सर्वोच्चमा वकिलको टाउकोमा लाठी, ३ जना भिजिलान्ते पक्राउ

सर्वोच्चमा वकिलको टाउकोमा लाठी, ३ जना भिजिलान्ते पक्राउ

सर्वोच्च अदालत परिसरमा आज भएको बिरोध प्रदर्शनमा कानुन व्यवसायीहरु घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आएको नेपाल बारले आयोजना गरेको कार्यक्रममा झडप हुँदा वकिलहरु घाइते भएका हुन् ।

प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने भन्दै अघिल्लो सातादेखि बारले सर्वोच्चको मूल गेटमा धर्नाको कार्यक्रम राख्दै आएको छ । तर, सुरक्षाकर्मीले प्रधानन्यायाधीशलाई अदालतकै अर्को गेटबाट प्रवेश गराउँदै आएपछि आज वकिलहरु अर्को गेटमा जाँदा प्रहरीको आक्रमणमा परेको बताइन्छ ।

प्रहरीले बल प्रयोग गर्ने क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको टाउकोमा प्रहरीले लाठी बजारेको हो । त्यसैगरी सर्वोच्च अदालत बारका सचिव ऋषिराम घिमिरे पनि घाइते भएका छन् । घाइते भएका अन्य वकिलहरुमा प्रकाश महर्जन, रमण कार्की र कपिल पोखरेल समेत छन् ।

प्रहरीले शंकास्पद गतिबिधि गरेको अभियोगमा अन्य तीन जनालाई नियन्त्रणमा लिएको बताइन्छ । भर्खरै कानुन व्यवसायीहरु र भिजिलान्तेबीच सर्वोच्च बाहिर झडप भएको खबर छ ।

तोकिएको स्थानभन्दा अन्यत्र गएर बिरोध गर्ने, सुरक्षालाई चुनौती दिएपछि सामान्य बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ । माइतीघरदेखि शुरु हुने रामशाहपथ क्षेत्र निषेधित क्षेत्र हुँदाहुँदै पनि वकिलहरुलाई धर्ना, जुलुश गर्न दिइएको तर आज सीमा नाघेपछि बल प्रयोग गरिएको एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

यसैबीच सर्वोच्च बाहिर झडप हुँदै गर्दा भित्र न्यायाधीशहरुको फुलकोर्ट बस्ने तयारी भइरहेको छ । हिजोमात्र न्यायाधीशहरुबीच सर्वोच्चको नियमावली संशोधनमा सहमति जुटेको छ । बताइएअनुसार गोलाप्रथाद्वारा इजलास तोक्ने व्यवस्थाको निम्ति नियमावली र कार्यविधि संशोधनमा सहमति जुटेको हो ।

 

आजको फुलकोर्टबाट उक्त सहमतिलाई स्वीकृत गरी राजपत्रमा प्रकाशनको निम्ति प्रक्रियामा पठाइने छ । त्यसपछि मुद्दाका पेसी गोलाप्रथाबाट मात्र तोकिने छ । पेसी तोक्ने प्रधान न्यायाधीशको विशेषाधिकार त्यहिँबाट अन्त्य हुने न्यायाधीशहरु बताउँछन् ।

टिप्पणीहरू