बहिनीको किन पहिले बिदाइ ?

  • यमुना अर्याल (काफ्ले)

 
मंसिरमा २२ वर्षकी बहिनीको बिहे गराइदिएका २७ र २९ वर्षका दुई दाजु अहिलेसम्म अविवाहित छन् । दुई दाजुभाइकी एक्ली बहिनीको किन यति हतारमा बिहे गराइदिएको नि ? स्नातक तेस्रो वर्ष अध्ययन गर्दै लोकसेवाको तयारी गरिरहेकी बहिनीले नाम निकालेपछि बिहे गराइदिएको भए के बिग्रन्थ्यो त ? पंक्तिकारको प्रश्नमा दुई दाजुभाइ नै अवाक भए । ‘के गर्नु हाम्रो समाज नै यस्तै छ, बहिनीको चाँडै उमेर छिप्पेको जस्तो देखिँदो रहेछ, हामीलाई माया नभएर, उसले नपढोस् भनेर होइन, बुवाआमाको चाहना र समाजको दबाबअनुसार नै एक्ली कान्छी बहिनीको पहिले बिहे गर्नुपरेको हो ।’ कान्छी छोरीको बिहेपछि बुवाभन्दा पनि आमा निकै खुसी देखिन्छिन् । ‘अर्काको घर जाने जात हो कहीँ कतै छ्यास्स दाग लाग्यो भने पछि बिकाउन मुस्किल पर्छ, एकचोटि बिहे नगरी हुँदैन, पढ्ने मान्छेले बिहे गरेपछि पनि पढ्छन्, हाम्रा पालामा जस्तो कडिकडाउ अहिलेका बुहारीलाई हुँदैन’ बोझ हल्का भएको आभाष आमाका हरेक शब्दले दर्शाइरहेका हुन्थे । ‘छोरी भनेको छोरी नै उमेर बढी भएपछि कहीँ–कतै नराम्रो खबर सुनिसकेपछि बिकाउन निकै गाह्रो हुन्छ, दुइवटा छोराको बारेमा केही चिन्ता छैन जहिले बिहे गर्छन् गरुन् । यही छोरीको चिन्ता थियो राम्रोसँग विवाह गराउन पाइयो त्यसमै सन्तुष्ट छु’, आमाले सुनाइन् ।
 

नन्दपछि भाउजू भिœयाउने 

हाम्रो समाज शहरी भेग होस् या ग्रामीण हरेक सम्प्रदायको सोचको ग्राह्यतामा लगभग समानता देखिन्छ । शिक्षित, अशिक्षित परिवारका दाजुभाइ पहिले घरकी चेली अन्माएपछि मात्र आफूले बिहे गर्ने इच्छा राख्छन् । कोही पुरुष खुलेरै भन्छन्, ‘आफूले पहिले बिहे गरेर भिœयायो भने नन्द–भाउजूको जुहारी चल्छ, हाम्रो समाज यही हो, पात्र उही हुन्, नन्द–भाउजू, आमाजू बुहारीको मेल राम्रोसँग कहाँ हुन्छ र ? त्योभन्दा पहिले दिदी बहिनीको बिहे ग¥यो, पछि आफूले बिहे गरेपछि माइत आएका बेला जुहारी खेल्न मिलेन, सम्बन्ध पनि राम्रो हुन्छ, आफूलाई झगडा मिलाउन पनि फसाद पर्दैन । विवाहित पुरुषलाई जतिको गाह्रो कसैलाई हुँदैन, दिदी बहिनीको पक्ष लियो श्रीमती रिसाउने, श्रीमतीको पक्ष लिँदा बालसखा दिदी बहिनी रिसाउने । मध्यमार्गी बाटो भनेको पहिले आफ्ना दिदीबहिनीको बिहे गराइदिने अन्त्यमा आफूले भिœयाउने नै हो । यही मार्ग शिरोपण गर्दै अधिकांश दाइ बहिनी अन्माएपछि मात्र आफूले बिहे गर्छन् । कान्छो दाइले वास्तविकता सुनाए, ‘हामी जतिसुकै ठूलो देखिए पनि, बहिनीको भन्दा उमेर धेरै भए पनि हामीलाई तिमीहरूको उमेर पुग्यो बिहे गर, फलानो ठाउँमा यस्ती केटी छ भनेर कसैले भन्दैनन्, तिम्री बहिनी कति वर्षकी भइन् ? कस्तो केटो पाए बिहे गरिदिने मन छ ? सबैले सोध्छन्’ । ‘समाजको संरचना नै पहिले छोरीचेली पठाऊ अनि रित्तो भएको घरको शून्यता आफूले भिœयाएर पूरा गराऊ भन्ने खालको छ, हामी एक÷दुईजनाले प्रयास गर्दैमा केही हुँदैन ।’ हुन पनि समाजमा देखिएको, हरेक छोरीचेलीले भोगेको सत्यता यही हो ।
 

