सुर्खेतमा आफ्नो वर्चश्व हुने काँग्रेसको दुबै पक्षको दाबी

सुर्खेतमा आफ्नो वर्चश्व हुने काँग्रेसको दुबै पक्षको दाबी

नेपाली काँग्रेस सुर्खेतले गाउँ/नगरपालिका अधिवेशन आज गर्दैछ । सुर्खेतमा काँग्रेसले पालिका अधिवेशनको तयारी पूरा गरेको बताएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को अधिवेशनको नतिजा ढिलाइका कारण पूर्वनिर्धारित कार्यक्रम आज सारिएको हो ।

पालिका अधिवेशन पालिकाका केन्द्रहरुमा हुने जनाइएको छ भने वीरेन्द्रनगरको अधिवेशन पार्टी कार्यालयमा गर्न लागिएको छ । नौ वटा पालिका रहेको सुर्खेतका ९९ वटा वडाहरुमा सौहार्दरुपमा वडा अधिवेशनहरु सम्पन्न भएको बताइएको छ ।

तीमध्ये अधिकांशमा सहमति र केहीमा निर्वाचनबाट वडा अधिवेशन भएको हो । वडाबाट १६ देखि ४६ जनासम्म प्रतिनिधिहरु छनौट भएका छन् । छनौट भएका प्रतिनिधिहरुले पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनमा सहभागी हुन पाउने छन् ।

वडा अधिवशेनबाट निर्वाचित प्रतिनिधिहरुको काँग्रेसभित्रका केन्द्रको संस्थापन पक्ष सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापन इतर रामचन्द्र पौडेल पक्षले जोडघटाउ थालेका छन् । त्यसैगरी जिल्लामा महामन्त्री पूर्णबहादुर खड्का तथा केन्द्रीय सदस्य हृदयराम थानी पक्षले पनि प्रतिनिधिहरुको छुट्टै जोडघटाउ थालेको बुझिएको छ ।

दुबै पक्षले जिल्लाका पालिकामा आफ्नो वर्चश्व राख्ने प्रयास थालिसकेका छन् । खड्का पक्ष थानी पक्षको वडाहरुमा जीत हासिल भएकोमा हौसिएको छ भने थानी पक्ष पनि खड्काको पकेट क्षेत्रमा केही सुधार भएकाले आफ्नो वर्चश्व हुनेमा आशावादी देखिन्छन् ।

पालिका अधिवेशनमा वडाबाट छनौट भएका प्रतिनिधि र वडा सभापतिले मताधिकारको प्रयोग गर्न पाउँछन् । सुरुमा सहमतिको प्रयास गरिने नभए निर्वाचनबाट नेतृत्व टुंगिने अवस्था देखिएको एक जना जिल्लास्तरीय काँग्रेस नेताले बताएका छन् ।

टिप्पणीहरू