थाहै नदिई रिपोर्टमा थपथाप

चिकित्सा शिक्षा जाँचबुझ आयोगको रिपोर्टमा कतिपय इमानदार चिकित्सकलाई समेत मुछिएको पाइएको छ । आयोगमा संयोजक गौरीबहादुर कार्की, सदस्यमा हाल मृत्यु भइसकेका पूर्वस्वास्थ्यमन्त्री वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम थिए ।

रिपोर्टमा वरिष्ठ सदस्य गौतमले नोट अफ डिसेन्ट लेख्नुभएको छ । उपेन्द्र देवकोटालाई रिपोर्टबारे जानकारीसम्म दिइएको थिएन । उहाँले युकेमा रहँदा यस रिपोर्टमा मेरो पूर्ण असहमति छ भनी सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो । पछि उहाँ सिकिस्त बिरामी भई न्युरो अस्पताल काठमाडौंमा उपचारार्थ भर्ना भएको अवस्थामा विभिन्न दबाब दिएर सहमति गराउन खोज्नुको के अर्थ ? जबकि रिपोर्ट बुझाउनुपूर्व बहुमत सदस्यहरूको सहमति भई अनिवार्य हस्ताक्षर भएको हुनुपर्छ । चिकित्सा शिक्षा जाँचबुझ आयोगको रिपोर्ट अल्पमतमा परेको छ । दुईतिहाइ सदस्यको असहमति भएको रिपोर्ट कसरी कार्यान्वयन होला ?

चिकित्सा शिक्षा जाँचबुझ गर्न भनी यसअघि पनि विभिन्न समिति बनेका थिए र रिपोर्टहरू पनि सर्वसम्मत निर्णय गरी बुझाइएको थियो । तर, कार्यान्वयनमा ल्याइएको छैन । मल्लिक आयोग, रायमाझी आयोग आदिका रिपोर्ट अझै कार्यान्वयन भएका छैनन् किनकि त्यसमा पोलिटिकल लिडर धेरै परेका छन् भन्ने पत्ता लागेको छ । गोविन्द केसीले पनि सर्वसम्मत निर्णय भएका रिपोर्टबारे नबोल्ने तर सबैभन्दा विवादित रिपोर्टको पक्षमा बोल्नु भएन ।

नेपालकै वरिष्ठ हृदय शल्यचिकित्सक डा. भगवान् कोइरालाले स्पष्ट भाषामा भन्नुभएकै छ कि, ‘चिकित्सा शिक्षा जाँचबुझ आयोगको रिपोर्टमा कतिपय इमानदार चिकित्सकलाई दोषी देखाइएको छ भने दोषी चिकित्सकलाई चोख्याउने काम गरिएको छ । यो रिपोर्ट त्रुटिपूर्ण र विवादास्पद छ । कार्यान्वयन गर्ने हो भने चिकित्सकलाई काम गर्ने वातावरण हुँदैन । कुनै पनि हालतमा यो रिपोर्ट हुबहु लागू गरिनु हुन्न ।’ – पीडित

टिप्पणीहरू