बारको आन्दोलन हुँदा इजलासमा बस्ने न्यायाधीश दुषित हुन् : वरिष्ठ अधिवक्ता थापा

बारको आन्दोलन हुँदा इजलासमा बस्ने न्यायाधीश दुषित हुन् : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताएका छन् । इजलास वहिष्कार गरेर अघोषित आन्दोलनमा लागेका केही न्यायाधीशहरु नियमित काममा फर्किन लागेकोतर्फ इंगित गर्दै उनले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने दाबी गरेका हुन् ।

आज नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बारले आन्दोलन गरिरहेका बखत इजलासमा बस्ने न्यायाधीश दुषित भएको टिप्पणी पनि गरेका छन् । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन भनेर सोध्नका लागि उनले न्यायाधीशहरुलाई आग्रहसमेत गरे ।

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको पनि बताएका छन् । नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको उनको भनाइ छ ।

उनले भने, ‘आज प्रधानन्यायाधीशको सिट खाली छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाईं र मैले खाली गरिसक्यौ, खाली भइसक्यो । अर्को मनोनयन गरेका छैनन् । तपाईं र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’

थापाले आफूहरु भ्रष्टाचारीको पछि लागेर बहस गर्न नजाने पनि स्पष्ट पारे । प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने उनको भनाइ छ । भने, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । संसदमा पूरा पोइन्टसहित बुलेटमा, यीनका घरजग्गासहित ।’

उनले कानुन व्यवसायीहरुलाई समेत भ्रष्टाचारको आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै आफूहरुमाथि छानबिन गर्न चुनौती पनि दिएका छन् । सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यबद्धता जनाउन उनले सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गरे ।

राजनीतिक दलहरुले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्ने बेला आइसकेको थापाले बताए । न्यायालयको समस्या समाधान गर्ने कि पैसामा न्याय किनिने पक्षमा राजनीतिक दलहरु उभिने ? उनले प्रश्न गरे ।

बारले आज पनि सर्वोच्च अदालतमा बिहान धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले राणाको राजीनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।

टिप्पणीहरू