​कुरा फेरि क्रिटिकल केसको

  • अजय गोर्खाली

कानुनको नजरमा ‘बिहेबारी, २० वर्षपारि’ भनिएको छ । सानो उमेरका केटाकेटीसित ठूलाले सहमतिमै यौनकार्य गरे पनि ललाइफकाई बलात्कार गरेको मानिन्छ । तर, १५/१६ वर्षमै बिहे गरेर आमाबाबु बनेकाहरू कति छन् कति ! केटाको उमेर २०/२५ वर्ष माथि नै भए पनि घरजम गरेर बसेका थुप्रै छन् । किनकि परिवार र स्थानीय समाजले स्विका¥यो, उजुरी परेन । तर, यहाँ २२/२३ वर्षीय युवक बालिकामाथि जबर्जस्ती करणी गरेको कसुरमा समातिएका छन् । केटीको संरक्षकबाट उजुरी परेपछि असार १४ गते पक्राउ परेका अमृत रोका (अमृतबहादुर सार्की) प्रहरी हिरासतमा छन् ।

११ गते ६/७ बजे अमृतले केटीलाई भरतपुर–११, भोजाडस्थित आफ्नो घर लगेका थिए । त्यसअघि बाटोमा मकैबारीमा यौनकार्य गरेछन् । केटी तीन दिन केटाको घरमा बसिन् । केटाको परिवारजनले सोध्दा ‘म अमृत दाइलाई छाड्दिनँ, उहाँसँगै बिहे गरी बस्छुु’ भनेपछि केटीलाई लगाउन कपडा पनि दिए । केटाकी दिदी उमा आलेले भनिन्, ‘सिन्दूर पनि हालेको थियो ।’ प्रहरी हिरासतमा आफ्नो भाइ बिरामी भएको पनि उनले सुनाइन् । केटीकी दिदी तथा अभिभावक केटी हराई भनेर चिन्तित हुन्छन् भनी केटाले नै भेटाउन लगे । केटीका अभिभावकले तत्काल केटीलाई राखेर केटालाई पठाए । यसपछि केटीलाई कुटपिट गरे अनि जिल्ला प्रहरी कार्यालय चितवनमा उजुर गरेर केटालाई पक्रिन लगाए । केटीको तर्फबाट १४ गते सानीआमाले अमरापुरी–१ ठेगाना जनाएर प्रहरीमा उजुरी दर्ता गरिएको छ, केटीको उमेर १६ वर्ष नपुगेको बताइन्छ ।

विदेश पठाउन लागेको छोरो । दाइले साउदी अरबबाट भिसा पठाउँदै छ । त्यसकै लागि म्याजिक गाडीमा काम गर्दै थिए । पहिले ‘अमृतसँग बिहे गर्न चाहन्छुु’ भनेकी केटीले पछिल्लो समय ‘यस्तो गाँजा खाने केटाले पाल्न सक्दैन’ भनेर अभिभावककै भनाइ बोल्न थालेको अमृतकी आमा रिताले बताइन् । त्यसमाथि जातीयताको कुरा पनि हुन सक्छ । बरु गाँजै खाएर बसेको भए पनि केही हुन्थेन, रिताले भनिन्, ‘यसरी केटीसँग नलागेको भए हुन्थ्यो । अहिले रातभरि निद्रा छैन, दिनमा भोक पनि छैन, कहाँ गएर, के गरेर चित्त बुझाउने ?’ उनले थपिन्, बरु त्यतिबेलै केटीलाई पठाइदिनुपर्ने रहेछ ! यदि केटीले अमृतलाई जोगाइदिइन् वा अमृतसँगै बिहे गरेर बस्छु भनिन् भने माइतीमै राखेर पढाइदिने रिताले बताइन् ।

