​कुरा दशको, काम भने पाँचको

गोरखा, फुजेल हत्याकाण्डको विषयलाई लिएर गंगामाया अधिकारी अनशनमा छिन् । माग हो, छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई पक्राउ पर्नुपर्ने । यही मागसाथ अनशन बसिरहँदा ०७१ सालमा पति नन्दप्रसाद अधिकारीले ज्यान गुमाए । उनको पार्थिव शरीर अहिले पनि शिक्षण अस्पतालमा छ । उतिबेला सरकारले शव सद्गत गर्न अनुरोध गर्दा जेठा छोरा नूरप्रसादले सरकारसँग क्षतिपूर्तिबापत एक करोड रुपैयाँ मागेका थिए ।

सुशील कोइराला प्रधानमन्त्री भएका बेला अनशनकै क्रममा उनको निधन भएको हो । सरकारले एक–एक करोड दिनु नाजायज हुन्छ भनेर मानेन । सशस्त्र द्वन्द्वताका प्रवेशिका परीक्षा दिई हजुरबुबा भेट्न पूर्वीचितवनको जयमंगला गएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा ०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि बुबा नन्दप्रसादले छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिए । एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नूरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । जिल्ला अदालत चितवनले ०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठ जनालाई धरौटी र तीन जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थएनन्, जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ, अर्का विष्णु तिवारी भने फरार छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका छविलाल पौडेल अस्ति सोमबार आफैँ सर्वोच्चमा आत्मसमर्पण गर्न पुगे । उनी त्यहाँबाट पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान भए पनि गंगामायाको अनशन जारी छ । 

अर्का अनशनकारी गोविन्द केसीको कुरा सुन्दा राम्रो छ । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने र काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने ! तर, पाँच वटालाई मात्र अनुमति दिने भन्ने कुराको के अर्थ भयो र रु मापदण्ड पूरा भएकोलाई देऊ भन्नुको पो तुक हुन्छ । १० वर्षको सर्त थापिएको छ । जबकि पाँच वर्ष त संसद्को अवधि हुन्छ । अनि, त्यो संसद्ले १० वर्षपछिको ऐन कसरी बनाउँछ रु सिद्धान्ततः त्यसो गर्न मिल्दैन । 

उता, विदेशी नागरिकता वा सोसरहको सुविधा लिएका नेपालीको नागरिकता स्वतः खारेजी हुने भएपछि अहिले सरकारले नयाँ नागरिकता ऐनको तयारी गरिरहेको छ । विदेशी नागरिकता लिएको नेपालीले उताको छाडेपछिको दुई वर्षसम्म नेपालमा नागरिकता नपाउने व्यवस्था छ । दुई वर्षपछि नयाँ प्रक्रियाबाट आवेदन गर्नुपर्छ ।

संविधानको भाग २ को धारा १४ मा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।’

टिप्पणीहरू