बहिनीलाई एक्ल्याए

काठमाडौंको जडीबुटीकी स्थायी बासिन्दा एक मित्र चार दाजुभाइकी बहिनी हुन् । ठूलो दाइभन्दा ९ वर्ष, कान्छो दाइभन्दा २ वर्ष कान्छी सबैभन्दा पहिले ६ वर्षपहिले उनकै बिहे भयो । ‘भर्खर ब्याचलर दोस्रो वर्ष पढ्दै थिएँ अस्ट्रेलिया जाने केटा हो भनेर सबैले करकापमा पारेर बिहे गराइदिए । दाइलाई भाउजू भिœयाउन हतार भएको थियो तर पहिले मलाई अन्माउन हतारिएको रहेछ, मेरो बिहे भएको ६ महिनामै उसले भाउजू भिœयायो । दाइहरूले मेरो भविष्य होइन, भाउजूको भविष्य हेरेजस्तो लाग्छ’, उनले गुनासो पोखिन् ‘आमाले मेरो बिहे १० वर्षमा भएको हो तँ २१ वर्ष पुगिस् भन्न थालिन्, चार दाजुभाइ एकमुख भए, बुवा पनि उतै लागे । सबै एकातिर म एकतिर कसले सुन्ने मेरो कुरा ? जति शिक्षित, सभ्य मानिए पनि पहिले छोरीचेली अन्माएपछि मात्रै दाजुभाइको पालो आउने कुरा शतप्रतिशत सत्य हो’ आक्रोशमिश्रित भाव थियो उनको । पछिल्लो समय शहरी भेगमा केही सुधार भए पनि गाउँघरमा छोरीलाई सानै उमेरमा उन्माउने प्रचलन कायमै छ । सरकारले २० वर्ष नपुगी परिवारको राजीखुसीमा बिहे गराउन पाइँदैन भने पनि कुनै छोरीहरू आफ्ना बाबुआमा, दाजुभाइविरुद्ध उजुरी गर्न गएका छैनन् । पारिवारिक सहमतिमा १८÷१९ वर्ष पुगेपछि छोरीको बिहेको चर्चा सुरु हुन्छ, त्यही घरको दाइ २८÷३० वर्षको पुग्दा पनि बिहेको चर्चा गरिँदैन तर छोरी किन यति चाँडै बोझ ठानिन्छ र अन्माउन हतार गरिन्छ कुरा बुझिसाध्य छैन ।
 

अभिभावकलाई हल्का 

‘छोराका हजार गल्ती छोप्न सकिन्छ तर छोरीको सानो गल्तीका कारण बाबुआमाको मरेको जुनी हुन्छ’ एक आमाले वास्तविकता सुनाइन् । दुई दाजुकी एक्ली बहिनीको यही वैशाख दोस्रो साता बिहे समारोहमा यी कुरा कहिन् । ‘छोरा मान्छे बिकाउन केही गाह्रो छैन तर छोरी बिकाउन धेरै सोच्नुपर्छ, छोराले जसरी पनि आफ्नो जीविकोपार्जन गर्न सक्छन् छोरीको बिहे नगरी मरियो भने स्वर्गमा ठाउँ पनि हुँदैनजस्तो लाग्छ, ठूलो पिर थियो आजबाट हल्का भयो । गरिखाने ज्वाइँ छन्, छोरी पनि पढेलेखेकी छ आफ्नो काम गर्छन् खान्छन् अब ढुक्क भयो ।’ छोरी अन्माउने पिर भन्दा पनि बिनाकुनै दाग छोरीको बिदाइ गर्न पाएकोमा उनी हर्षित देखिन्थिन् । ‘आफ्नो कोखको छोरी पराइको काखमा सुम्पिँदा कुन आमा खुसी हुन्छे होला र ? तैपनि, राम्रोसँग आफूले भनेका केटालाई दिन पाउँदा त्यस्ता पीडा हर्षमा बदलिँदा रहेछन् । दुई भाइ छोरा छन्, जहिले बिहे गर्ने भन्छन् त्यही बेला भिœयाइदिने हो’ ठूलो भारी बिसाउँदा भरियाले लामो स्वास लिएजस्तै आनन्दमा देखिन्थिन् आमा । यी प्रतिनिधि पात्र मात्र हुन् यस्ता लाखौं पात्र छन् जो आफ्ना छोरीको कतै कुरा नकाटी, कसैले फलानाकी छोरी यस्ती नभनीकन अन्माउन पाउँदा आफूलाई संसारकै भाग्यमानी आमाबाबु ठान्छन् । यही भयका कारण पनि उमेर नपुग्दै छोरीको बिहे गर्न हतार गर्छन् । मान्छे जतिसुकै विद्वान्, शहरिया, आधुनिक जे–जस्तो भए पनि छोराको तुलनामा छोरीलाई किन पहिल्यै बिहे गराउन हतार गर्छन् ? जहाँ पनि यो चलन देखिन्छ, देखिएको भोगिएको छ, खास कारण के रहेछ ? उमेरले बहिनीहरू कनिष्ट भए पनि बिहेको मामलामा भने दाइहरूले जहाँ पनि वरिष्ठ नै बनाउनुको कारण के रहेछ ? भाउजू भिœयाएपछि नन्दको बिहे गर्ने चलन किन नभएको होला ? जहाँ पनि पहिले बहिनी÷छोरीको बिहे गरिसकेपछि मात्र दाजु÷छोराको बिहेको चासो गरिन्छ । 

टिप्पणीहरू