गुपचुप ४ सचिवको सरुवा, शहरी विकासमा सचिव नै टसलमा

गुपचुप ४ सचिवको सरुवा, शहरी विकासमा सचिव नै टसलमा

सरकारले गुपचुप चार जना सचिवको सरुवा गरेको छ । साता दिनअघि बसेको क्याबिनेटले गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेर त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडा (अतिरिक्त समूह) मा थन्काइएका रविलाल पन्थलाई खटाइएको छ ।

पन्थलाई महिनौं दिनसम्म जिम्मेवारविहीन अवस्थामा राखिएको थियो । यसबीचमा मन्त्रालय जाने, हाजिर गर्ने र फर्कने मात्र उनको दैनिकी भएको थियो । महिनौं दिनसम्म बरण्डामा सीमित गराइएका सचिव पन्थ गण्डकी प्रदेशको प्रमुख सचिवमा हाजिर भइसकेका छन् । त्यहाँबाट तानिएका रेग्मी पनि हिजोदेखि युवा तथा खेलकुद मन्त्रालयमा हाजिर भइसकेका छन् ।

यसअघि सरुवा गरिँदा रेग्मीलाई शिक्षा मन्त्रालयमा तानिएको भए पनि सो मन्त्रालयका सचिव रामप्रसाद थपलियाको व्यवस्थापनमा असहज भएपछि रेग्मीलाई खेलकुदतिर पठाइएको सामान्य प्रशासन मन्त्रालयतिर चर्चा छ ।

थपलियालाई युवा तथा खेलकुदमा सरुवा गरिएको भए पनि पहिल्यै काम गरिसकेको मन्त्रालयमा फेरि नजाने अड्डी लिएपछि रेग्मीलाई शिक्षामा तान्ने आश्वासन दिएर खेलकुदतिर पठाइएको हो । मन्त्रालयका तत्कालीन सचिव केदार न्यौपाने डेढ महिनाअघि नै ५८ वर्षे उमेर हदका कारण अवकाश लिएर घर गएसँगै खेलकुद मन्त्रालय सचिवविहीन बन्न पुगेको थियो ।

उता हालै मात्र सचिवमा उक्लिएकी निरु दाहाल पाण्डेलाई पशुपंक्षी मन्त्रालयमा पठाएर कृषि सचिवमा डा. गोविन्दप्रसाद शर्मालाई लगिएको छ । गत असोज २२ गते सिंहदरबार प्रवेश गरेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री र सचिव रमेश सिंहबीचको टसल पनि उत्कर्षमा पुगेको बताइन्छ ।

सचिव सिंह र तत्कालीन मन्त्री कृष्ण गोपाल श्रेष्ठले अन्यायमा पारेका पदम मैनालीलाई हालै मात्र भवन विभागको महानिर्देशक बनाइएको छ । सिंहले कनिष्ट सहसचिव नवराज प्याकुरेललाई ११ महिनाअघि डिजी बनाएर पठाएकोमा अहिले उनलाई मन्त्रालयमै फिर्ता तानिएको छ ।

झाँक्रीको निर्देशनमा सिंह निकटका झण्डै दर्जन बढी कर्मचारीहरुको जिम्मेवारी फेरबदल गरिएको मन्त्रालयका कर्मचारी बताउँछन् । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता आयोजनाका प्रमुख रविन्द्र बोहराको ठाउँमा दिलिप भण्डारीलाई खटाइएको छ ।

मन्त्री झाँक्रीबाट पेलानमा परेको भन्दै आएका सचिव सिंह भने भौतिक पूर्वाधार मन्त्रालयमा जाने गरी सेटिङ मिलाउन थालेको कर्मचारीहरु नै बताउँछन् ।

टिप्पणीहरू