अधिनायकवादी

सत्तामा वामपन्थीको दुईतिहाइसहितको सरकार आएपछि देशमा एउटा नयाँ शब्द पनि आएको छ, अधिनायकवाद । यस्तो कुनै पनि वाद पहिले कतै सुनिएको थिएन । अहिले जता हेरे पनि छ्याप्छ्याप्ती छ । वास्तवमा सरकारको आलोचना गर्नेहरू अहिले अधिनायकवादको कुरा ल्याउने गरिरहेका छन् । उनीहरू प्रधानमन्त्री केपी ओलीलाई सीधै आरोप लगाउँछन् ( अधिनायकवादी ! यति भनेपछि अरू भन्नै परेन । 
तर, अहिले केही समय भयो, यो अधिनायकवादी भन्ने शब्द बाहिर प्रयोग गरे पनि कांग्रेसभित्र भने प्रयोग गर्न मिल्दैन रे ! खै किन हो, अचेल अधिनायकवादी भन्ने शब्द उच्चारण ग¥यो कि कांग्रेस सभापति शेरबहादुर देउवा रिसाउनुहुन्छ रे !

अस्ति भर्खरकै कुरा हो । कांग्रेसमा रामचन्द्र पौडेल पक्षधर एक नेताले पार्टी कार्यालयमा जोडदार रूपले भनेछन् रे ! अब हामी यो अधिनायकवादलाई अरू धेरै सहन सक्दैनौं, यस्तो अधिनायकवादी सत्ताको हामी विरोध गर्छौं । 

उनले यसो भनेको त केपी ओलीको सरकारलाई हो । तर, उनको यो भाषण सुनेर एकाएक शेरबहादुर देउवा रिसाउनुभयो रे ! बाहिर आएर सभापति देउवाले भन्नुभयो रे ! कसलाई अधिनायकवादी भनेको तपाईंले ? बढी अधिनायकवादी नभन्नुस् है । राम्रो नहोला !

अधिनायकवादी भनेर आलोचना गरेको त प्रधानमन्त्री केपी ओलीलाई हो । तर, रिसाउनुभएछ शेरबहादुर देउवा । आखिर कनेक्सन के हो ?   
      

समृद्धिविरोधी अनशन

अनशनरत डा. गोविन्द केसीप्रति प्रधानमन्त्री केपी ओली आक्रोशित हुनुभएको छ । प्रधानमन्त्री ओली मात्र होइन, उहाँविरुद्ध पूरा सरकारै आक्रोशित छ । मन्त्रीहरू आक्रोशित छन् । अतः कार्यकर्ता पनि आक्रोशित छन् । 

मानिसले ठान्लान्, मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिन पाइँदैन भनेकाले आक्रोशित भएको होला । तर, यथार्थमा कुरा त्यो होइन । कुरो त के हो भने डा. केसी यतिबेला अनशन किन बसिरहनुभएको छ ? केही पनि नखाइकन । काठमाडौंमा गंगामाया अधिकारी अनशनमा छन् । जुम्लामा डा. गोविन्द केसी अनशनमा छन् । आक्रोश वास्तवमा यसको विरुद्ध हो । 

उहाँहरूको यो अनशन जो छ, त्यो पूरै समृद्धिविरुद्ध छ । किनभने प्रधानमन्त्री ओली यतिबेला देशमा कोही पनि भोकानांगा नरहुन् भनेर समृद्धि ल्याउने तयारीमा हुनुहुन्छ । समृद्धि भनेकै कोही पनि भोका नहुनु, नांगा नहुनु हो । तर, डा. गोविन्द केसीलाई हेर्नोस्, कसैलाई भोको नराख्ने राष्ट्रिय अभियानलाई विफल बनाउन उहाँ भोकै बस्नुभएको छ । प्रधानमन्त्री कोही पनि भोको नहुन् भनेर दिनरात खट्ने । अनि उहाँचाहिँ केही नखाई भोकै बसिदिने ? यसले गर्दा देशका जम्मै जनताको पेट भरे पनि उहाँ एकजना त भोको हुने भयो नि ! उहाँ एक जना भोको हुन्जेल भोक हटाउने राष्ट्रिय अभियान कसरी सफल होला ? वास्तवमा आक्रोश यसमा हो । अरूमा होइन । मेडिकल कलेज खोल्ने कुरा त उहाँ अनशन बस्दैमा रोकिने होइन । त्यो त खोलिन्छ, खोलिन्छ । मुख्य कुरा उहाँ भोको बसिदिनुभयो । यहाँ हो आक्रोश । 
 

एक ‘स’ भर्सेज पाँच ‘स’ 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिले भर्खरै पाँच ‘स’ को कार्यक्रम ल्याएको छ । सरकारविरुद्ध पाँचवटा ‘स’ मा आन्दोलन चर्काउने रे ! सदन, सडक, सञ्चार, (सामाजिक) सञ्जाल । एउटा के हो भुलेँ । सरकारले एक ‘स’ कार्यक्रम ल्याएको थियो । त्यसविरुद्ध प्रतिपक्षीले पाँच ‘स’ प्रहार गरेछन् ।

सरकारले ल्याएको एक ‘स’ हो समृद्धि । सरकार अहिले त्यही एक ‘स’ लिएर हिँडिरहेको छ । तर, सरकारको त्यो एक ‘स’ विरुद्ध प्रतिपक्षीले पाँच वटै ‘स’ बाट आक्रमण गर्ने भएछन् । अतः यसलाई अब एक ‘स’ भर्सेज पाँच ‘स’ भन्दा पनि हुन्छ होला । सरकारको एक ‘स’, विपक्षीको पाँच ‘स’ । सरकारको एउटा ‘स’ लाई ढाल्न विपक्षीको पाँच वटा ‘स’ आएको छ । हेरौं, अब कसले कसलाई ढाल्ने हो । 

टिप्पणीहरू