सम्माननीयहरू, यता जाओस् नजर « Jana Aastha News Online
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022

सम्माननीयहरू, यता जाओस् नजर

प्रकाशित मिति :  ८ श्रावण २०७५, मंगलवार १४:४६


 

समाजमा दृष्टिविहीनप्रति दृष्टि हुनेहरूले एउटा अचम्मको भ्रम पालेका हुन्छन् । पाठ्य सामग्रीमा सहज पहुँच नहुने कारण ज्ञानको दायरा साँघुरो हुन्छ र उनीहरूले शैक्षिक वा प्राज्ञिक क्षेत्रमा राम्रो गर्न सक्दैनन् भन्ने आमबुझाइ छ । तर, जब कार्यक्षेत्र र विशेष गरी शिक्षण पेशामा सहकार्यको अवसर जुट्छ, यो पनि त्यत्तिकै सत्य हो कि एक हप्ता नबित्दै भ्रम वा पूर्वाग्रह त राम्रैगरी हट्छ नै, उल्टै दृष्टिविहीन सहकर्मीको ठूलो प्रशंसक बन्न पुग्छन् । 



अहिले एउटा दृष्टिविहीन परिवार एउटा यस्तै पीडा भोग्न विवश छ । प्रसंग हो, काठमाडौं जिल्लाअन्तर्गत टोखा अवस्थित सरस्वती मावि (१–१२) मा कार्यरत माध्यमिक तहको राहत दरबन्दीका सामाजिक विषय शिक्षक दीपक सापकोटाको । दीपक पूर्ण दृष्टिविहीन छन् र श्रीमती सरीता आचार्य पनि उनीजस्तै । पोखराकी सरीतासँग काठमाडौंका दीपकको विवाह ०६५ सालमा पारिवारिक सहमतिमा सम्पन्न भएको हो । पति÷पत्नी दुवै दृष्टिविहीन हुँदाको अवस्थामा परिवार र दैनिक व्यवहार सञ्चालन कति कठिन र चुनौतीपूर्ण हुँदो हो ! गाउँ समाजबाट आफूले पाएको उपेक्षा र भेदभावको यही तिक्तता भोग्नु नपरोस् भन्ने सोचबाट कुनै सन्तान नजन्माउने विवाहकै समय सहमति थियो । तर, एकातिर सन्तान यसरी नै आफूजस्तै दृष्टिविहीन हुन सक्ने स्वाभाविक चिन्ता थियो भने अर्कोतर्फ एउटा वयस्क दम्पतीमा हुने सन्तानको लालसाले पनि सताइरहेको थियो । यो पछिल्लो चाह कति बलवान् मानवीय प्रवृत्ति हो भन्ने कुरा कुनै निःसन्तान दम्पतीले मात्रै सही मानेमा अनुभूत गर्न सक्छ । केही वर्ष यसै उल्झनका बीचमा गुज्रिए । पछि दृष्टिविहीनता जन्मजात वा वंशाणुगत नभएकाले सन्तानमा यो गुण नसर्ने विशेषज्ञ चिकित्सकको राय आएकाले पनि उनीहरू सन्तान जन्माउने निर्णयमा पुगे । तर, नियति कति निर्दयी भने जे नहोस् भन्ने कामना गरिरहे आखिर त्यही भइछाड्यो । ०६९ सालमा फूलजस्तै सुन्दर छोरी पैदा भइन् तर पूरा दृष्टिविहीन ! छोरी स्पन्दको जति गर्दा पनि उपचार नहुने सिद्ध भयो । यसरी सिंगो परिवार काफी सतर्कताको बाबजुद पनि दृष्टिविहीन हुन पुग्यो । 



