हालसम्मकै ठूलो राशिको ‘आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

हालसम्मकै ठूलो राशिको ‘आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

आर्थिक पत्रकारिता क्षेत्रको हालसम्म कै ठूलो धनराशिको आर्थिक पत्रकारित पुरस्कार घोषणा गरिएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

बैंकिङ तथा बीमा विज्ञ एवम् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले पुरस्कार प्रदान गरिने छ ।

भट्टराईले आफ्ना माता पिताको सम्मानमा उक्त पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् । पुरस्कारका लागि आवश्यक पर्ने स्रोतको लागि भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने छन् । पुरस्कार सम्बन्धी सम्झौतापत्रमा आज नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधिको आधारमा छनौट गरी पुरस्कृत गरिने नाफिजले जानकारी दिएको छ ।

टिप्पणीहरू