उडाउने होइन गुडाउने

गत साता पूरा भक्तपुर डुबानमा परेपछि देशभरि पानीजहाजको चर्चा चल्यो । सामाजिक सञ्जाल पूरा पानीजहाजमय बन्यो । सबैले भन्न थाले कि अबचाहिँ देशमा पानीजहाज चल्ने निश्चित भयो । डुबान त नेपालमा योभन्दा पहिले पनि भएकै हो । डुबान नभएको वर्षै कहिले पो छ र ? भक्तपुर नभए कीर्तिपुर, कीर्तिपुर नभए जनकपुर, जनकपुर नभए टनकपुर त डुबानमा परिरहेकै थियो । तर, पहिला–पहिला डुबानका बेला यस्तो पानीजहाजको चर्चा चल्दैनथ्यो । अहिले बेस्कनै चर्चा चलेको देखियो । 

वास्तवमा पानीजहाजप्रति नेपाली जनताको लगाव यसैबाट थाहा हुन्छ । अहिले पानीजहाजको आवश्यकता कति रहेछ भन्ने कुरा नेपाली जनताले पनि बुझ्न थालेको प्रमाण यसबाट लिन सकिन्छ । सरकारले पानीजहाजको सपना देखाएपछि जनताले त्यही सपना देख्न थालेको प्रमाण पनि यही हो । देशमा अलिकति पानी प¥यो कि जनता पानीजहाज भन्न थालिहाल्छन् । यसमा कसै कसैलाई के पनि लाग्ने गरेको छ भने पानीजहाजबारे यसरी कुरा गर्नु भनेको पानीजहाजलाई उडाउने काम हो । तर, म भन्छु, पानीजहाज भनेको उडाउने साधन नै होइन । उडाउने साधन त हवाईजहाज हो । पानीजहाज त गुडाउने हो । त्यो पनि पानीमा । अब गुडाउने साधनलाई कसैले उडाउँछु भन्दैमा पत्याउनुपर्छ ? यो त हुनै नसक्ने कुरा हो । अब गुडाउने साधनलाई कसैले उडाउने प्रयास गर्छ नै भने पनि त्यो सम्भव कुरा होइन । अब कसैले असम्भव कामै गर्छ भने हामी के नै गर्न सक्छौँ ? 

टिप्पणीहरू