सच्याउने अवसर नचुकाउने हो कि ?

सच्याउने अवसर नचुकाउने हो कि ?

–कौशल चेम्जोङ

नेपालीबीच कहावत छ, ‘रिस उठेको बेला वेद पढिँदैन ।’ हुन पनि हो रै’छ । यतिखेर मुलुककै कहलिएका न्यायमूर्ति र न्यायाधिवक्ताहरु ‘वेद’ पढिरहेका छैनन; न त उनीहरु ‘संविधान’ नै पढिरहेका छन् । वर्तमानमा उनीहरु गालीशास्त्रको अस्त्र ‘आरोप प्रत्यारोप’ एकार्कामाथि फ्याँकिरहेका छन् । तमासे बनेका नेपाली जनता न्यायाधीश र वकिलहरु जस्ता विद्वत्जन कस्ता कस्ता खाले वा खालका हुन्छन् भन्ने जानकारी उनीहरुबाटै पाइरहेका छन् । यो बेला ‘अदालतलाई प्रभावित गर्ने र मानाहानी गर्ने’ काम कुरा न्यायाधीश र वकिलहरुबाटै भइरहेका छन् ।

यी दुबैले अदालतको हुर्मत लिँदा कसैले केही गर्न सक्दैनन् । अदालतको गरिमा राख्ने, जोगाउने भनेको सर्वसाधारणले हो भने जस्तै देखिन्छ । यिनले एकार्कामाथि ठोकेको ‘आरोपप्रत्यारोप’ अस्त्र कतिको धारिलो वा कतिको भुत्ते ? कतिको सच्चा अनि कतिको झुठ्ठा ? अब छानबिन गर्ने स्वरहरु बिस्तारै मुखतरित हुँदै गएको छ ।

छाडिएका अस्त्रहरुमध्ये प्रमुख हुन् :

(१) प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा सेटिङमा काम गर्नुहुन्छ ? यो ‘सेटिङ’ भन्ने शब्द पञ्चायतकालीन ‘भूमिगत’ शब्दकैं पयार्यवाची देखिन्छ । को–को ले ? क–कसले, कहाँ, कुन कुन कुरामा, के के गरे ? सबै सोलोडोलोमा भन्छन् मात्रै । प्रमाणका आधारमा मुद्दा लड्ने र फैसला गर्ने न्यायाधीश वा वकिल कसैले पनि एक अर्काविरुद्ध ‘प्रमाण’ अघि सारेका छैनन् । केबल काइते भाषा बोलिरहेका छन् । यसबेला न्यायालयलाई ‘अखडा’ बनाएका न्यायाधीशले फैसला जस्तो र वकिलले प्रमाण तेर्साउँदै वकालत गरे जस्तो सामान्य धर्म पनि निभाएका छैनन् ।

(२) अमूक अमूक मुद्दामा घूस खाएको । खुवाउने को ? बिचौलिया को ? एकार्कामा औंला ठड्याउनेबाहेक तथ्यसत्य जानकारी दिन कसैले पनि चाहेका छैनन् वा सकेका छैनन् ।

(३) न्यायालयभित्र विकृति, विसंगति र भ्रष्टाचार संस्थागत बन्दै गइरहेको कुरा छ । यी सबै भनाइहरु सत्यसाबित भए हामीले अहिलेसम्म मानेको अदालत ‘नगरबधुहरुको कोठी’ जतिको इज्जतिलो पनि रहेनछ भन्ने देखिन्छ । यस्ता कोठीहरुमा व्यावसायिक यौनकर्मीहरु सेवाग्राहीलाई इमानधर्मका साथ आदरपूर्वक सेवा प्रवाह गर्छन् । त्यहाँ ‘फि’ अपारदर्शी छैन । एकार्कालाई घृणा गर्दैनन्, कसैमाथि हिलो छ्याप्दैनन् । सेवाग्राहीलाई मर्का पार्ने काम गर्दैनन् । सेवाग्राहीलाई सन्तुष्टीको ग्यारेन्टी गर्न नसके पनि उच्चतम प्रयास गर्छन् । कोठीको मालिक वा मालिक्नी, दलाल वा बिचौलियाहरु आआफ्नो धर्म इमान्दारिताका साथ निभाउँछन् ।

तर हाम्रो न्यायालय, न्यायाधीश अनि वकिलहरुको बारेमा के देख्नु अहिले के सुन्नु परेको हो ? के अब न्यायालय, न्यायाधिश र वकिलको बयान गर्न ‘हजार जिब्रो भएका शेषनाग’ अघि सर्नु पर्ने हो ? होइन भने न्यायधीशले वकिललाई र वकिलले न्यायधीश र दुबैले आआफैँलाई हानेको ‘गालीअस्त्र’ कहिले रोकिने हो ? कसरी रोकिने हो ? साँढेहरुको जुधाइमा बाच्छाहरु मिचिन्छन् मात्रै, यस्तो उखान जान्दाजान्दै कसैले न कसैले त यो भुङ्ग्रोमा हात हाल्ने दुस्साहस गर्नै पर्छ ।

तसर्थ अब कार्यपालिका र व्यवस्थापिका निरीह होइनन् र छैनन् भन्ने बेला आएको छ । अदालतको साख ध्वस्त भएपछि मात्रै जागा हुने काम राम्रो होइन । सबैलाई थाहा भएको कुरा हो राजनीतिले सबैथोकलाई डोर्याउँछ । नेपालका राजनीतिक दलहरु अदालतलाई ध्वस्त बनाउन तल्लीन छन् वा न्यायाधीश भागबन्डामा मात्रै रमाउँछ ? यस्तो होइन भन्ने सन्देश दिन आवश्यक छ ।

अदालतभित्र ‘जनअदालत’ खडा गर्ने वातावरण तयार गर्नु कसैको लागि पनि हितकर छैन । अदालतप्रतिको आस्था र विश्वास जगाउने मुख्य जिम्मेवारी भनेको न्यायाधीश र वकिलहरुको हो । तर यी दुबै यसबेला अदालतलाई गाउँघरको मुखियाको ‘पञ्चेती गर्ने दलान’ भन्दा पनि झुर बनाउन तल्लीन देखिन्छन् । तसर्थ अदालतमा राजनीति घुसाएर, न्यायाधीशमा पार्टीका सदस्यलाई नियुक्ति गरेको आरोप खेप्दै आएका दलहरु पो तात्ने हो कि ? यो गल्ती सच्याउने अवसर हो । नभए दल होइन दले रै’छ भन्ठाम्ला । अरु त हामी जस्ता भुईंमान्छेले नाप्ने पो के सक्छौं र ?

टिप्पणीहरू