कुराले मात्रै कहाँ नाम कहलिन्छ र !

हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनिरहेका हुन्छौँ । तर, गर्नचाहिँ केही सकिएको छैन । विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा रक्सी उत्पादन गरिरहेका छौँ । तर, स्वदेशमै उपलब्ध स्रोत र साधनको सदुपयोगतर्फ कसैको ध्यान छैन । 

यहीँ उत्पादित कच्चा पदार्थ र जडीबुटीमा पनि खासै चाख र चासो देखिन्न । भारतमा उत्पादन हुने रक्तचन्दन चीनमा अत्यधिक खपत हुन्छ । नेपालको बाटो भएर जान्छ । हामीले साइटिस सन्धिमा हस्ताक्षर गरेको नाममा त्यसलाई सदुपयोग गर्ने र त्यसबाट लाभान्वित हुने अवसर पनि गुमाउँदै आएका छौं । व्यक्ति मोटाउने, तस्करी मौलाउने र मान्छे मर्ने, मार्नेसम्मका काम यही निहुँमा हुन्छन् । वृक्ष लगभग १० मिटर अग्लो र थामोको गोलाई बढीमा दुई मिटर हुन्छ । यसको चुरोको काठमा रातो रस हुन्छ र त्यो सुकेपछि काठ पनि रातै हुन्छ । बोक्राचाहिँ अलिक कालो–कालो परेको हुन्छ । यसको प्रत्येक भेट्नोमा गोलाकार वा अण्डाकारका तीन पात हुन्छन् । जाडोयाममा यी झर्छन् । रक्तचन्दन भनिए पनि यसको फूल भने पहेँलो हुन्छ र झट्ट हेर्दा केराउको फूलजसरी फक्रिन्छ । यो छिटो बढ्ने वृक्ष हैन । एकपटक काटेर फेदबाट पलाएको बिरुवा ४० वर्षपछि मात्र फेरि काट्न हुन्छ । यो वनस्पति प्रायः दक्षिण भारतमा मात्र पाइने तर भारत, चीन, जापान, कोरियालगायत विश्वका धेरै देशमा प्रयोग हुने भएकाले यसलाई विश्वमा संकटाग्रस्त वृक्षको सूचीमा राखिएको छ । अवैध व्यापारबाट यसको संरक्षणमा प्रतिकूल प्रभाव नपरोस् भनेर भारत सरकारको पहलमा ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन र नियन्त्रण गर्ने विश्व महासन्धि’ (साइटिस) को अनुसूची–२ मा पनि अंकित गरिएको छ । यस अनुसूचीभित्र परेका विरुवाको व्यापार गर्नुपरेमा आयातकर्ता तथा निर्यातकर्ताले आ–आफ्नो देशका ‘साइटिस’ अधिकारीबाट अनुमति लिनुपर्छ । हामीकहाँ वन अधिकृत नै ‘साइटिस अधिकृत’ तोकिएका छन् । सरकारले बढीभन्दा बढी कर लिएर त्यसलाई नियमन गर्दा देश नै समृद्ध हुने हो । तर, यतातिर ध्यान दिने गरिँदैन ।

अर्को ‘माल पाएर चाल नपाएको’ विषय हो, यार्चागुम्बा । हिमाली भेगमा पाइने, ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वस्तु । विश्वमा सय प्रजातिका यार्चागुम्बा पाइनेमध्ये चीनमा २१, भारतमा सात र नेपालमा दुई प्रजातिका छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुणसम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखुराको मासुमा र मिर्गौला रोगमा सुँगुरको मासुमा पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा चिनियाँ औषधि विधिअनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन, शुक्राणुलाई स्वस्थ राख्न अण्ड र डिम्बाशयको खराबी, कमलपित्त–जण्डिसमा यो उपयोगी मानिन्छ । सन् २००१ सम्म व्यापारिक प्रयोजनमा रहेन र यसको मूल्य पनि थिएन । अहिलेको विश्व बजारमा नेपाली रुपैयाँ प्रतिकेजी २८ लाखसम्म पर्छ । यसको उत्पादन नेपालका सबैजसो हिमाली भेगमा त हुन्छ । तर, बिक्रि वितरणको कुनै व्यवस्थापन छैन । चीनमा यार्चाको व्यावसायिक खेती नै गराइन्छ । झण्डै ७३ अर्ब आरएमबीको यार्चा त उपहारमै जान्छ । 

त्यस्तै, अर्को हो कस्तुरी । दक्षिण एशियाका हिमाली भेगमा मात्र पाइने कस्तुरी पहिला नेपालका हिमाली भेगमा मात्र हुन्थे । तर, नेपालले यसमाथि प्रतिबन्ध लगाएपछि चीनमा व्यवसायिक रुपमा कस्तुरीको पालना हुन्छ । त्यसबाट उत्पादित हुने बीनाको बजार मूल्य र उपयोगिता आकर्षक छ । 

