मौका मिल्नासाथ मुखभरि मनपरी

  •  सुशील पन्त

अघिल्लो सोमबार संसद् बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली रबर्ट मुगावे पथमा लागेको आरोप लगाए । विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट नियन्त्रणमा लिनेजस्ता कदमले सरकारमा सत्ता उन्माद बढेको उनको टिप्पणी थियो । स्मरणीय छ, जिम्बाबेका तानाशाह मुगाबेले सन् १९८० देखि २०१७ सम्म ३७ वर्ष शासन गरेका थिए । सेनाले सैन्य ‘कु’ गरेपछि केही महिनाअघि मात्र पदमुक्त भए । आफ्नै पार्टीको नेतृत्वमा सम्पन्न चुनावमा विजयी भएर संसद्को वैधानिक बाटोबाट निर्वाचित र शक्तिशाली प्रधानमन्त्रीलाई तानशाह शासकसँग किन तुलना गरियो, बुझ्न नसकिएको विषय हो । कांग्रेसकै अर्का नेता गगन थापाले पदच्युत पूर्वराजा ज्ञानेन्द्रले जस्तो आन्दोलनकारीका टाउका गनेर धारणा नबनाउन सुझाव दिए । कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री निवास बालुवाटारलाई कारागारजस्तो बनाइएको टिप्पणी गरे । आइतबार राष्ट्रियसभाको बैठकमा जितेन्द्र देवले कांग्रेस र कम्युनिष्ट भिड्दा गणतन्त्र दुर्घटनामा पर्ने र फेरि पनि कांग्रेस र कम्युनिष्ट जेल जानुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरे । 

पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विदेश जान रोकिएको घटना तथा डा. गोविन्द केसीले उठाएका मागको विषयलाई लिएर कांग्रेसले सदन तताएको छ । नेकपाका सांसद योगेश भट्टराईको शब्दमा भन्नुपर्दा कांग्रेसलाई आफ्नो विरासत जोगाउन डा. केसीको भरोसा चाहिएको छ । देशका समस्या एकातिर छन्, बहस अर्कैतिर भइरहेको छ । सदनमा सत्ता र प्रतिपक्षबीच भएका आरोप–प्रत्यारोपको प्रतिस्पर्धाले राजनीति ०५१ सालतिरै घुमेजस्तो देखिएको छ । फरक यति छ, त्यो बेलाजस्तो दरबारमा राजा छैनन् । राजनीतिक दलको चरित्र फेरिएको छैन । प्रतिपक्षको विरोधको शैलीमा कुनै नवीनता छैन । सरकार पनि भद्र विरोध सुन्दैन ।

उदेकलाग्दो अलमल

नेपाल भ्रमणमा रहेकी चर्चित भारतीय अभिनेत्री जुही चावलाले केही दिनअघि नाक छोपेको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखिन् –‘काठमाडौंमा हामी कार पर्खिरहेका बेला, कति धेरै धुलो ! कति धेरै सवारी ! आकाशमा पेट्रोल र डिजेलको धुवाँ कति धेरै ? हरेक दिन अनुहार ढाक्नुपर्छ । यहाँका मानिस हरेक दिन सर्जिकल मास्क लगाएर हिँड्छन् ।’

जुहीको सन्देशलाई लिएर सामाजिक सञ्जाल ट्विटरमा उनलाई प्रतिक्रिया जनाइयो, ‘दिल्लीभन्दा त काठमाडौं नै सफा !’ यसअघि बौद्धलगायत काठमाडौं उपत्यकाका सम्पदाको वर्णन गरेकी उनको पछिल्लो ट्विटले काठमाडौंको प्रदूषणमाथि कठोर व्यंग्य गरेको थियो । पानी प¥यो भने हिलाम्मे र घाम लाग्यो भने धुलोको कुहिरीमण्डल यतिवेला काठमाडौंको विशेषता बनेको छ । चाबहिल–बौद्ध क्षेत्रका सर्वसाधारण सडकको दुरवस्थाप्रति सरकारलाई व्यंग्य गर्न सडकमा बल्छी थापेर माछा मारेको अभिनय गर्दैछन् । सरकारलाई सराप्दै उच्च ओहोदाका विदेशी पर्यटकलाई बौद्ध आउन पुकारिरहेका छन् । नेपालमा पानीजहाज चलाउने केपी ओलीको भनाइ र हिलाम्मे सडकप्रति व्यंग्य गर्दै सांसदले भनेका छन्, ‘हामी त प्रत्येक दिन १५ रुपैयाँको पानीजहाज चढेर आउँछौं ।’ 

