गोला तानेर इजलासमा बस्न श्रीमानहरु राजी

गोला तानेर इजलासमा बस्न श्रीमानहरु राजी

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामालाई बटमलाइन बनाउँदै इजलाश बंक गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु गोला तानेर मुद्दा हेर्न तयार भएका छन् ।

आज बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा न्यायाधीशहरु गोला तानेर मुद्दा हेर्न राजी भएका हुन् । प्रधानन्यायाधीश राणाको अध्यक्षतामा बसेको फुलकोर्ट बैठकले मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

आजको बैठकले मुद्दाको पेसी तोक्न सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका पास गरेको सर्वोच्च अदालतको उच्च स्रोतले बताएको छ । गत कात्तिक ७ गतेदेखि नै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै इजलाश बंक गर्दै आएका न्यायधीशहरुबीच हिजो मात्र सर्वोच्चको नियमावली संशोधनमा सहमति जुटेको थियो ।

फुल कोर्टबाट पास भएको उक्त संशोधित निर्देशिका अब राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । उक्त व्यवस्था लागू भएपछि सर्वोच्च अदालतले गोलाप्रथा प्रणालीबाट पेसी तोक्नेछ । यसको निम्ति संशोधित नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।

त्यसपछि राजपत्रमा सूचना प्रकाशित हुने र लगत्तै उक्त प्रक्रिया अघि बढ्नेछ । उक्त प्रणाली प्रारम्भ भएपछि पेसी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकारको पनि अन्त्य हुनेछ ।

टिप्पणीहरू