अमेरिकी सहायक विदेशमन्त्रीलाई सुनाउँदै एमसीसीको बिरोध

अमेरिकी सहायक विदेशमन्त्रीलाई सुनाउँदै एमसीसीको बिरोध

उन्नत लोकतन्त्र पार्टी, स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान र स्वतन्त्र नागरिकहरुले संयुक्त रुपमा आज अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको बिरोधमा प्रदर्शन गरेका छन् । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट उनीहरुले जुलुस निकालेका हुन् ।

यता, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको दुई दिने भ्रमणमा हिजो साँझ काठमाडौं आइपुग्नुभएको छ । आज र भोलि उहाँले प्रधानमन्त्री, परराष्ट्र मन्त्री तथा नेपालका प्रमुख दलका नेताहरुसँग भेटघाट र छलफल गर्दै हुनुहुन्छ । केही समयअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली सम्झौता कार्यान्वयन गर्न जोड दिँदै काठमाडौं आएको थियो ।

अहिले सहायक मन्त्रीको भ्रमणलाई पनि त्यसैसँग जोडेर हेरिएको छ । तर, अमेरिकी दूतावासले जारी गरेका विवरणहरुमा आफ्ना मन्त्रीको भ्रमण दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठको पूर्वसन्ध्यामा भएको उल्लेख छ । एमसीसी र मन्त्रीको भ्रमणलाई जोडेर दूतावासले केही पनि बताएको छैन ।

केहीबेर अघि संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा एमसीसी सम्झौताको बिरोधका साथै सर्वोच्च अदालतमा भएको बेञ्च बहिष्कारको समेत चर्को आलोना गरिएको छ ।

उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल, महासचिव कृष्ण प्रसाईं, वरिष्ठ अधिवक्ता भूमिन्नद चुडाल, अधिवक्ता आकृति रायमाझीलगायत अदालतबाट पीडित नागरिकहरुले नेपाल बार र आन्दोलनकारी न्यायाधीशहरुको बिरोधमा दिनहुँ आन्दोलन गरिरहेका छन् ।

उनीहरुले भ्रष्टाचारी न्यायाधीशहरूलाई कारबाही गर, अदालत बन्द गर्न पाईंदैन, दबावको शासन अन्त्य गर, विधिको शासन कायम गर, इण्डोप्यासिफिक रणनीति अन्तर्गतको एमसीसी सम्झौता खारेज गर लगायतका प्लेकार्ड बोकेर नारा लगाएका छन् ।

उनीहरुले स्वतन्त्र न्यायपालिका हाम्रो चाहना, न्याय खोज्न गोरखा नै जानु पर्ने हो ?, हाम्रो अदालत कहिले खुल्छ ?, दवाबको शासन अन्त्य गर, विधिको शासन कायम गर, आमन्त्रित विदेशी हस्तक्षेप मुर्दावाद, अदालतको क्षेत्राधिकार खोस्न एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावादलगायतका नारा पनि लगाएका छन् ।

टिप्पणीहरू