गुणस्तरहीन सिमेण्ट उत्पादन गर्ने कम्पनीलाई रोक

गुणस्तरहीन सिमेण्ट उत्पादन गर्ने कम्पनीलाई रोक

कम गुणस्तरीय सिमेन्ट उत्पादन गरेपछि गुणस्तर तथा नापतौल विभागले तीन वटा उद्योगको सिमेन्टको बिक्री वितरणमा रोक लगाएको छ ।

मारुती, युनाइटेड र जगदम्बा सिमेन्टको उत्पादन गुणस्तरहीन भएपछि विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको छ । ती कम्पनीको सिमेन्टको गुणस्तर परीक्षणमा मापदण्डअनुरुप नभएपछि विभागले कारबाहीको सिफारिस गरेको हो ।

सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको गुणस्तरीय परीक्षण गर्दा तोकिएकोभन्दा निकै कम पाइएको छ ।विभागका अनुसार, मारुतीको संकुचित शक्ति ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको छ । युनाइटेड सिमेन्टको संकुचित शक्ति क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ पाइएको छ ।

यता, जगदम्बाबाट संकलित नमुनाको संकुचित शक्ति पनि १६ र २२ हुनुपर्नेमा १५ र २० मात्र रहेकोले ती कम्पनीको सिमेण्ट बिक्रीमा रोक लगाइएको बताइएको छ ।

टिप्पणीहरू