महिला र बालबालिकाको कानुन कडा छ । महिलाको पक्षमा बनेका कानुनले कैयौं पुरुष पीडित भइरहेको परिप्रेक्ष्यमा अब पुरुषको हकमा पनि कानुन आउँदै छ । बालकानुनको संरक्षण सबैले गर्नुपर्छ तर कतिपय क्रिटिकल अवस्थामा व्यावहारिकतालाई भने भुल्नुहुन्न । ‘कानुनको नजरमा एकदम क्रिटिकल केस छ,’ अधिवक्ता बलराम पौडेलले भने, ‘यो बिहे गैरकानुनी मानिन्छ । नाता कायम हुन सक्दैन ।’ प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोगपत्रसहित अमृतलाई उपस्थित गराइन्छ, थुनछेक बहस हुन्छ । त्यतिबेला शुद्ध तारिखमा छाड्ने, धरौटी जमानतमा राख्ने वा पुर्पक्षका लागि थुनामा पठाउने तीन वटा विकल्प छन्, उनले भने । त्यसपछि दुईपक्षीय वकिलको बहस, बयान र सबुत–प्रमाणका आधारमा फैसला हुने हो । 

हिरासतमा भेट्दा अमृतले जबर्जस्ती नगरेको, केटीलाई बिहे गरेको बताएको वकिल जनाउँछन् । यस केसमा प्रतिवादीको तर्फबाट आफूले मुद्दा लड्ने बलरामले बताए । केटीले माइती नेपालका कर्मचारीलाई बताएजस्तै केटासित सहमतिमै यौनकार्य गरेको, घाँटीको दाग केटाले किस खाँदा भएको, मलाई मेरा संरक्षक तथा अभिभावकले करकाप तथा कब्जामा पारेर मुद्दा हाल्न लगाएको बताइन् भने केटा छुट्ने सम्भावना रहन्छ, रत्ननगर, टाँडीमा न्यायदूत ल फर्म चलाउने उनले भने, तर केटीले मलाई केटाले जबर्जस्ती करणी नै गरेको हो भनिन् भने अमृत कानुनबमोजिम जेल चलान हुनेछन् । 

श्रीमतीले कुटेको भन्दै छन् श्रीमान्

पुरुष हेर्दा वलिष्ठ नै छन्, ३५/३६ वर्षका लक्का जवान । तर, महिलाबाट कुटिएको बताइरहेछन् । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवन रत्ननगर, बछौलीका युवक महिला प्रहरीसामु रुँदै आफ्नो व्यथा सुनाउँदै थिए, ‘मलाई श्रीमती र दिदीसासू मिलेर कुटे ।’ 

पहिले लभ परेपछि मागेर बिहे गरिएकी श्रीमती, पछिल्लो समय परपुरुषसँग लागेपछि घरझगडा भएको उनले बताए । बिहे गरेको १० वर्ष भयो, एउटा बच्चा छ । रत्ननगरकै पदमपुरतिरका तरकारी व्यापारी रामशरण चौधरी (विवाहित नै) आफ्नी पत्नीसित लागेको बताउँछन् । आफ्नी श्रीमतीकी दिदी पनि परपुरुषसँग लागेको उनको आरोप छ । उनी भरतपुरको एक सामुदायिक अस्पतालमा प्राविधिकको काम गर्छन् ।

यसअघि पनि यो दम्पतीको झगडा र कुटपिटबारे प्रहरी कार्यालयमा मेलमिलाप गरी पठाइएको बुझिन्छ । फेरि कुटपिट भएको भन्दै लोग्ने प्रहरी कार्यालय आइपुगे । यसअघि उनको कुटपिटबाट श्रीमतीको अनुहारभरि नीलडाम तथा चोट भएको तस्बिर महिला प्रहरीले देखाइन् । 

पत्नीपीडित बताउने युवकतर्फ इंगित गर्दै अर्का एक पुरुषले माइती नेपालकी कर्मचारीलाई सुनाउँदै भने, पुरुषको समस्या पनि हेर्नुप¥यो ! माइती नेपालकी परामर्शदाता जयन्ती खनाल एक जना युवक र एउटी किशोरीको विषयमा कुरा गर्दै थिइन्, महिला प्रहरी कक्षमा । केटा २७ वर्षको, केटी १९ की । केटा विवाहित, घरमा दुईवटा बच्चा भएका । किशोरी अविवाहिता नै ! धादिङबाट घुमघाम गर्न आएका रे ! नारायणगढको पोखरा बसपार्कस्थित सतनचुली होटलबाट पक्रेर उनीहरूलाई प्रहरी कार्यालयमा पु¥याई दुवैको परिवारजनलाई बोलाएर जिम्मा लगाउन लागिएको थियो ।

टिप्पणीहरू