दीपक र सरीता दुवैले स्नातकोत्तर तह राम्रो अंकसाथ उत्तीर्ण गरेका छन् । करिब डेढ वर्षअघि सरीता शिक्षक सेवा आयोगबाट माध्यमिक तह नेपाली विषयको खुला प्रतिस्पर्धाबाट छनोट भई नुवाकोट जिल्लाअन्तर्गत शक्ति मावि बेलकोटगढीमा शिक्षण कार्यमा संलग्न छिन् । यसै पनि एउटा प्रवेशिका तहको सहयोगीलाई लेख्न लगाएर आजको तीव्र प्रतिस्पर्धाको समयमा सयौं प्रतियोगीलाई पछि पार्दै एउटा दृष्टिविहीन उम्मेदवारले खुलातर्फ नाम निकाल्नुलाई कम आँक्न मिल्दैन । यसअघि काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा काम गरेको अवधि गणना गर्दा उनीहरूले १० वर्षभन्दा बेसी अध्यापन गरिसकेका हुन् । तर, नुवाकोटको शक्ति माविमा सिफारिस भई नयाँ नियुक्ति लिएर जाँदा सरीतालाई कम आपत परेन । व्यवस्थापन समिति र प्राचार्यलाई उनको क्षमतामा पक्का भरोसा थिएन होला तैपनि अन्यमनस्क भावमा हाजिर गराइयो । तर, १० दिनभित्रै प्राथमिकदेखि उच्च मावि तहका कक्षा ११ र १२ सम्ममा उनको ज्ञान, शिक्षण कुशलता र भाषिक सीपले यस्तो जादूको काम ग¥यो कि अहिले उनीहरू सकभर सरीतालाई बाहिर पठाउनै चाहन्नन् । 



उनले अध्यापन गर्ने अनिवार्य नेपाली विषयमा एसईई र २ तहमा विद्यार्थीका उच्चतम अंकले समेत उनीहरू ज्यादा प्रभावित छन् । लगभग सबैतिर यही एउटा विरोधाभाष देखिन्छ कि सुरुमा विद्यालयले दृष्टिविहीनलाई शिक्षण कार्यका लागि लिनै चाहन्नन् र लिइसकेपछि छाड्न मान्दैनन् । तर, सरिताको यो नियुक्ति सापकोटा परिवारका लागि सुखद हुन सकेन र ‘थ्री विसेज’ को कथाजस्तै अभिशाप हुन गयो जो उनीहरूले कल्पना गरेका थिएनन् । पहिलो कुरा उक्त विद्यालय काठमाडौंबाट दूरीको हिसाबले आइजाइ गर्न सम्भव छैन । उतै बस्नुपर्छ । दोस्रो विगतको भूकम्पमा विद्यालय भवन क्षतिग्रस्त भएपछि बनेका टहरा छरिएका छन् र एउटाबाट अर्कोमा जान उकाली ओराली गर्नुपर्ने भिरालो पाखोहरू छन् भने संरचनासमेत अपांगमैत्री छैनन्, अझ ठूलो कुरा तीन जनाको परिवार अहिले तीनतिर छुट्टिएर रहनुपरेको छ जो ज्यादा पीडादायी छ । विद्यालयबाट काठमाडौंका लागि गाडी समाउन पनि डेढ घण्टा उकालो–ओरालो गर्नुपर्छ जो सहयोगीबिना सम्भव छैन र मौजुदा स्थितिमा सरीता वर्षमा केवल २÷३ पटक मात्र घर आउजाउ गर्न सक्छिन्, छोरी स्पन्दनलाई बाध्यतावश लेबोरेटोरी मावि कीर्तिपुरको छात्राबासमा राख्नुपरेको छ । उनीहरूले दुःख नबिसाएको र भन्न बाँकी राखेको कुनै निकाय र पदाधिकारी सायदै होला । सबैतर्फबाट निराश र हत्तु भएपछि अब त्यति दुःख गरेर पाएको स्थायी जागिर छाड्ने मनस्थितिमा पुगिसकेको बताउँछन् । 



हालै शिक्षा विभागले सरीतालाई काठमाण्डौको कुनै विद्यालयमा ३ महिनाका लागि काजमा सरुवा गरेको छ । यो केवल ३ महिनाको अस्थायी प्रबन्धन हुँदाहुँदै पनि काज सरुवा भई आएको विद्यालयमा हाजिर हुनमा पनि समस्या हुनेजस्तो देखिएको छ । यहाँ पनि सायद कारण उही हो, दृष्टिविहीनले पढाउन सक्ला र ? 



