अफगानिस्तानको पाइन नट्स जहाज चढेर चीनमा

अफगानिस्तानको पाइन नट्स जहाज चढेर चीनमा

अफगानिस्तानबाट पाइन नट्सको निर्यात फेरी शुरु भएको छ । त्यस्तो निर्यात अधिकांश छिमेकी चीनमा भएको हो । अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाको फिर्ती र तालिवानको कामचलाउ सरकार स्थापनापछि गत साता भएको यो नै पहिलो निर्यात हो ।

चीनमा पुनः शुरु गरिएको पाइन नट्स निर्यातले स्थानीय व्यापारीलाई आम्दानी बढाउन र अरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न अवसर मिलेको बताइन्छ । यसबाट आगामी वर्ष यसमा थप लगानी गर्न प्रोत्साहन मिलेको अफगानिस्तानका एक जना व्यापारी नूर मोहम्मदले बताएका छन् ।

अफगानिस्तानको पूर्वी लाघमान प्रान्त निवासी मोहम्मदले भने, ‘मैले हरेक दिन पाइन नट्स संकलन र प्रशोधन गर्न १ सय २० जनालाई रोजगारी दिएको छु ।’ ४२ वर्षीय मोहम्मदले चीन अफगान नट्सका लागि राम्रो बजार भएको बताउँछन् । उनले भने, ‘छिमेकी देशमा हवाई उडानबाट शुरु भएको निर्यातले सबैलाई उत्साह थपेको छ ।’

‘चीनमा पाइन नट्स निकासी गर्दा पर्याप्त मूल्य पाइन्छ । अन्यथा किसानको बिचल्ली हुन्छ साथै नट्स व्यापारीहरू पनि मारमा पर्छन्,’ उनले भने । अफगानिस्तान र चीनबीच सन् २०१८ को नोभेम्बरमा व्यापार र आर्थिक सम्बन्धलाई बढावा दिने उद्देश्यले हवाई करिडोर शुरु गरिएको थियो । तर यो वर्ष अगस्टको मध्यमा तालिवानले सत्ता हातमा लिएपछि केही समय उक्त उडानसमेत स्थगित भएको हो ।

अफगानिस्तानले अक्टोबरको अन्त्यमा चार्टर विमानबाट ४५ टन पाइन नट्स चीनमा निर्यात गरेको छ । अर्का एक जना व्यापारीले पनि चीनमा पाइन नट्स निकासी गर्न प्रत्येक दिन १ सय ५० जनालाई दैनिक ज्यालादारीमा लगाएको बताएका छन् । थप निर्यात र उच्च नाफाले अफगान जनताको आर्थिक अवस्था र जीवनयापनमा सुधार आउने व्यापारी रहिमुल्लाहको विश्वास छ ।

पूर्वी लघमान, नान्गार्हार, कुनार, कपिसा, नुरिस्तान, खोस्त, पक्टिया र पक्टिका प्रान्तमा पाइन नट्सको व्यावसायिक खेति हुने गरेको छ । ती स्थानमा हजारौं महिलासमेतले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको अमेरिकामा रहेका सबै सम्पत्ति रोक्का गरिएको छ । बैंकिङ गतिबिधिहरूमा प्रतिबन्ध लगाइएको छ । यी सबै कारणले गर्दा अहिले अफगानिस्तानले चर्को आर्थिक समस्याको सामना गरिरहेको छ ।

विश्व खाद्य कार्यक्रम डब्लुएफपीका अनुसार अफगानिस्तानका लगभग ३ करोड ५० लाख जनसंख्यामध्ये २ करोड २० लाखभन्दा बढीले आगामी हिउँदमा खाद्यान्न अभावको चर्को सामना गर्नुपर्ने अवस्था देखिएको छ ।

समाचार/फोटो : सिन्ह्वा

टिप्पणीहरू