कृषक संगठित भएपछि झन् धेरै सफलता

कृषक संगठित भएपछि झन् धेरै सफलता

-राजेशचन्द्र राजभण्डारी

मोफसलबाट राजधानी छिरेका कृषकहरू मिलेर राजधानीमै पशु आहारा भण्डार घर निर्माण गरेर उदाहरणीय काम देखाउन सफल भएका छन् । हिजोसम्म गाई भैंसी को लागि दैनिक रूपमा आवश्यक पर्ने दानालगायतका वस्तु खरिद गरेर भण्डारण गर्ने ठाउँको अभाव झेल्दै आएका कृषकलाई उक्त भवन निर्माणपछि धेरै सहज भएको छ ।

विश्वव्यापी महामारी कोभिड १९ ले सबै क्षेत्र आक्रान्त भइरहेको समयमा मोफसलका जिल्लाबाट राजधानी छिरेर छरिएका कृषकहरू संगठित हुँदै पशु आहारा भण्डार घर निर्माण गर्न सफल भएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा गाईको निम्ति दैनिक रूपमा आवश्यक दानालगायत पशु आहारा व्यवस्थित रूपमा भण्डारण घर कृषक समूह र स्थानीय तहको सहयोगमा निर्माण गर्न सफल भएको महादेवस्थान गाई पालन कृषक समूहका अध्यक्ष मोहन जिसीले बताए ।

अहिले पनि कृषकहरू परम्परागत रूपमा गाई पाल्दै आएको कारण व्यावसायिक रूपमा सफल हुन नसकेको हुँदा किसानहरू पनि समयअनुसार परिवर्तन हुन सके मात्र सफल हुने र धेरै आम्दानी गर्न सकिने चन्द्रागिरि नगरपालिका ६ का वडा अध्यक्ष सञ्जय सिग्देलले बताए ।

अहिले पनि बिचौलियाको बिगबिगी कायमै रहेको कारण किसानहरु माथि उठ्न नसकेको स्थानीय महिला लक्ष्मी थापा बताउँछिन् । गुल्मी ,प्युठान ,अर्घाखाँची, तेह्रथुम, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट राजधानी छिरेर स्थानीय व्यक्तिका जग्गा भाडामा लिएर कृषि पशुपालन व्यवसाय गर्दै आएका छन् ।

तीमध्ये २५ जना गाईपालक कृषक संगठित भई ४ लाख ९५ हजार रुपैयाँको लागतमा जग्गा भाडामा लिएर आहारा भण्डार घर बनाएका हुन् । उक्त भण्डार बनाउन चन्द्रागिरि नगरपालिकाको ६ नम्बर वडा कार्यालयले ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

महादेवस्थान गाईपालक समूहका २५ जना कृषकले दुई सय वटा गाई पालेर दैनिक १ हजार लिटर दूध स्थानीय बजारमा बिक्री वितरण गर्दै आएका छन् । कृषकहरूले टनेल बनाएर गाईको मलबाट व्यावसायिक रूपमा तरकारी खेती समेत गर्दै आएका छन् ।

हिजोका दिनमा बजारबाट गाईको निम्ति आवश्यक दाना, भुसा, चोकर लगायतका आवश्यक आहारा अब आफ्नै गोदामबाट सर्वसुलभ मूल्यमा पाउने व्यवस्था कृषक समूहले मिलाएका छन् । त्यसबाट गाईपालक कृषकलाई धेरै राहत पुगेको र हिजोको भन्दा राम्रो आम्दानी गर्न सफल भएको उनीहरु बताउँछन् ।

यी सबै कार्यबाट कृषकको नाममा बाँडिने नगद अनुदानलाई प्रत्यक्ष रूपमा काम गर्ने किसानको पहिचान गरेर प्रयोग गर्न सकेको खण्डमा सरकारले ल्याएको कृषि कार्यक्रम सफल हुने चन्द्रागिरिको गाईपालन व्यवसायले समेत पुष्टि गरेको छ ।

टिप्पणीहरू