रसुवामा पनि ‘१० भाइ’ समूहको बिजोग

रसुवामा पनि ‘१० भाइ’ समूहको बिजोग

महाधिवेशन प्रतिनिधि चयनमा देशैभर बढारिएको नेकपा एमालेको ‘१० भाइ’ समूह रसुवामा शुन्य भएको छ । सात जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन हुँदा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका र पार्टी विभाजनपछि एमालेमै बसेका ‘१० भाइ’ समूहका एक जना पनि नपरेका हुन् ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको रसुवामा पनि निर्विरोध प्रतिनिधि चयन गरिएको थियो । १६ जना आकांक्षीबाट छानिएका सात जनामध्ये पूर्वमाओवादी समूहका एक र बाँकी सबै ओलीपक्षका हुन् ।

खुलातर्फ जिल्ला अध्यक्ष कर्णेल लामा, संविधानसभा सदस्यद्वय छेवाङ तेन्जिङ तामाङ र जनार्दन ढकाल, जिल्ला समन्वय समिति संयोजक कुलप्रसाद भट्ट र अशोक घिमिरे चुनिएका छन् । महिलातर्फ सुभद्रा देवकोटा र दलितबाट चमेली बिक सुनुवार (शिला) छनौट भएका हुन् । उनीहरुमध्ये सुनुवार पूर्वमाओवादी हुन् भने अरु सबै अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्नेहरु हुन् ।

‘१० भाइ’ समूहबाट तत्कालीन नेपाल समूहको समानान्तर कमिटीका अध्यक्ष पेम्बा लामा, तेम्ब्रेल तामाङलगायत प्रतिनिधिको दाबेदार देखिएका थिए । उनीहरुमध्ये कम्तिमा एक जना प्रतिनिधि छानिने अनुमान गरिएको थियो ।

रसुवामा मात्र होइन, देशभरको प्रतिनिधि चयनमा अध्यक्ष ओलीको जय जयकार गर्नेहरूले मात्रै मौका पाएको भन्दै कतिपय स्थानमा असन्तुष्टि चर्किएको छ । प्रतिनिधि छनौटमा एकलौटी गरिएको भन्दै कैलालीमा उपाध्यक्ष भीम रावल निकट समूहले छुट्टै भेला राखेको छ ।

टिप्पणीहरू