​भित्र छिरेपछि सबथोक भटाभट !

के तपाईंले शौचालय पनि ‘स्मार्ट’ बन्छ भन्ने कतै सुन्नुभएको छ ? नसुनेको भए एकपल्ट नेपाल सरकारका सचिव गजेन्द्र ठाकुरलाई सोध्नुस् त, उनले प्रधानमन्त्रीलाई ‘स्मार्ट ट्वाइलेट’ बारे भर्खरै बेलिविस्तार लगाइसकेका छन् !
 
बिहीबारदेखि विभिन्न मन्त्रालयहरुको प्रगति समीक्षा शुरु भयो । बैठकमा प्रधानमन्त्री आफैँ उपस्थित भएर सबैका कुरा सुनेका छन् । दिउँसो २ बजेदेखि राति १० बजेसम्म चलेको समीक्षा बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र सहसचिवहरु सहयोगी थिए । एक त मध्य गर्मीको याम, त्यसमाथि अरुका विषयमा त्यति कान नलाग्ने बानी ! त्यसैले घरी मन्त्री, घरी सचिव पालैपालो ‘घ्वार्र–घ्वार्र’ गर्दै घुरेको ! प्रधानमन्त्रीलेचाहिँ ब्रिफिङ गर्नेलाई एकपछि अर्को गर्दै प्रश्न सोधिरहेको पाइयो । मन्त्री र सचिवहरुले घुरेर हैरान पारेपछि पहिलो दिनमै प्रधानमन्त्रीले जेल जीवनको प्रसंग सुनाएका थिए– जेलमा प्रवचन हुन्थ्यो । त्यसक्रममा सबैलाई एक–एकवटा विषयमा प्रवचन दिन लगाइन्थ्यो । तर, बोल्ने बोलेको बोल्यै, सहभागीहरु चाहिँ घुरिरहने । घुर्नेलाई ‘सार खिचेको’ भन्थे रे † अर्थात्, भन्नेका कुरा सुनेर, त्यो कुरा दिमागभित्र हालेको भनी घुर्नेलाई उडाइन्थ्यो । प्रधानमन्त्रीले भने, ‘तपाईंहरु पनि सार खिच्दै हुनुहुन्छ †’ यसपछि सहभागीहरु एकछिन गलल हाँसे ।

यसरी अर्काका कुरा सुनेर बस्नुभन्दा बैठकमै घुर्ने क्रमलाई खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भंग गरे । उनले असोज १५ भित्र काठमाडौंमा मेलम्चीको खानेपानी वितरण शुरु हुनेमात्रै सुनाएनन्, मेलम्चीकै दोस्रो फेजमा यांग्री र लार्के खोलाको पानी अहिले बनेको मेलम्चीमा मिसाउने काम पाँच वर्षभित्र सम्पन्न गर्ने बताए । प्रधानमन्त्रीले बीचैमा टिप्पा लगाए– यांग्री भनेको यहीँ शिवपुरी डाँडामा, नजिकै छ ? यांग्री र लार्के खोलाको पानी मेलम्चीमा जोड्न करिव १२ किलोमिटर नयाँ सुरुङ खन्नुपर्छ । यो आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी आउनेछ । त्यो पानी मिसाएपछि थप ३४ करोड लिटर पानी काठमाडौं आउने योजना हो । तर, प्रधानमन्त्रीले पाँचै वर्षमा आयोजना सम्पन्न हुने गजेन्द्रको कुरामा त्यति विश्वास गरेनन् । त्यसो त चालु आर्थिक वर्षमा धादिङको बेनीघाट, आरुघाट हुँदै लार्के भञ्ज्याङ जोड्ने मोटरबाटोको योजना पनि समावेश भएको र काम सहज हुने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीले फेरि सोधे, ‘अरु पनि केही छ कि ?’ ठाकुरले भने, ‘स्मार्ट ट्वाइलेटको कुरा बाँकी छ हजुर !’ यति सुनेपछि प्रधानमन्त्री चकित भए । ‘हैन, यो स्मार्ट ट्वाइलेटमा के–के हुन्छ ?’ गजेन्द्रले सुनाए, ‘भित्र छिरेपछि सबै कुरा आफैँ हुन्छ । मान्छेले केही गर्नुपर्दैन ।’ अचम्म मान्दै प्रमले सोधे, ‘ए, सबै कुरा स्वचालित ?’ गजेन्द्रले भने, ‘हो हजुर † मान्छे त गएर बसे मात्रै पुग्छ, सबै काम आफैँ हुन्छ †’ यस्तो कुरा सुनेर प्रधानमन्त्री मात्र हाँसेनन्, घुरिरहेका र उँघिरहेका मन्त्री, सचिव सबै एकैचोटि खितखिताए । सबै हाँसेपछि गजेन्द्रले फेरि भने, ‘डोल्पामा त्यस्तो एउटा स्मार्ट ट्वाइलेट छ । सबैले एकचोटि टेष्ट गरे हुन्छ ।’

खासमा सरकारले आर्थिक वर्ष ०७५/७६ लाई राष्ट्रिय सरसफाई अभियान वर्षका रुपमा मनाउने घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्ने गरी स्मार्ट शौचालयको अवधारणा अगाडि सारेका थिए । सरकारले शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिकस्थानमा सुविधासम्पन्न स्मार्ट शौचालय निर्माण गर्न आवश्यक रकमसमेत विनियोजन गरेको छ । 

बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा मात्रै गरेर हुन्छ ? विदेशबाट प्लेन किनेर एयरपोर्टमा थन्क्याएको छ । चलाउने पाइलट छैनन् । ऋणको व्याज बढेको बढ्यै छ । फेरि तपाईंहरु स्मार्ट ट्वाइलेटको कुरा गर्न थाल्नुभयो !’

टिप्पणीहरू