नेपालमा प्रचुरमात्रामा उत्पादन हुनसक्ने सुनाखरी अर्को उदाहरण हो । यसको अत्यधिक खपत चीनमा हुन्छ । हामीकहाँ जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, सिंहदरबारतिर बैद्यखानाहरु छन् । सुनाखरीबाट पाइने धेरै किसिमका औषधी उत्पादन र सौन्दर्य प्रशाधन तयार पार्नेमा ती निकायले कुनै योजना बनाएका छैनन् । न त विदेश निकासीमा अलग किसिमको कर नै तोकिएको छ । अर्थात्, हाम्रा जडीबुटीलाई भारतले सस्तोमा लैजान्छ । रामदेव, युनिलिभर (डाबर) कम्पनीहरुले त्यसबाट अर्बौं अर्बको व्यापार चलाइरहेका छन् । त्यस्तै, हिमाली भेगमा पाइने सिबकथ्रोन बिहान उठेर दुई–तीन थोपा खायो भने नशा उत्रिनेदेखि शरीरमा फूर्ति बढ्छ तर यसको पनि कुनै उपयोग छैन । हामीकहाँ गाउँ–गाउँमा लोठसल्ला छ । त्यसबाट महिलाको पाठेघर र स्तन क्यान्सरको प्रतिरोधी केमो उत्पादन हुन्छ । त्यही प्रयोजनका लागि हामी विदेशमा निर्भर छौँ । अत्तर उत्पादनमा नभई नहुने जटामसी हामीकहाँ नै पाइन्छ । दार्चुलाको अपिनाम्पामा २०६६ सालदेखि १९०३ वर्ग किलोमिटरमा यसलाई संरक्षण गरिएको छ । तर, हामीसँग भएको जडीबुटी सस्तो र सजिलोमा लगेर विदेशीले उत्पादन गर्छन् । सर्पको खेती गरेर, सर्पलाई घोडाको टापमा टोकाई त्यसबाट तप्प–तप्प चुहिने रगतलाई एन्टी स्नेक भ्याक्सिन बनाउन सकिन्छ । हामीले त्यसो पनि गर्न सकेका छैनाँै । हिमाली भेगमा लाग्ने मेलामा चौंरीको शरीरमा सुइरो घोपेर त्यसको तातो रगत खाने गरिन्छ । किनभने, चौंरी जडीबुटी खाएर हुर्किएको हुन्छ । त्यस्तै हो घोडाको टापमा सर्पलाई टोकाउने पनि ।

मार्सी चामल जुम्लामा उत्पादन हुन्छ भनिरहेका छौँ । तर, त्यसको ट्रेडमार्क अमेरिकासँग छ । हामी हात बाँधेर बस्छौँ । यतातिर ध्यान दिँदैनौँ । हाम्रा कृषि मन्त्रालय, वन मन्त्रालय के गरिरहेका छन् ? होटलका रिसेप्सनिष्ट हँसिला भइदिए, जहाजका एयर होस्टेस फूर्तिला भइदिए न पर्यटक वृद्धि हुने हो । हाम्रा कम्पनी रजिष्ट्रार कार्यालयका मानिसहरु इमान्दार हुने हो, उद्योग र वनका अधिकारीमा राष्ट्रप्रेम झल्कने हो भने हाम्रै उत्पादन र जडीबुटीको उत्खनन् बढ्न सक्छ । त्यसबाट देशले असिमित आर्थिक लाभ पाउने अवसर पनि सुरक्षित छ । तर, हामी सस्तोमा सेवा दिइरहेका छाँै । विदेशीलाई सूचना पनि सस्तोमै बेचिरहेका छौँ ।

नेपालको कूल भू–भागको ४० प्रतिशत क्षेत्रफल वनले ढाकेको छ, जहाँ विश्व बजारमा अत्यधिक माग भइरहेका अनगिन्ती जडीबुटी उत्पादन हुन्छन् । तर, कूल गार्हस्थ उत्पादनमा बन क्षेत्रको योगदान मात्रै ६ प्रतिशतको हाराहारीमा छ । वनभित्र वन्यजन्तु हुन्छन् । तिनको उचित संरक्षण र संवद्र्धनले पर्यटन उद्योग फस्टाउँछ । निश्चित वनमा शिकार खेल्न अनुमति दिँइदा पर्यटक बढ्ने र भौगोलिक विविधता विश्वभर प्रचार हुने कुरातर्फ ध्यान दिइँदैन । नेपालको वनबाट कार्बनबापतको उचित प्रिमियम प्राप्त गर्ने सम्भावना त छ, तर, ध्यान कसैको गएको छैन । यर्चागुम्बाबाहेक नेपालमा पाँचआंैले कुटकी, निरमसी, गुच्ची च्याउ, पाखनवेद, सतुवा, वन लसुनलगायतका जडीबुटी सहजै उत्पादन गर्न सकिन्छ ।

टिप्पणीहरू