सरकारले काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा कांग्रेस सांसद बालकृष्ण खाँणले १२ असारमा सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘सरकारले जायज माग र विरोध आँखा खोलेर हेर्छ, कान खोलेर सुन्छ र दिमाग खोलेर मनन गर्छ ।’ विडम्बना सञ्चारमाध्यम, सामाजिक सञ्जालमा काठमाडौंका सडकको दुरवस्थावारे सरकार सुन्दैन । भारतीय नायिकाले लेखेपछि मात्र तरंग सिर्जना हुन्छ । पक्कै पनि काठमाडौंभन्दा भारतका धेरै शहर कैयौं गुणा प्रदूषित छन् । राजधानी दिल्लीमा सार्वजनिक बिदा दिनुपर्ने अवस्था सिर्जना भयो । प्राकृतिक अनुकूलताले गर्दा त्यो अवस्था काठमाडौंमा आइसकेको छैन तर यहाँको प्रदूषण पनि सीमाभन्दा माथि पुग्दै छ । कुनै विदेशीले हाम्रो राजधानीको दुरवस्थाबारे टिप्पणी गर्दा राष्ट्रवादी भावनामा ठेस पुग्छ तर वास्तविकता यही हो । 

काठमाडौंको धुलोले पजेरोमा हिँड्नेहरूलाई खासै असर गरेको छैन होला, निर्दोष बालबालिका, वृद्धवृद्धा र आमजनताको फोक्सो बिगारिरहेको छ । सडकमा काम गर्ने ट्राफिक प्रहरी र मजदुर यसको मारमा छन् । धुलोमा निसास्सिएका एक जना प्रहरीले आफ्ना हाकिमलाई ‘बरु जनयुद्धमा मारिएको भए हुन्थ्यो, अहिले दिनदिनै मरिरहेको छु’ भनेर रोदन सुनाउनुपर्ने अवस्था छ । श्रीमतीहरू चिन्तित हुन्छन् भनेर ट्राफिक प्रहरीले आफ्ना पोसाक कार्यालयमै धुने गरेको कुरा पनि बाहिर आइसकेको हो । धूलो नियन्त्रण गर्नका लागि कुनै वैज्ञानिक आविष्कार गर्नुपर्ने थिएन । सडक निर्माणको काम समयमै पूरा गरे, धुलो नियन्त्रण गर्ने निकायलाई प्रभावकारी रूपमा परिचालन गरे त जुहीहरूले मास्क लगाएर कुनै देशको राजधानीलाई बदनाम गराउने खालको तस्बिर राख्नुपर्ने थिएन नि ! ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएको’ ओली सरकार यति सानो काम पनि किन गर्दैन ?

सत्तारुढलाई गिज्याउने महँगी !

हुन त महँगी बढ्यो भनेर सांसदले सोधे प्रधानमन्त्रीबाट सीधै जवाफ आउँछ– ‘हाम्रो पालामा ५० पैसा माना घ्यू थियो !’ प्रधानमन्त्रीको तहबाट यस किसिमको जवाफको अपेक्षा पटक्कै गरिएको थिएन । विपक्षी सांसदलाई झटारो हान्दा सत्ता पक्षका सांसदलाई रमाइलो त लाग्यो होला तर श्रम गरेर जीविका गुजारा चलाउनेहरूलाई यो जवाफले खिन्न बनाएको हुनुपर्छ । १७ असारमा प्रतिनिधिसभाको बैठकमै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका खगराज अधिकारीले महँगीले आफूहरूलाई गिज्याइरहेको बताएका थिए । भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । विद्यार्थी भर्नाको समय शुरु भएको छ । भर्नाका नाममा निजी कलेजले मनलाग्दी पैसा असुलिरहेका छन् । नियमनकारी सरकारी निकाय निष्प्रभावी छन्, अविभावकहरू लुटिएका छन् । शिक्षा,  स्वास्थ्यजस्तो आधारभूत क्षेत्रमा भइरहेको लुटप्रति सरकारी निकाय बेखबर छन् । के ओली सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले मात्र हुन्छ ? 

आश्वासनमा रेकर्ड ! 

