एमालेको बखेडाले मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

एमालेको बखेडाले मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

-पूजा लम्साल

३० दिनभित्र लिइसक्नुपर्ने भए पनि नियुक्त भएको १३ औं दिनमै विश्वासको मत लिन लागेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत प्रस्ताव संसदमा टेबल नै गराउन पाएनन् ।

दुई दिन अगाडि नै दर्ता गरेर मंगलबार प्रदेश १ को संसदबाट विश्वासको मत लिने कार्यसूची तय भए पनि विपक्षी एमालेले बखेडा झिक्दा संसद बैठक स्थगित भएको हो । त्यहि कारण मुख्यमन्त्री राईले विश्वासको मत लिन पाएनन् ।

आजको नेपाल बन्दको कारण देखाउँदै एमालेले बखेडा झिकेपछि सभामुख प्रदिपकुमार भण्डारीले अविश्वासको प्रस्ताव संसदमा टेबल नै नगरी बुधबारसम्मका लागि संसद स्थगित गराइदिनुभएको छ । उहाँले विपक्षी दल एमालेलाई साथ दिँदै पाँच दलीय गठबन्धनको बहुमतलाई बेवास्ता गर्दै आज एक मिनेट बैठक राखेर स्थगित गराउनुभएको हो ।

पाँच दलीय गठबन्धनले बहुमत सदस्य आफूहरुसँग भएकाले संसदमा विश्वासको मतको प्रस्ताव टेबल गरेर मतदान गराउन सभामुखलाई दबाब दिएका थिए । एमालेले अर्को कुनै बहाना ननिकाले भोलि मात्र मुख्यमन्त्री राईले विश्वासको मत लिन पाउनेछन् ।

पाँच दलिय गठबन्धनबाट कात्ति १७ गते नियुक्त मुख्यमन्त्री राईले कात्तिक २८ गते विश्वासको मत प्रस्ताव प्रदेश सभामा दर्ता गराएका हुन् । संविधानमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ को प्रदेससभामा काँग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादीको १०, जसपाको ३ र संघीय लोकतान्त्रिक मञ्चको १ गरि पाँच दलीय गठबन्धनमा कुल ५० सांसद छन् । विपक्षी एमालेसँग ४१ जना सांसद छन् । एक सिट रहेको राप्रपा तटस्थ बसेको छ । मुख्यमन्त्री राई एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता हुन् ।

टिप्पणीहरू