उपचारको बहानामा बलात्कार

उपचारको बहानामा बलात्कार

अभिभावकको अन्धविश्वासका कारण बर्दियामा एउटी नाबालिकामाथि उपचारको बहानामा बलात्कार भएको छ । झण्डै एक वर्षदेखि मृगी रोगको उपचार गराइरहेकी नाबालिकालाई गत मंगलबार बिहान उपचारक वृद्धले आफ्नै घरमा बलात्कार गरेका हुन् ।

उपचार गर्न आएका अर्का बिरामीले नाबालिकामाथि बलात्कार भएको देखेपछि वृद्ध त्यहाँबाट भारततर्फ फरार भएका थिए । भोलिपल्ट बुधबार राजापुर नगरपालिका ९, भिम्मापुरबाट उनलाई पक्राउ गरेर अहिले जबरजस्ती करण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उपचारक वृद्धले १५ वर्षभन्दा अघिदेखि गाउँघरमा ज्याला मजदुरी तथा मिस्त्री काम गर्दै आएको खुलेको छ । त्यसपछि उनले आफ्नै घरमा मृर्गी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेका बिरामीलाई जडिबुटीबाट उपचार गर्ने नाममा स्थानीयलाई प्रभावमा पारेको देखिन्छ ।

उनले सर्पदंशको उपचार ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार लिने गरेको बताइन्छ । वृद्धले हप्तामा मंगलबार मात्र उपचार गर्ने गरेको देखिएको छ । उनले स्थानीय जडिबुटीको धुलो बनाई औषधिको रुपमा दिने गरेको समेत खुलेको छ ।

निज वृद्धबाट अरु कोही पिडीत भएमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय, बर्दियाले अनुरोध गरेको छ ।

टिप्पणीहरू