विप्लवको आन्दोलनमा पनि सर्वोच्च अघिल्तिर घम्साघम्सीको संकेत

विप्लवको आन्दोलनमा पनि सर्वोच्च अघिल्तिर घम्साघम्सीको संकेत

आज नेकपा विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा बन्दको आयोजना गरिएको बताइएको छ ।

राजधानीमा बिहान सबेरै बन्दको आंशिक प्रभाव परेको छ । ९ बजेपछि दुई पाङ्ग्रे र सरकारी नम्बर प्लेटका सवारी साधन चलेका छन् । शहरका भित्री गल्लीमा पसलहरु खुलेका छन् । मुख्य सडक र चोकमा प्रायः पसलहरु बन्द छन् ।

यता, सर्वोच्च अदालतको मुख्य गेटमा आज पनि दुईथरी आन्दोलनकारीबीच घम्साघम्सी हुने सम्भावना बढेको छ । नेपाल बारको आह्वानमा भएको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरोधी आन्दोलनको प्रतिकारमा अभियन्ता तारा बरालहरुले आज पनि अदालत सामुन्ने गएर बिरोध गर्ने भएका छन् ।

देशका युवा अभियान र सामाजिक अभियन्ता मानिस मानव तथा अभियन्ता तारा बराललगायतको सहभागितामा बिहान ९ बजे सर्वोच्चको गेटमा उपस्थित हुने कार्यक्रम छ ।

उता, बारको आह्वानमा कानुन व्यवसायीहरुले आज पनि प्रधानन्याधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने भन्दै साढे ९ बजेदेखि त्यही ठाउँमा धर्नाको कार्यक्रम राखेका छन् । यसअघि पनि दुई पक्षबीच भएको घम्साघम्सीमा प्रहरीले बराललगायतलाई नियन्त्रणमा लिएर छाड्दै आएको छ । आज नेपाल बन्दको दिन उनीहरुबीच चर्को घम्साघम्सीको संकेत देखिएको सुरक्षा स्रोतले बताएको छ ।

यसैबीच स्वतन्त्र नागरिकहरूले नेपाल बार एसोसिएसनले गरेको आन्दोलन र सर्वोच्च अदालतमा भएको बेञ्च बहिष्कार तथा बेथितिविरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले बिहान ११ बजे माइतीघर मण्डलामा प्रधानन्यायाधीश राणाको पक्षमा कार्यक्रम गर्ने बुझिएको छ ।

टिप्पणीहरू