नेपाल बन्द सफल भएको आयोजकको दाबी

नेपाल बन्द सफल भएको आयोजकको दाबी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाल्पाले आजको नेपाल बन्द सफल भएको निश्कर्ष निकालेको छ । बन्द सफल बनाउन सहयोग गरेको भन्दै सो पार्टीले पाल्पा जिल्लाका उद्योगी, व्यापारी, यातायात व्यवसायी, शिक्षक, वुद्धिजीवी, विद्यार्थी, पत्रकार, सुरक्षकर्मीलगायतलाई धन्यवादसमेत दिएको छ ।

सेक्रेटरी भुवन जिसीले आफ्नो बन्द सफल हुनुले आफ्नो पार्टी जनपक्षीय रहेको पुष्टि भएको बताएका छन् । उनले भने, ‘जनताको एजेन्डा बोल्दा सबैले सहयोग गर्छन् भन्ने कुरा आजको बन्दबाट फेरि पनि पुष्टि भएको छ ।’नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध कात्तिक २५ गतेबाट चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत आज नेपाल बन्दको आयोजना गरिएको हो । नेपाल बन्द शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको जिसीले दाबी गरे ।

पाल्पामा एकाध ठाउँमा सडकमा टायर बालेर बन्दको प्रचारप्रसार गरिए पनि बन्दकर्ताहरुले कुनै सार्वजनिक एवम् मानवीय क्षति हुने खालका घटना गराएका छैनन् । उनीहरुले दाङका सडकमा सरसफाइ तथा जेब्राक्रसिङ्ग पेन्टिङ गरि रचनात्मक कार्यसमेत गरेको बताएका छन् ।

टिप्पणीहरू