ई–पासपोर्ट वितरण थालियो

ई–पासपोर्ट वितरण थालियो

एमआरपी विस्थापन गरी सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ । पहिलाे ई–पासपोर्ट शताव्दी पुरूष सत्यमाेहन जाेशीलाइ प्रदान गरिएकाे छ ।

राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्नु भएको हो ।

अन्तर्राष्ट्रियस्तरमा हाल प्रचलनमा रहेको विद्युतीय राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले सुरक्षित परिभाषित गरिसकेको बताइएको छ ।

यसमा मोबाइलको सीमकार्डझैँ सानो विद्युतीय चिप राखिएो हुन्छ । जसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्याङ्क पनि राखिएको हुन्छ । त्यहि चिप्सलाई कम्प्युटरले पढेपछि यात्रुको सबै विवरण कम्प्युटरको स्क्रिनमा पढ्न सकिने बताइएको छ ।विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले पनि फेरबदल गर्न नसक्ने भएकाले विद्युतीय राहदानी निकै विश्वासिलो र सुरक्षित हुने जानकारी दिइएको छ ।  शुरुमा दैनिक सीमित संख्यामा मात्र विद्युतीय राहदानी वितरण गरिने विभागले जनाएको छ । तर एक साताभित्र विद्युतीय राहदानी पूर्णरूपमा वितरण गरिने योजना रहेको जानकारी दिइएको छ ।

विद्युतीय राहदानी पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित स्थानको तस्बिर राखिएको छ । हाल कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी छ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरि विभागले सात किसिमका विद्युतीय राहदानी जारी गरेको छ ।

सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’ सँग विद्युतीय राहदानी छपाइको निम्ति दुई अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

टिप्पणीहरू