महामारीमा पनि कफी व्यवसाय फस्टायो

महामारीमा पनि कफी व्यवसाय फस्टायो

कोरोना महामारीमा पनि नेपालबाट कफीको निर्यात उत्साहजनक रहेको एक तथ्याङ्कले देखाएको छ । सबैजसो व्यवसायमा कोरोना संक्रमणको असर देखिएपनि कफी खेति र यसको निकासीमा खासै असर परेको देखिएको छैन ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालले पाँच करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा झन्डै चार करोड बढेर नौ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । कोभिडका कारण विश्वनै आर्थिक संकटमा परेका बेला डेढ वर्षको अवधिमा कफी निर्यात दोब्बर देखिएको भन्सार विभागले पुष्टि गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कोभिडकालमा पनि कफी निर्यात बढेकोमा उत्पादकहरु उत्साहित रहेको बताएका छन् । १७औं कफी दिवसको अवसर पारेर हिजो कीर्तिपुरमा उनले कोभिडकालमा कफी निर्यातमा देखिएको उत्साहले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिएको जानकारी दिए ।

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईका अनुसार युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पुर्याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको हो । त्यसका लागि बोर्डले २ नम्बर प्रदेश बाहेक अन्य छ वटा प्रदेशमा कफी खेती बिस्तारका लागि आवश्यक नीतिगत योजनासमेत तय गरेको छ ।

पत्रकार सम्मेलनमा आजदेखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरिएको छ । बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यो वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो । जस नुसार फ्रेस चेरी ग्रेड ’ए’ कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको निर्देशक भट्टराईले जानकारी दिए । त्यसैगरी ग्रेड ’बी’ को सोही कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ ।

पार्चमेन्ट ग्रेड ’ए’ कच्चा कफीको मूल्य प्रतिकेजी ४ सय ५० रुपैयाँ र ग्रेड ’बी’ को मूल्य ३ सय ९७ निर्धारण गरिएको छ । बोर्डले ड्राईचेरी ग्रेड ’ए’ कच्चा कफीको प्रतिकेजी मूल्य १ सय ४८ रुपैयाँ मूल्य तोकेको छ भने ’बी’ ग्रेडको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ ।

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि मागअनुसार कफी आपूर्ति गर्ने योजनासमेत अघि सारेको छ । कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा वाह्य बजारमा ठूलो डिमाण्ड रहेको उल्लेख गर्दै सोहीअनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता पनि जनाए ।

नेपालमा मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ ।

टिप्पणीहरू