​भानुका नाममा भव्य भेला

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५को त्रिदिवसीय कार्यक्रमको उद्घाटन राष्ट्रिय नाचघरमा असार २९ गते थियो । प्रधानमन्त्रीलाई बिहानदेखि धपेडी । निर्धारित कार्यक्रम अपराह्न १२ बजे, प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्माको आगमन १२.३७ मा । दर्जन देशका चार दर्जन प्रतिनिधि, त्यसमा नेपालका छँदैथिए । सात सय क्षमताको नाचघरमा हजार जना अटाएका थिए । ओलीले मालेकालमै जेबी टुहुरे, बम देवान, रामेश आदिका गीत साथीहरूसँग गाउने कुरा त सबैलाई थाहा भएकै हो । कवि पनि हुन् भन्ने कुराचाहिँ पोखरा जेलबस्दा चालीसको दशकमा लेखेको खर्पन कविताले पुष्टि गरिसकेको थियो । साहित्य, सङ्गीत, कलाका अनुरागी ओलीले सम्मिलनका दुई दिन मजाले समय दिए । बौद्धिक भेलालाई खूबै पढाए पनि । 

तुलसी घिमिरेले सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले आफूहरूलाई अह्राएर बनाइएको भानुसम्बन्धी वृत्तचित्र सिक्किममा पाउन सकिने बताए । प्रा. महेन्द्र पी लामाले भारतीय गोर्खाको शिक्षा, पारम्परिक ज्ञान, बीउविजनको संरक्षण र नेपाली पुस्तकको बिक्रीमा जोड दिए । प्रा. विन्द्या सुब्बाले विसं १९८१ मा नेपाली साहित्य सम्मेलन गरी दार्जिलिङमा पहिलो पटक भानुजयन्ती मनाएको र १९८४देखि भानुका कृति प्रकाशन हुन थालेको जानकारी दिइन् । पहिलो दिन बहुसाँस्कृतिक साङ्गीतिक कार्यक्रममा बीच प्राविधिक गडबडी भए पनि काम सकेर बालुवाटारमा डिनरका लागि हिँडेका पाहुनालाई प्रम ओलीले कुराउनसम्म कुराए ।

टिप्पणीहरू