जब प्रधानमन्त्री चुकचुकाए !

प्रधानमन्त्री केपी ओलीलाई लागेको थिएन कि, यति मार्मिक र वियोगान्त कथा छ, छविलाल पौडेलको । तर, जब सुन्दै गए, प्रम भावविह्वल नै भए ।

०६१ जेठ २४ गते गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोग छ, यी बृद्धमाथि । आइतबार सर्वोच्च अदालतमा आफैँ उपस्थित हुनुअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए, छोराछोरीसहित । ‘नखाएको विष लाग्यो’ भन्दै बिलौना पोखिरहेका थिए । प्रधानमन्त्रीले शुरुमा कुरा बुझेका थिएनन् । नेकपाका महासचिव विष्णु पौडेलहरू बालुवाटारमै पुगेको बेला छविलालकी छोरीले सुनाइन्, बाबुका व्यथा ।
केही दिनअघि बाती काटिरहेकी पत्नीलाई आगोले भेट्यो । दन्किएको आगोले उनलाई खायो, अर्थात् प्राण गयो । त्यसदिनदेखि ७८ का छविलाल एक्ला भए । उनै पत्नीको प्रेममा बाँचेका थिए । तर, पत्नीलाई घाटमा सेलाएर अदालतले दोषी ठहर गरेबापतको सजाय भोग्न दौडिए । जीवनसाथीले छाडेर गएको केही दिनमै अभियुक्त भई अहिले थुनाको बास छ । 

खासमा छविलाल गोरखा, फुजेलस्थित सामुदायिक विद्यालयका शिक्षक थिए । ३६ वर्ष शिक्षण पेशामा बिताएका उनी सामाजिक काममा पनि लाग्थे । मारिएका कृष्णप्रसाद उनकै विद्यार्थी थिए । मारिएपछि हत्याका चर्का विरोधी नै भए, छविलाल । प्रधानमन्त्रीसँको भेटमा उनकी छोरी पम्फाले सुनाइन्, ‘बुबा गाउँको शिक्षक मात्रै नभएर गाउँको विकास कसरी गर्न सकिन्छ, गाउँमा बाटो कसरी लग्ने, बिजुली कसरी लग्ने भन्ने काममा सक्रिय हुनुहुन्थ्यो ।’  प्रधानमन्त्रीले सोधे, ‘कसरी यस्तो भयो त ?’ पम्फाले भनिन्, ‘त्यही भएर गाउँका विरोधीले छोराको निधनबाट विक्षिप्त अधिकारी परिवारलाई उचाले । बुबाका विरुद्ध जाहेरी दिन लगाए ।’

‘किन त्यस्तो  गरेका होलान् ?’ अचम्म मान्दै प्रधानमन्त्रीले सोधे । पम्फा भन्दै गइन्, ‘गाउँमा पढेलेखेको मान्छे भएकाले उहाँ सबैको अभिभावकजस्तो हुनुहुन्थ्यो । सानातिना मुद्दा–मामिला मिलाउने पनि उहाँ नै ! नूरप्रसादका माइली आमाको परिवारलाई गंगामायाको परिवारले अंश दिनुपर्दैन भने ।’ 

यस्तो कुरा सुनेपछि प्रम झन् चनाखो हुँदै सुन्न थाले । ‘बुबालगायत गाउँलेले तीन–तीनवटी छोरी भएकाले माइली आमालाई पनि अंश दिनुपर्छ भनेर निर्णय गरिदिएका थिए । यत्ति हो प्रधानमन्त्रीज्यू ! अब यसलाई रिसईबी भन्ने कि के भन्ने ? गाउँ भद्रभलाद्मीले यसरी झगडा मिलाउने त आज पनि चलेकै कुरा हो ।’ 

पम्फाको कुरा सुनेपछि प्रधानमन्त्रीले चुकचुकाउँदै भने, ‘कुरै अर्को रहेछ ।’  पम्फाले प्रष्ट पारिन्, ‘कृष्णप्रसाद मारिएको तीन वर्षपछि गाउँमा बिजुलीका पोल गाड्न थालियो । तर, मृतकका परिवारले उनीहरूको जग्गामा पोल गाढ्न दिएनन् । उनीहरूको जग्गाको बाटो भएर गाउँमा बिजुली आउन नपाउने भएपछि गाउँले एकजुट भए । त्यसपछि उनीहरू आफ्नो बारीमा गाडिएको पोल काटेर, घरमा ढोका लगाएर आफैं गाउँ छाडेर हिँडे । अरूले गाउँबाट विस्थापित गरेको हुँदै होइन ।’

यसरी गाउँबाट हिँडेर शहर छिरेपछि डलरको धन्दामा लाग्नेहरू थप उचाले । यत्ति कारण अहिले एक जना ७५ वर्षीय वृद्धले अभियुक्त बन्नुपरेको छ । कुरा सुनेपछि प्रधानमन्त्रीले भने, ‘लौ, अन्यायचाहिँ भएकै रहेछ । म पनि कुरा सुनेर अचम्म भएँ । अब जेजस्तो भए पनि राज्यका लागि त्याग गरिदिनुस् । अलिकति दुःख हुन्छ, सही दिनुस् !’

यसपछि उनीहरू निवेदनसहित सर्वोच्च पुग्दा सर्वोच्चले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरेको हो । 

टिप्पणीहरू