भारतमा नयाँ पुस्तकको चर्को बिरोध

भारतमा नयाँ पुस्तकको चर्को बिरोध

भारतमा हालै सार्वजनिक एउटा पुस्तकलाई लिएर एकाएक हंगामा मच्चिएको छ । भारतीय काँग्रेसका नेता तथा लेखक सलमान खुर्शिदले आफ्नो पुस्तक ‘सनराइज ओभर अयोध्याः नेशनहुड इन आवर टाइम्स’ मा हिन्दू धर्मलाई आतंकवादसँग तुलना गरेपछि हंगामा मच्चिएको हो ।

उक्त पुस्तकमा लेखक खुर्शिदले हिन्दू धर्म र आतंकवादी संगठन इस्लामिक स्टेट उस्तै रहेको उल्लेख गरेका छन् । पुस्तक सार्वजनिक लगत्तै भारतमा खुर्शिदविरुद्ध नाराबाजी र जुलुस प्रदर्शन भएका छन् ।

विवादमा तानिएपछि खुर्शिदले भनेका छन् ‘उनीहरूले नै हिन्दू धर्मको हनन गरेका छन्, उनीहरू नै विकृत हुन् र मैले विकृतिलाई प्रश्न मात्र गरेको छु । यदि उनीहरू विकृत होइनन् भने मेराविरुद्ध चिच्याउनुको सट्टा आफूहरुले नै संसारलाई हामी विकृत होइनौं भनेर प्रमाणसहित भन्न सक्नुपर्छ ।’

उनले आफूले पुस्तकमा हिन्दू धर्मको समर्थन र रक्षाको लागि ती कुरा उल्लेख गरेका बताएका छन् । आफ्नो बिरोध गर्नेहरुले उक्त पुस्तक अध्ययन नगरेको खुर्शिदको आरोप छ । पुस्तक अध्ययन गर्ने सबैले पुस्तकमा हिन्दू धर्मको निम्ति सहानुभूति, समानुभूति र व्यापक प्रशंसा गरिएको पाएको उनको दाबी छ ।

खुर्शिदको पुस्तक अघिल्लो सातादेखि बजारमा आएको हो । पुस्तक जारीलगत्तै उनले हिन्दुत्वको ‘मजबुत संस्करण’ लाई मुस्लिम अतिवाद आईएसआईएस र बोको हरामजस्ता आतंकवादी समूहहरूको जिहादी इस्लामसँग तुलना गरेको आरोपमा विवादमा फसेका छन् ।

अहिले उनीविरुद्ध अदालतमा मुद्दा समेत दायर भएको छ ।

टिप्पणीहरू