तर, हामी दृष्टि हुनेहरू दृष्टिविहीनबारे आफ्ना बनिबनाउ धारणामा अक्सर यहीँनेर धोका खान्छौँ । पक्तिकारसँग दृष्टिविहीन मित्रहरूको छनोट प्रक्रियामा संलग्न भएको र सँगै काम गरेको लामो अनुभव छ । सायद अपांग मित्रहरूको निष्क्रिय अंगको क्षमता अन्य अंगमा थपिएर जाने पो हो कि !! जे होस् दावासाथ भन्न सकिन्छ कि आमरूपमा दृष्टिविहीनमा विलक्षण योग्यता र तिखारिएको ज्ञान हुन्छ र उनीहरू कुनै सांगभन्दा कमजोर बिल्कुलै हुन्नन् । भाषिक सीपमा त उनीहरूको यस्तो पकड हुन्छ कि तारिफ नगरी मनले मान्दैन । 



फेरि अहिले ब्रेल लिपिको सुविधाले गर्दा विद्यालय तहका हरेक पाठ्यपुस्तक र सन्दर्भ सामग्री उनीहरूको सहज पहुँचमा छन् । यसका अतिरिक्त नेट, वेब र सञ्जालमा प्रस्तुत हरसामग्रीलाई मोबाइल सेट र ल्यापटपले शब्दमा रूपान्तर गरेर सुनाइदिन्छन् र उनीहरूले नवीन गतिविधिसँग आफूलाई निरन्तर अद्यावधिक गरेका हुन्छन् । उनीहरूलाई दया र करुणा चाहिएकै छैन । केवल आफ्नो खुबी र क्षमता प्रस्तुत र प्रदर्शनका लागि एउटा अवसर मात्र चाहन्छन् । तर, हामी वा खासगरी शिक्षित भनिनेहरू नै यसका लागि हत्तपत्त तयार हँुदैनौं वा ‘हुँदैन, हामी लिन सक्दैनौं’ भनेर सहजै तर्किदिन्छौँ । प्रकृतिले दिएको पीडा झेल्न उनीहरू अभ्यस्त भइसकेका हुन्छन् तर शिक्षा क्षेत्रका नेतृत्व र हर्ताकर्ताबाट हुने यस ढंगको उपेक्षा वा भेदभाव ज्यादा असह्य हुन्छ । उनीहरूको दिल नमीठो गरी दुख्छ । आखिर जसलाई प्रकृतिले ठगेको छ, विशिष्ट प्रतिभा भइकन पनि समाज उसैप्रति किन नकारात्मक विचार पाल्छ र अनुदार बन्छ ? अर्को एउटा कुरा पनि यहाँ जोड्नु मनासिब होला– उनीहरूको विद्यालयभित्रका शक्ति वा वैचारिक समूहको खिचातानीसँग लेनादेना हुँदैन र यस्ता मामलामा सधैँ तटस्थ रहन रुचाउँछन् । यति भएपछि उनीहरूलाई लिनमा समस्या कहाँ छ ? 



व्यक्ति विशेषलाई लक्ष्य गरेर केही लेख्नु आफंैमा प्रीतिकर विषय बन्दैन । तैपनि, पीडाको मुकदर्शक बन्नु पनि उचित होइन । त्यसै हिसाबले सरीता काजमा खटिई आएको काठमाडौंको हालको विद्यालय र अरू सबै मावि (उमावि) का प्रधानाध्यापक र प्राचार्यसमेतलाई यो विनम्र चुनौती छ, उनको एक पटक कक्षा अवलोकन गरेर हेरियोस्, विचार बदलिने पक्का छ । उहाँहरूले यस्तो जेहनदार प्रतिभा पाउनुहुनेछ जसले विद्यालयको शिक्षण सिकाइको सुधारमा ठोस र गहकिलो योगदान पु¥याउन सक्छ । 


प्रतिक्रिया दिनुहोस !