लामो समयसम्म एकल शासन गर्ने स्थानीय निकायमा विगतमा भएका भ्रष्टाचार छानबिन गर्न सहयोग गरेको ? यस्ता कुरामा खोइ आगो बालेको श्रीमान् ?


प्रतिक्रिया दिनुहोस !