खोटाङमा एक तिहाई मात्रै

खोटाङमा एक तिहाई  मात्रै

सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका औषधिमध्ये खोटाङमा २८ प्रकारका मात्रै औषधि दिने गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको बताइन्छ । तर पनि खोटाङ जिल्ला अस्पतालमा भने २८ प्रकारका मात्रै औषधि दिने गरिएको स्थानीय बताउँछन् ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ६१ किसिमका र जिल्ला अस्पतालबाट ७० प्रकारका अत्यावश्यक औषधि नागरिकलाई निःशुल्क वितरण गर्ने व्यवस्था गर्दै आएको बताएको छ । तर व्यवहारमा औषधिमा ब्रम्हलुट नै हुने गरेको सरोकारवालाको गुनासो छ ।

अस्पतालमा औषधि नभएपछि सर्वसाधारण सामान्य उपचारका लागि लाखौं रुपैयाँ ऋण गरेर भए पनि हेलिकप्टर चार्टर गरी राजधानी लगायत सुविधासम्पन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको छ ।

सरकारले सबै क्षेत्रका नागरिकका लागि भनेर निःशुल्क औषधि वितरण गर्न वार्षिक अबौँ रकम छुट्याउने गरेको छ । तर, निःशुल्क औषधि नपाउँदा बिरामीले बाहिरबाट आफैँले खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको बिरामीको गुनासो छ ।

निःशुल्क प्रदान गरिने औषधि जिल्लामा पर्याप्त नहुनाको कारणबारे अहिलेसम्म कसैले पनि बोलेका छैनने । त्यसरी नबोल्नुको कारण पछाडि सबैको मिलेमतो रहेको सर्वसाधारणको आरोप छ ।

औषधि स्वास्थ्य संस्थामा नभएको अनौपचारिक जवाफ दिइन्छ । तर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले दोब्बर मूल्यमा औषधिको कालोव्यापार गर्ने गरेको स्थानीयको दाबी छ ।

टिप्पणीहरू