केपी ओली प्रधानमन्त्री बनेको पाँच महिना पुग्न लागेको छ । यसबीच सरकारको दह्रो अडानका कारण यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडियो, सुन तस्करीको जालो तोडियो । वैदेशिक रोजगारीको क्षेत्रमा भएको ठगीमा केही हदसम्म कमी आयो । प्रदेशसभा बैठकमा प्रधानमन्त्रीका लामा संबोधन सुन्दा सरकारले निटक भविष्यमै चमत्कार गर्न लागेको हो कि भन्ने प्रतित हुन्छ । प्रधानमन्त्रीले गर्छु भने पनि सरकारका मसिनरीले काम गरेका छैनन् । सरकारी कार्यालयमा ढिलासुस्ती उस्तै छ, घुसखोरी रोकिएको छैन ।

धुर्मुस सुन्तलीले रंग लगाइदिए पनि सरकारी अस्पतालको अवस्था सुध्रिएको छैन । सरकारले कतिपय गर्नु नपर्ने काम गरेको छ । माइतीघर मण्डलामा आएर विरोध गर्दैमा कसैको तुष्टि पूरा हुन्छ भने किन रोक्ने ? माइतीघरमा हुने विरोधले रक्सौल या केरुङबाट रेल आउन रोक्छ र ? 
देशको प्रधानमन्त्री गतिशील बन्नै पर्छ र सपना देखाउनुपर्छ । तर, त्यसका लागि काम पनि शुरु भए विश्वास बढ्छ । ‘कुराले च्युरा भिज्दैन’ भन्ने स्व. मदन भण्डारीको भनाइ एमाले पृष्ठभूमिका नेताले पक्कै बिर्सेका छैनन् होला । गत सोमबार संसद्को बैठकमा कांग्रेस सांसद प्रकाश रसाइलीले कठोर व्यंग्य गरे, ‘गाडीको पानीजहाज चढ्ने बेला सर्वसाधारण भन्छन्, यो सरकारले गफ दिने, उखान टुक्का हाल्ने र गाउँखाने कथा हाल्ने मामिलामा गिनिज बुकमा नाम लेखायो !’ सरकारको विरोध गर्नु विपक्षीको धर्म हो । काम गर्न प्रधानमन्त्रीका लागि अनुकूल समय छ । जनमत आर्थिक विकास र समृद्धिको पक्षमा छ, समृद्धिको तिर्खा छ । विकासको विरोध गर्ने दल जनताबाट तिरस्कृत हुने खतरा छ ।

राजनीतिक रूपमा पनि सरकार मजबुत पोजिसनमा छ, ओलीलाई संसद्मा दुईतिहाइ बहुमत छ, बलियो सरकार र प्रतिपक्षी निरीह छ । दुवै छिमेकी दाहिना छन् । यस्तो बेला काम नगरे कहिले गर्ने ? दुईतिहाइ बहुमतको वर्तमान सरकार असफल भयो भने निश्चित छ, नेपालमा कम्युनिष्ट पार्टीको ओरालो यात्रा शुरु हुनेछ । र, कम्युनिष्टहरूले देश बनाउँदैनन् भन्नेलाई बल पुग्नेछ । ओलीले मीनेन्द्रलाई वचनले होइन, कर्मले जवाफ फर्काउनुपर्छ– मैले रोजेको बाटो मुगाबेको होइन, महाथिर मोहम्मदको हो !
 

तालिम हुने कि जलिम हुने

सिलाइ–कटाइ भन्नेबित्तिकै सामान्यतः एक महिनाभन्दा बढीको तालिम हुने बुझिन्छ । तर, पर्सामा एउटा यस्तो ठाउँ छ, जहाँ तालिम उद्घाटन त भयो तर तालिमचाहिँ भएन । अर्थात् त्यो तालिम उद्घाटनमैै सीमित हुन पुगेको छ । त्यो ठाउँ हो, पर्साको गम्हरिया । जहाँ अघिल्लो शनिबार प्रदेशसभा सदस्यको संसदीय विकास कोषबाट सिलाइ कटाइ तालिम उद्घाटन गरियो, जुन एक दिन पनि चलेन । एक त असारको चटारो, विकासे बजेट सक्न भ्याइनभ्याइ छ । त्यही मेसोमा तालिम सञ्चालन हुन नभ्याएको स्रोतको दाबी छ । ‘तालिम उद्घाटन त भयो तर सञ्चालन भएन,’ एक सहभागीले भने । 

पर्सा क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभा सदस्य राजेश्वर साह तेलीको संसदीय विकास कोषबाट शुरु गरिएको सिलाइ–कटाइ तालिम तथा मेसिन वितरण कार्यक्रम उद्घाटनमै मात्र सीमित हुन पुगेको पुष्टि भएको छ । कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले तालिम उद्घाटन गरेका थिए । वडाध्यक्ष केदार तिवारीले समेत तालिम सञ्चालन नभएको बताए ।

स्थानीय राम तुरहाका अनुसार कार्यक्रममा जनतालाई बोलाएर सबैको फोटो खिचियो तर भोलिपल्टदेखि न कोही तालिम दिन आयो न त लिनै । 

 

टिप्पणीहरू