एमालेमा चुनाव प्रचार तीव्र, लुम्बिनीकै विष्णु पौडेल कुन पदमा ?

एमालेमा चुनाव प्रचार तीव्र, लुम्बिनीकै विष्णु पौडेल कुन पदमा ?

नेकपा एमालेको दशौँ महाधिवेशनको मिति नजिकिँदै जाँदा भावी नेतृत्वबारे चर्चा शुरु भएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि अध्यक्षसहितका पदाधिकारी चयन गर्ने भएकाले एमालेपंक्तिमा मात्र होइन, आमरुपमा समेत चासो बढेको छ ।

महाधिवेशन आउन जम्मा १० दिन बाँकी रहँदासम्म पदाधिकारीका आकांक्षीहरुले मुख खोलिसकेका छैनन् । यसअघि नै दोहोर्याएर कक्षा नपढ्ने घोषणा गरेका अध्यक्ष केपी शर्मा ओली भने पुनः अध्यक्षमा दोहोरिने निश्चितझैँ छ । तर, आकांक्षीहरु नखुलेका कारण अन्य पदाधिकारीमा को को अट्छन् अझैसम्म प्रष्ट चित्र बाहिरिएको छैन ।

एमाले महाधिवेशनले अध्यक्ष र महासचिव एक–एक जना, वरिष्ठसहित पाँच उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिव निर्वाचित गर्दैछ । अध्यक्षमा सर्वसम्मत या चुनाव जे भए पनि ओलीनै दोहोरिने निश्चित छ । ओलीलाई पुनः अध्यक्ष दोहोर्याउने गरी विधान संशोधन मात्र गरिएको छैन, उहाँ अनुकूल प्रतिनिधिसमेत चुनिएका छन् ।

वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्षमा एक दर्जन आकांक्षी छन् । अन्य पदाधिकारीमा पनि आकांक्षीको संख्या उस्तै छ । अध्यक्षपछिको महत्वपूर्ण र कार्यकारी पद महासचिव को बन्छ भन्ने एमाले वृत्तमा बढी चासो छ । दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेललाई पुनः सोही पदमा दोहोरिन विधानले दिँदैन । त्यसकारण उनी अनिवार्य रुपमा महासचिवबाट बाहिरिँदैछन् ।

त्यसैले उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र ’१० भाइ’ समूहका सुरेन्द्र पाण्डेको महासचिवमा चर्चा छ । तत्कालीन नेकपाको शक्तिशाली महासचिव भइसकेकाले पौडेल यो दौडमा अगाडि छन् । तर, उनलाई शंकर पोखरेलले चुनौती दिने सम्भावना बढेको छ ।

त्यसो त, दुबै जना अध्यक्ष ओलीको रोजाइका पात्र हुन् । तत्कालीन माधव नेपाल समूहमा रहेर पार्टी विभाजनपछि ओलीतिर लागेका पाण्डेको भने कम सम्भावना रहेको बताइन्छ ।

नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे स्वाभाविक दाबेदार हुन् । तर, उनलाई ओलीको समर्थन मिल्ने कम सम्भावना छ । ओलीलाई रिझाएर महासचिव बन्ने पाण्डेको प्रयास भए पनि अध्यक्षले पत्याइहाल्ने आधार बनेको देखिँदैन । देशैभरको प्रतिनिधि छनोटको ट्रेण्ड हेर्दा चुनाव हुँदा समेत पाण्डेको पक्षमा नतिजा आउने सम्भावना शुन्यप्रायः छ ।

यता, एमालेले हालै सार्वजनिक गरेको महाधिवेशनको लोगोमा शंकर पोखरेलको फोटो राखेर महासचिवको उम्मेदवारका रुपमा प्रचार गर्न थालिएको छ । सामाजिक सञ्जालमा व्यापक बनाइएको उक्त फोटोमा पोखरेललाई जबजको व्याख्याता, वैचारिक व्यक्तित्व, कुशल संगठक भनेर प्रचार गरिएको छ । यद्यपि पोखरेल आफैँले भने औपचारिक रुपमा आफूलाई उम्मेदवारका रुपमा अघि सारिसकेका छैनन् ।

त्यसो त, एमाले पंक्तिमा पोखरेलभन्दा पौडेल नै लोकप्रिय मानिन्छन् । नेकपाकालमै महासचिव चलाइसकेकाले देशभरको संगठनमा उनको पकड बलियो पनि छ । विपक्षीलाई समेत कन्भिन्स गर्न सक्ने क्षमताका कारण ओलीसमेत उनीप्रति सकारात्मक रहेको बताइन्छ । ’१० भाइ’ समूहले समेत पोखरेललाई भन्दा पौडेललाई रुचाएका कारण पनि एमालेको भावी महासचिवमा उनको सम्भावना बढी रहेको बताइन्छ ।

पार्टीको आन्तरिक राजनीतिमा स्वीकार्य भए पनि पोखरेलले राष्ट्रिय राजनीतिमा भने बलियो छाप बनाउन सकेका छैनन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको उछित्तो काढेका कारण उनी आलोचित छन् । बरु उनको तुलनामा शालीन व्यक्तित्व, संगठनमा पकड भएका र राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका पौडेललाई बलियो दावेदारका रुपमा हेरिएको एमालेजनको बुझाइ छ ।

टिप्पणीहरू